ad ad

राजनीति


कांग्रेसभित्र क्रमभंग गर्न खोज्दै शेखर, सिधै सभापति बन्न बनाए यस्तो रणनीति

कांग्रेसभित्र क्रमभंग गर्न खोज्दै शेखर, सिधै सभापति बन्न बनाए यस्तो रणनीति

सागर न्यौपाने
मंसिर २७, २०७६ शुक्रबार १३:४१,

आगामी महाधिवेशनमा पार्टी सभापति जित्ने लक्ष्यका साथ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले देश दौडाहा तीव्र पारेका छन्।

१४ औं महाधिवेशनमा सभापति उठ्ने योजनाअनुसार उनले विभिन्न जिल्ला पुगेर नेता/कार्यकर्ताको धारणा बुझिरहेका छन्। यसका लागि असोजयताको अढाई महिनामा उनले ४४ जिल्लाको भ्रमण गरिसकेका छन्। मंसिर १४ को उपनिर्वाचनअघिको एक महिनामा मात्र उनी ३७ जिल्ला पुगे।

६ असोजमा साताव्यापी चीन भ्रमणबाट फर्केपछिको अधिकांश समय उनले काठमाडौँबाहिर बिताए। ७ असोजमा कांग्रेसको जागरण अभियानलाई सम्बोधन गर्न नुवाकोट गएका शेखर ९ गते सिन्धुपाल्चोक पुगे। त्यसयता जिल्लामा उनले पार्टीका कार्यक्रममा सहभागिता जनाउनुका साथै स्थानीय नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

शेखरको जिल्ला दौडधुप अहिले पनि जारी छ। कतिपय जिल्लामा त उनी दोहोर्‍याएर पुगेका छन्। ७७ जिल्लामध्ये शेखरले कर्णालीका हुम्ला, डोल्पा र मुगु तथा सुदुरपश्चिमका बाजुरा, दार्चुला र बझाङ मात्रै हालसम्म रात बिताएका छैनन्। ती जिल्लामा पनि यही हिउँदमा पुग्ने उनको योजना छ।

उसो त यो जिल्ला दौडाहाको राम्रै प्रतिफल पाइसकेका छन् शेखरले। उपनिर्वाचनमा कम्युनिस्टको गढ मानिने धरान उपमहानगरमा कांग्रेसलाई जिताएको जस उनैले पाएका छन्। धरानमा कांग्रेसको निर्वाचन अभियानको नेतृत्व शेखरले नै गरेका थिए।

शेखरको सभापति बन्ने रोडम्याप
कांग्रेसको १३ औं महाधिवेशन २०७२ मा भएको थियो। ०७३ देखि नै शेखरले सभापतिमा उठ्ने तयारी थालेका थिए। सोही वर्ष उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सुजाता कोइराला र केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह केसीलगायतको भेला राखेर एकअर्काविरुद्ध नबोल्ने र पार्टीमा आगामी राजनीतिलाई असर पार्ने कुनै कदम नचाल्ने निर्णय गराएका थिए।

त्यतिबेलै उनले सबै जिल्लामा लोकप्रिय, राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितिसँग जानकार, तत्काल निर्णय लिन सक्ने, शेरबहादुर देउवासँग नीतिगत रुपमा कुरा गर्न सक्षम व्यक्तिलाई १४ औं महाधिवेशनमा सभापति उम्मेदवार बनाउनुपर्ने विषयमा सहमति गराएका थिए।

शेखर उमेरका कारण पनि आगामी महाधिवेशनमै सभापति बन्न हतारिएका छन्। ‘म १५ औैं महाधिवेशनको क्यान्डिडेट होइन,’ ६८ वर्षीय शेखरले आफू निकटका नेताहरुलाई पटकपटक भन्ने गरेका छन्।

‘१४औँ महाधिवेशन शेखरदाइको अन्तिम हो, सभापति भएपनि वा केन्द्रीय सदस्य मात्रै भएपनि,’ स्वकीय सचिव थपलिया भन्छन्, ‘उहाँ अब महामन्त्री, उपसभापति बन्नुहुन्न। भए सभापति हो, नभए केन्द्रीय सदस्य मात्रै रहनुहुनेछ।’

कांग्रेसमा पदाधिकारी हुँदै सभापति बन्ने प्रचलन रहेपनि शेखर त्यसलाई तोड्ने ध्याउन्नमा छन्। एकपटक सभापति बन्ने र लथालिङ्ग पार्टीलाई व्यवस्थित गराउने उनको सपना छ।

बिपी कोइरालाको विरासत बोकेको नेताका रुपमा आफूलाई कांग्रेस कार्यकर्तामाझ प्रस्तुत गरिरहेका शेखरले पछिल्लो समय चीनसँग विशेष सम्बन्ध बनाएको थपलियाको भनाइ छ। पछिल्ला दिनमा जिल्लाबाट आउने कार्यक्रमको निम्तोले पनि उनी नेता र कार्यकर्ताको रोजाइमा पर्न थालेको दाबी थपलियाले गरे।

कांग्रेसमा पछिल्लो समय हिन्दुवादी मत पनि बलियो बनेको छ। त्यसको नेतृत्व महामन्त्री शशांक कोइरालाले गरेका छन्। यो मत महाधिवेशनमा आफ्नो पक्षमा आउने शेखरको बुझाइ छ।

११ औं महाधिवेशनमा मनोनित केन्द्रीय रहेका शेखर १२ औं र १३ औं महाधिवेशनमा भने निर्वाचित केन्द्रीय सदस्य बने। १३ औं महाधिवेशनमा उनी महामन्त्रीको दौडमा थिए। तर, अन्तिम समयमा उनले भाइ शशांक कोइरालाई यो पद छोडिदिए। पाँच वर्षअघि महामन्त्री बनेको भए १४ औं महाधिवेशनमा उनी सभापतिको स्वभाविक उम्मेदवार हुने थिए। यद्यपि, उनी सबैको साथ लिएर सभापतिमा उठ्न चाहन्छन्।

निर्धारित समयमै महाधिवेशन भएको भए कांग्रेस यतिबेला महाधिवेशनको तयारी सुरु भइसक्ने थियो। तर, ०७६ फागुनमा महाधिवेशन नहुने भएपछि अब ०७७ सालको फागुनमा मात्रै हुनेछ।त्यतिञ्जेलसम्म आफ्नो अभियानलाई अझ तीव्र बनाउने शेखरको योजना छ।

जिल्लामा रात बिताउने रणनीति
उनी प्रायः एकरात बस्नेगरी जिल्ला जान्छन्। एकरात पनि नबसी जिल्लाको यथार्थ जानकारी नपाइने उनको बुझाइ छ। बासस्थानका रुपमा उनी सकेसम्म प्रजातन्त्र सेनानीको परिवारलाई प्राथमिकतामा राख्छन्। नभए कांग्रेसका द्वन्द्वपीडित परिवार, पार्टीका पुराना नेता वा जिल्ला सभापतिको घरमा बस्छन्।

पहिले जिल्लामा रहेका समस्या, पार्टीभित्रको विवादको अवस्थाबारे जानकारी पहिले नै लिएर मात्र कसको घरमा बास बस्ने उनी निर्णय लिन्छन्। एकपटक नवलपरासी जाँदा सांसद देवेन्द्रराज कँडेल र जिल्ला सभापतिको विवादको सुइँको पाएपछि उनी कँडेलको घरमा बसेका थिए। भोलिपल्ट कँडेललाई आफ्नै गाडीमा चढाएर ल्याई कार्यक्रममा अतिथि बनाएका थिए। पछिल्लो समय उनले आफूलाई कांग्रेसभित्रका विवाद समाधान गर्ने मध्यस्थकर्ताको रुपमा उभ्याएका छन्।

०७४ मा भएको स्थानीय तहको निर्वाचनपछि कांग्रेसबाट जनप्रतिनिधि बनेका र जिल्ला सभापतिबीच विवाद बढेपछि त्यसको समाधानका लागि शेखरले नै पहल थालेका थिए। काभ्रे, सिन्धुपाल्चोक, पर्सा, बर्दिया, रौतहट, दाङ र बाँकेमा उनले यस्ता विवाद हल गर्ने प्रयास गरे। यद्यपि कतिपय विवाद अझै मिलिसिकेका छैनन्।

नेतृत्वलाई शेखरको प्रश्न : सी भ्रमणप्रति कांग्रेस किन निरपेक्ष?
असोज २५ र २६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणबारे कांग्रेसले औपचारिक समीक्षा नगरेकोमा शेखरले नेतृत्वको आलोचना गरिरहेका छन्। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले गरेको ऐतिहासिक भ्रमणको महत्व र प्रभाव विशाल रहने भएपनि कांग्रेसले यस विषयमा कुनै छलफल नगरेकोमा उनी असन्तुष्ट छन्। ‘बीपीको लिगेसी बोकेको कांग्रेस सी भ्रमणप्रति निरपेक्ष रहेजस्तो देखियो,’ उनले आफूनिकट नेताहरुलाई भन्ने गरेका छन्, ‘कांग्रेस र चीनको सम्बन्धलाई अहिलेको नेतृत्वले हेक्का राखेको जस्तो देखिएन।’

उनले यसबारेमा केन्द्रीय समितिमा छलफल नचलाएकोमा पनि गुनासो गरेका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरेर पार्टी अघि बढ्नुपर्ने आवाज उनले उठाउँदै आएका छन्। तर, पार्टी त्यसो गर्न चुकेको उनको भनाइ छ।

‘सम्बन्ध बिस्तार, छिमेकी देशसँगको मित्रतामा पार्टीभित्र खासै बहस नै गर्दैनौँ,’ शेखरको भनाइ उधृत गर्दै थपलिया भन्छन्, ‘भारत र अन्य देशसँगको सम्बन्धलाई पनि कांग्रेसले पुनर्मिलन गराउनुपर्ने बेला आएको छ।’

१२ औं महाधिवेशनमा सुशील कोइरालालाई सभापतिमा मत दिएको तर सहयोग भने शेरबहादुर देउवालाई गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

सांसदका गतिविधिप्रति असन्तुष्टि
कांग्रेस सांसदले संसदमा खेलेको भूमिकाप्रति पनि शेखर असन्तुष्ट छन्। ‘प्रमुख प्रतिपक्षी भएपछि कांग्रेस त्यसैअनुरुप प्रस्तुत हुनुपर्‍यो, सरकारी तयारी, उनीहरुको ‘मुभमेन्ट’बारे पार्टीका सांसदले विश्लेषण गरेर अघि बढ्ने र नयाँ रणनीति बनाउने हो तर त्यसो भएन,’ उनको भनाइ छ, ‘हाम्रा सांसदहरु केही एजेन्डा नपाएको जस्तो बोलिरहेका छन्, एक त हाम्रा सांसदले सूचना नै नपाएजस्तो देखिन्छ। अर्को, पाएका सूचनालाई विश्लेषण कसरी गर्ने भन्नेमा पनि उनीहरुमा अन्यौल छ।’

पार्टीमा कांग्रेस भन्ने भावना नभएकै कारण पार्टी कमजोर बनेको उनको ठहर छ। त्यो कमीलाई आफ्नो नेतृत्वले पूरा गर्ने उनको दाबी छ। तर, पार्टी हाँक्ने उनको चाहना पूरा होला कि नहोला, त्यो भने आगामी महाधिवेशनमा मात्र थाहा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .