ad ad

राजनीति


पाचौँ पटक संसद छिर्ने बलबहादुरको दाउ, पहिलो जितको खोजीमा एमाले

पाचौँ पटक संसद छिर्ने बलबहादुरको दाउ, पहिलो जितको खोजीमा एमाले

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०७९ बिहिबार १६:५६, काठमाडौँ

माओवादीका हेमकुमार राईलाई अन्तिम समयमा पछि पार्दै कांग्रेसका बलबहादुर केसीले सोलुखुम्बुमा सातौं पटक टिकट पाए।

२०४८ सालपछि केसी निरन्तर सोलुखुम्बुमा उम्मेदवार बन्दै आएका छन्। 

कांग्रेस केन्द्रीय सदस्य केसी उठेका ६ मध्ये चारवटा निर्वाचनमा विजयी भएका छन्।

२०६४ र २०७४ सालको निर्वाचनमा भने उनी पराजित भए। उनलाई दुवै पटक माओवादीका उम्मेदवारले पराजित गरेका थिए।

तर अघिल्लो पटक हराउने माओवादीको समेत यसपटक उनलाई साथ छ। 

२०७४ मा माओवादीका हेमकुमार राई निर्वाचित भएका थिए। त्यतिबेला एमाले–माओवादी वामगठबन्धनसँग कांग्रेस नेता केसी ३ हजार मतले पराजित भएका थिए।

हेमकुमारले २० हजार ९१२ मत ल्याएर विजयी हुँदा केसीले १७ हजार ७४५ मत पाएका थिए। 

दुई ठूला दलको गठबन्धन हुँदा पनि झिनो मतले पराजित केसी ३१ वर्षदेखिको आफ्नो प्रभाव जिल्लामा कायम राख्ने पक्षमा छन्। २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा केसी विजयी भएका थिए। 

तर २०६४ सालको निर्वाचनमा उनी तत्कालिन माओवादीका गोपाल किरातीसँग पराजित भए।

किरातीले १९ हजार ९५ मत ल्याउँदा केसीले ९ हजार ४३४ मत पाएका थिए। एमालेका बुद्धिकुमार राजभण्डारीले ६ हजार ७९८ मत पाएका थिए। 

तर, त्यसको ६ वर्षपछि भने केसी पुनः संसद फर्किए। २०७० सालको निर्वाचनमा उनले १२ हजार ४६४ मत पाएर विजयी भए।

त्यतिबेला एमालेले दोश्रो मत पाएको थियो। एमालेका आङ ङिमा लामा शेर्माले १० हजार १०४ मत ल्याएका थिए। माओवादीका गोम्बु शेर्पाले ६ हजार २६९ मत पाए। 

त्यसपछि पुनः ५ वर्ष संसद बाहिर भएका केसीलाई अहिले अघिल्लो निर्वाचनमा विजयी माओवादीकै सहयोगले संसद फर्किने बाटो बलियो देखिएको छ।

त्यसो त सोलुखुम्बुमा एमालेले अहिलेसम्म संघमा निर्वाचित हुन सकेको छैन। एमालेका लागि सधैँ केसी नै तगारो बन्दै आएका छन्।

सुरुका तीन निर्वाचन जित्दै केसीले ह्याट्रिक गर्दा २०६४ मा माओवादी बाधक बन्यो। २०७० मा केसीले नै एमालेलाईं रोके।

२०७४ मा माओवादीसँगै गठबन्धन गरेर प्रदेश संसदमा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी हुँदा अर्को प्रदेशमा एमालेकै उत्तमकुमार बस्नेत र संघमा माओवादीले बाजी मारेको थियो। 

यसपटक एक्लै चुनावमा होमिएको एमाले जिल्लामा पहिलो जितको खोजिमा हुनेछ। एमालेबाट केन्द्रीय सदस्य मानवीर राई संघको उम्मेदवार बनेका छन्।

प्रदेशमा भने यसअघिकै उम्मेदवार दोहोरिएका छन्। प्रदेश 'क' मा उत्तमकुमार बस्नेत र 'ख' मा बुद्धिकुमार राजभण्डारीको उम्मेदवारी परेको छ।

उनीहरु प्रदेशमा जित दोहोर्याउने दाउमा हुँदा संघमा भने पहिलो जितको खोजीमा एमाले हुनेछ। 

गठबन्धनबाट दुवै प्रदेशमा माओवादीका उम्मेदवार छन्। २०७० सालको निर्वाचनमा पराजित गोम्बु शेर्पाले प्रदेश 'क' मा र प्रेमहरि दाहालले प्रदेश 'ख' मा उम्मेदवारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .