राजनीति


एमालेमा गएका दावाले पाएनन् टिकट, माओवादीमै रहेकी कुमारी फेरि उम्मेदवार

एमालेमा गएका दावाले पाएनन् टिकट, माओवादीमै रहेकी कुमारी फेरि उम्मेदवार

नेपालखबर
असोज २३, २०७९ आइतबार १०:५३, काठमाडौँ

नेकपा विभाजन हुँदा पहिले माओवादी केन्द्रमा रहेका दम्पत्ति पनि राजनीतिक रुपमा विभाजित भए । राजनीतिक रुपमा विभाजित हुने चर्चित जोडीमध्ये पहिलो संविधान सभाका सदस्यद्वय दावा तामाङ्ग र कुमारी मोक्तानको जोडी पनि थियो । 

दावा पहिलो संविधान सभामा सिन्धुपाल्चोक–३ बाट विजयी भएका थिए भने कुमारी मकवानपुर–४ बाट विजयी भएकी थिइन् ।

यो जोडीले २०७४ को आम निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सभामा टिकट प्राप्त गर्यो । यसमध्ये कुमारीले मकवानपुर– २ (ख) बाट टिकट प्राप्त गरिन् र विजयी भइन् । सिन्धुपाल्चोक– २ (ख) बाट प्रतिस्पर्धा गरेका दावा भने नेपाली कांग्रेसका निमा लामाबाट पराजित भए ।

माओवादी केन्द्रबाट प्रदेश सभामा उम्मेदवार बनेर पराजित भएपनि नेकपा विभाजित हुँखा प्रधानमन्त्री केपी शर्मा ओलीले दावालाई मन्त्री बन्ने अवसर दिए । तर, छिट्टै ओली सरकार ढलेका कारण दावा लामो समय मन्त्री पदमा रहन पाएनन् ।

मन्त्री पदका लागि श्रीमानले माओवादी त्यागेर एमाले बनेपनि कुमारीले भने माओवादी केन्द्र छाडिनन् ।  

पार्टी छाड्दा उतिबेला दावाले आकर्षक अवसर पाएजस्तो देखिएपनि आगामी निर्वाचनमा भने दावा एमालेको टिकटबाट बञ्चित हुन पुगेका छन् । माओवादी केन्द्रमै रहेकी कुमारीलाई भने माओवादी केन्द्रले मकवानपुर–२ (ख) मा पुनः टिकट दिएको छ ।

यसबाहेक उनले वागमति प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारीपनि प्राप्त गरिसकेकी छन् । 

नेकपा विभाजनका बेला माओवादी केन्द्र छाडेर एमाले रोजेका दावा यसपटक टिकटविहीन हुँदा दुई महिनाअघिमात्र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चौतारा–साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिंह तामाङ्गले सिन्धुपाल्चोक–२ (क) बाट प्रदेश सभाका लागि टिकट प्राप्त गरेका छन् ।

२०६४ को संविधान सभा निर्वाचनमा माओवादी लहरका कारण झिनो मतान्तरले विजयी भएपनि त्यति लोकप्रिय छवी नभएका कारण दावा यसपटक टिकटबाट बञ्चित भएका हुन् ।

सिन्धुपाल्चोक– २ मा एमाले उम्मेदवार शेरबहादुर तामाङ्ग र सो क्षेत्रको ‘क’ मा माओवादी केन्द्रका युवराज दुलाल विजयी हुँदा समेत दावाले पराजय भोग्नु परेको थियो ।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सिट रहेको यो जिल्लामा वामगठबन्धनका सबैजसो उम्मेदवारले विजय हासिल गर्दा दावामात्र पराजित हुनु परेको थियो ।

२०७४ मा माओवादी केन्द्रका उम्मेदवारका रुपमा उनी पराजित भएको सिन्धुपाल्चोक– २ (ख) मा यसपटक एमालेले हस्त पण्डितलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad