राजनीति


विपक्षी उम्मदेवारको मुख ताक्दै गठबन्धन र एमाले

विपक्षी उम्मदेवारको मुख ताक्दै गठबन्धन र एमाले

सागर न्यौपाने
भदौ ३०, २०७९ बिहिबार २०:२१, काठमाडौँ

भदौभित्रै सिट बाँडफाँट टुंगो लगाएर चुनावी मैदानमा जाने पाँचदलीय गठबन्धनका नेताले बताएका थिए। तर, विपक्षी नेकपा एमालेको ‘मुभ’ पर्खेर बस्दा सिट बाँडफाँट ढिलो भएको छ। त्यस्तै, एमाले पनि गठबन्धनले कस्ता उम्मेदवार उठाउँछ भन्ने दाउ हेरेर बसेको छ।  

सत्तापक्षीय कार्यदलको बैठक एक हप्ताका लागि स्थगित छ। लामो समय बैठक ग्याप राखिएको हेर्दा गठबन्धनमा कुरा मिलिसकेको देखिँदैन।

अर्कोतिर कुनै गठबन्धन नगरेको नेकपा एमालेले पनि सर्वसम्मत उम्मेदवार चयन गर्न सकेको छैन। भदौ सकिँदा पनि उसले उम्मेदवारबारे निर्णय लिइसकेको छैन।

आखिर दुुवैतर्फ यो ढिलाइ किन भइरहेको छ?

नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद राजेन्द्रकुमार राई धनकुटाको उदाहरण दिँदै भन्छन्, ‘संघमा गठबन्धनबाट सुनीलबहादुर थापा उठ्ने भए भने एमालेले प्रदेशमा निरन राईलाई उठाउँछ। गठबन्धनले संघमा रकम चेम्जोङलाई टिकट दियो भने एमालेले प्रदेशमा टीकाराम चेम्जोङलाई उठाउँछ।’

राईको यो भनाइलाई आधार मान्ने हो भने अहिले एमालेले सबैतिर उम्मेदवार निश्चित नगर्नुको एउटा कारण गठबन्धनको निर्णय पर्खिरहेको हो।

त्यस्तै, राजेन्द्र लिङदेनको राप्रपा, कमल थापाको राप्रपा नेपाल, जनमत पार्टी, कांग्र्रेसको विद्रोही नेपाली कांग्रेस वीपी लगायत दलसँग चुनावी तालमेलको गृहकार्य गरिरहेको एमालेले कुनै पनि निर्णय नगर्नुको मुख्य कारण गठबन्धनले उठाउने उम्मेदवारतिर विशेष ध्यान दिएको नेताहरु बताउँछन्।

आफू कमजोर भइएला र उम्मेदवारले पराजय व्यहोर्लान् भन्ने भय एमालेलाई छ। त्यही भएर गठबन्धनको उम्मेदवार हेरेर मात्रै आफ्नो पार्टीको उम्मेदवार निश्चित गराउने एमालेको रणनीति देखिन्छ।

त्यस्तै, राप्रपाका एक नेताले पनि चुनावी तालमेलको निर्णयमा एमालेले ढिलाइ गर्नुको मुख्य कारण गठबन्धनको भविष्य हेरेको हुनसक्ने बताए।

‘हाम्रो पार्टीले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ। सैद्धान्तिक सहमति उहिल्यै भएको पनि हो, अहिले जम्मा प्रक्रियागत कुरा टुंगो लगाउन बाँकी छ,’ ती नेताले नेपालखबरसँग भने, ‘एमाले अध्यक्ष केपी ओलीजी गठबन्धनको भविश्य के हुन्छ, कुरिरहनुभएको हुनसक्छ, नत्र उहाँले हतार गर्नुपर्ने हो।’

गठबन्धनको प्रमुख घटक नेपाली कांग्र्रेसभित्र प्रष्टसँग दुई गुट छन्। एउटा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्ष र अर्काे उनीसँग पराजीत शेखर कोइराला पक्ष।

सिट संख्याले कांग्रेसभित्र विवाद चुलिए गठबन्धन संकटमा पर्ने र त्यसबाट असन्तुष्ट पक्षलाई लिएर राम्रै सिट जित्न सकिने ओलीको विश्लेषण छ।

शेखरसँग ओलीको पटक पटक वार्ता र संवाद भइरहेको छ। यो कुरालाई गठबन्धनले पनि नोटिसमा राखेको छ। त्यही भएर अहिले कार्यदल वा शीर्षनेताले जुटाएको सहमति सार्वजनिक गर्ने पक्षमा नेताहरु छैनन्। उनीहरु पनि पहिला एमालेले बनाउने गठबन्धनको सबै निर्णय भएर उम्मेदवार चयन भइसकोस् भन्ने चाहन्छन्।

‘गठबन्धनबीच धेरै क्षेत्रमा सहमति जुटिसकेको छ, अहिले त्यसलाई सेक्रेट राख्न खोजिएको छ, किनकि एमालेको मुभ हेर्नु छ,’ कार्यदलका एक सदस्यले भने।

गठबन्धनका शीर्ष नेताहरुले चुनावमा उठ्ने ठाउँबारे निर्णय जुटाइसकेको सत्ता पक्षका नेताहरुको दाबी छ। त्यसबाहेक अघिल्लो चुनावमा जितेको स्थान सोही दलले राख्ने वा सो क्षेत्र छोडेको हकमा अर्काे जित्न सकिने स्थान दिने पनि सहमति जुटेको नेताहरु बताउँछन्।

एमालेले ०७४ मा जितेका ८१ स्थानमध्ये अधिकांश सिटहरु गठबन्धनले बाँडफाँट गरिसकेको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए।

‘२८ भदौसम्म प्रतिनिधि सभाका १ सय २५ क्षेत्रमा सहमति जुटिसकेको छ, मधेस प्रदेश, कर्णाली, प्रदेश १, बागमती र सुदुरपश्चिमका केही क्षेत्रमा थप छलफल आवश्यक पर्ने देखियो’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘यसमा दुई दलबीच मात्र छलफल गरेर सहमति गर्न सकिन्छ।’

पार्टीभित्रको गुट, ती गुटभित्रको प्रकृति फरक रहेकै कारण अहिले सिधैँ सहमति नगरेको कांग्रेसका एक नेताले बताए। उनले भने, ‘हाम्रै पार्टीभित्र विभिन्न नेताको गुट छन्, उनीहरुको प्रकृति पनि फरक छ, भित्र–भित्र अर्काे दलसँग संवाद छलफल गरेको सुनिन्छ,’ देउवा निकट ती नेताले भने, ‘गठबन्धन टुटाउन सके देउवा कमजोर हुन्छन् भन्ने पनि कतिपयलाई लागेको होला, यो रोक्न पनि सहमति अहिले हुँदैन, गर्दैनन्।’

उनले अगाडि भने, ‘तालमेल पनि हुनुपर्छ भन्ने, संख्याका विषयमा लचक छौँ भन्नुभएको छ, पार्टीभित्र जटिलता नआओस् भन्ने हो,’ ती नेताले थपे।

कार्यदलले पाँच दलमध्ये कुन दलको अवस्था कहाँ कस्तो छ भन्ने सबै विश्लेषण गरिसकेका छन्।  निर्वाचन क्षेत्र, स्थानीय तकको चुनावी परिणाम र अघिल्लो चुनाव सबै पक्ष केलाई सकेकाले सहमतिको विधि कार्यदललाई जानकारी छ।

तर, एमालेले बनाउने गठबन्धन हेरेर पाँच दलीय गठबन्धन बाँडफाँट गर्न चाहेको पनि देखिन्छ।

जसपाका नेता तथा कार्यदल सदस्य रकम चेम्जोङ भने एमालेले के गर्छ भन्ने प्रष्टै देखिएकाले कुरिरहन आवश्यक नभएको बताउँछन्। उनले नेपालखबरसँग भने, ‘कांग्रेसले खेलाउँदै, लब्याउँदै लगेर अन्तिममा अप्ठेरोमा पार्न खोजेको भए उसको कुरा हो, तर, हामीले त्यसरी सोचेका छैनौं। चुनाव कसरी जितिन्छ भन्ने हामीलाई थाहा छ।’

शीर्षतहले सहमतिको खाका बनाइसकेको भए आगामी ४ गते बैठकमा पेश गर्ने सम्भावना पनि छ। किनभने, कार्यदलमा एकपटक बाहेक दोस्रो पटक दलहरुले आफ्नो दाबी प्रस्तुत नै गरेका छैनन्।

‘एकपटक बोली लगाएपछि दोस्रो बोली भएन,’ एक नेताले भने, ‘अब बस्ने बैठकमा अन्तिम बोली लाग्ला र टुंगो लगाउँला।’

गठबन्धनबीच एउटा मात्र क्षेत्रमा कुरा मिलेन भने पनि त्यो बाँकी राखेर अरु सहमति गर्ने सम्भावना कम भएकोले प्याकेजमै छलफल भइरहेको छ। स्थानीय तहमा सहमति जुटेको स्थानमा चुनाव गर्दा अन्य क्षेत्रमा चुनाव जित्नकै लागि जुन दलसँग पनि तालमेल भएकोले यसपटक त्यो नगर्ने उनीहरुबीच समझदारी छ।

स्थानीय तहमा ढिलो उम्मेदवार चयन गर्दा प्रचार प्रसारमा समय नपुगेको अनुभव रहेको भन्दै सत्तापक्षले मंसिर ४ मा तय भएको प्रतिनिधि र प्रदेश चुनावमा सिट बाँडफाँटबारे छिट्टै सहमति जुटाउन ११ सदस्यीय कार्यदल बनाएको छ। तर, ४० दिन बितिसक्दा पनि कार्यदलले प्रतिनिधि र प्रदेश दुबै तर्फ सहमतिको मस्यौदा तयार पार्न सकेन।

नेताहरुले भित्रभित्र सहमति भइसके पनि बाहिर सार्वजनिक गर्न नचाहेको केही कार्यदलकै सदस्य बताउँछन्। राजनीतिक निर्णय गठबन्धनका शीर्ष नेता बसेर मिलाएको बताइएको छ। तर, कार्यदलमै रहेका केही सदस्य भने अहिलेसम्म कुन दलले कति पाउने संख्यार्म कुरा नमिलेको बताउँछन्।

नेपालखबरसँग कुरा गर्दै गठबन्धनका एक नेताले सबै कुरा लगभग टुंगो लागिसकेको र ‘फाइनल टच’ दसैँ लगत्तै गर्ने समझदारी बनेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .