राजनीति


एमालेको आन्तरिक हिसाब : प्रत्यक्षमा ४० नजिक, समानुपातिक बढ्ने

एमालेको आन्तरिक हिसाब : प्रत्यक्षमा ४० नजिक, समानुपातिक बढ्ने

सागर न्यौपाने
भदौ २२, २०७९ बुधबार ६:७, काठमाडौँ

मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावमा दलहरुले जित्ने  आ–आफ्नै रणनीति बनाइरहेका छन्। कांग्रेससहितको पाँच दलीय गठबन्धनले एकातिर बहुमत ल्याउने दाबी गरिरहेको छ भने अर्काेतिर नेकपा एमालेले पनि देशको पहिलो दल बन्ने दाबी गरेको छ।

सत्तारुढ गठबन्धनरे एमालेलाई ‘क्लिन स्वीप’ गराउने योजनासहित प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ क्षेत्र बाँडफाँट गर्दैछ। २०७४ को प्रतिनिधि सभा चुनावमा एमालेले जितेकै क्षेत्र (८१) बाडफाँट गर्न खोज्नुको मुख्य कारण यही हो।

प्रदेशतर्फका ३३० सिटमा पनि गठबन्धनले हाबी हुने रणनीति बनाएको छ।

कसिलो र प्रभावकारी गठबन्धन भए चुनाव जित्न गाह्रो पर्ने विश्लेषण एमालेले गरेको छ। तर, गठबन्धनभित्रै समस्या आउने र स्थानीय तहमा झैं बलियो संगठनको फाइदा उठाउन सकिने एमालेको निष्कर्ष छ।

एकातिर गठबन्धनबाट एमाले डराएको छ भने भरखरै माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भएकाले पनि क्षति हुने खतरा एमालेमा उत्तिकै छ।

एमालेको आन्तरिक हिसाब
नेकपा एमालेले आगामी चुनावी परिणामको हिसाब किताब गरेको छ । आन्तरिक रुपमा गरिएको सर्वेक्षणले एमाले दोस्रो पार्टीबाट नघट्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालखबरलाई बताए।​ ०७४को प्रतिनिधि सभा, बैशाख ३० को स्थानीय चुनावमा वडागत आधारमा प्राप्त मतको विश्लेषण गर्दा यस्तो निष्कर्ष निस्केको उनको भनाइ छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलका अनुसार एमालेले प्रत्यक्षतर्फ कम्तीमा ३९ क्षेत्र जित्छ। स्थानीय तहको चुनावी मत परिणामलाई मात्र आधार मान्दा पनि प्रतिनिधि सभामा धेरै क्षति नहुने उनको दाबी छ ।​

पाँच दलीय गठबन्धन भए पनि एमाले नै बलियो हुने वरिष्ठ उपाध्यक्ष पोखरेलले केही तर्कहरु अगाडि सारे-

पहिलो - चुनावमा एक्ला एक्लै उठेको स्थानीय तहमा एमालेले २४ प्रतिशत जितेको छ। दोस्रो- तालमेलसहित उम्मेदवारी दिएको स्थानीय तहमा ३१ प्रतिशत जितेको छ। र तेस्रो- पाँच दलीय गठबन्धनको पूर्ण गठबन्धन भएका स्थानीय तहमा एमाले एक्लैले ४१ प्रतिशत जितेको छ।

यही तथ्यले पाँच दलीय गठबन्धन हुने क्षेत्रमा जित्न सकिने निष्कर्ष निस्किएको पोखरेलको भनाइ छ।

‘अघिल्लो चुनाव र यसपटकको स्थानीय तहमा प्राप्त मत विश्लेषण गर्दा हामीले राम्रै सिट जित्छौं,’ पोखरेलले नेपालखबरसँग भने, ‘अघिल्लो चुनावमा भएका केही कमजोरी यसपालि सच्याउँछौँ।’

३० बैशाखमा सकिएको स्थानीय चुनावमा एमालेले २०६ पालिकाको प्रमुख जितेको थियो। स्थानीय तहमा उम्मेदवार चयनमा कमजोरी भएको, विधि र प्रक्रिया नमिलाएको र अध्ययन विश्लेषण नगरेर उम्मेदवार बनाइएकोले कतिपय तह हारेको एमालेको विश्लेषण छ।

स्थानीय चुनावमा गठबन्धन वा तालमेल गर्ने अधिकार जिल्ला र पालिका कमिटीलाई दिएको थियो। रोल्पा, रुकुम, भोजपुर, खोटाङ लगायतका केही जिल्लामा गठबन्धनकै केही दलसँग तालमेल भयो। यसपटक भने विगतका कमजोरी सुधार गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।

पोखरेलको हिसाव अनुसार एमालेको अहिले पार्टी सदस्य संख्या ९ लाख छ। तिनीहरु प्रत्येकले २ जना मात्र सदस्य बनाउँदा १८ लाख पुग्छ। त्यो १८ लाखले पाँच जना मतदाता रिझाउँदा ९० लाख मत सुरक्षित हुन्छ भन्ने विश्लेषण छ।

‘हाम्रो आन्तरिक सर्वेक्षणको निष्कर्ष राम्रै सिट जित्छौं भन्ने हो,’ पोखरेलले निष्कर्ष सुनाए, ‘पहिला जस्तो पार्टीभित्र विवाद, गुटगत समस्या केही पनि छैन, बलियो छौं।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको प्रधानमन्त्री घोषणा गरेरै एमाले चुनावमा होमिएको छ। यसपटक ९ लाख पार्टी सदस्यबाट कम्तीमा २ जना सदस्य बनाउने अभियान थालेको छ।

‘हाम्रो पार्टीका सदस्यहरुले कम्तीमा २ जना सदस्य बनाउँछन्,’ पोखरेलले भने, ‘ती सदस्यले कम्तीमा ५ जना मतदाताको मत सुरक्षित गर्छन्।’

सरकारको अलोकप्रिय कामले माहोल बढ्दै गएको एमालेको ठहर छ। नेकपा एकीकृत समाजवादीबाट एमाले फर्कनेको लर्काेले एमालेप्रति आकर्षण बढ्न थालेको एमालेका नेताहरु बताउँछन्। प्रभावकारी प्रचार प्रसार र उम्मेदवारी चयनमा ध्यान दिने बरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी छ।

‘गठबन्धनबीच सिटको लफडा अझै कही समय लम्बिए माधवकुमार नेपाल पक्षमा लागेका धेरै नेताहरु एमालेमै फर्किन्छन्,’ एमालेका अर्का  नेताले नेपालखबरसँग भने। त्यसबाहेक स्थानीय तहमा अपनाइएको केही विधि मंसिर ४ को चुनावमा प्रयोगमा आउनेछ–

पहिलो, मिल्ने दलहरुसँग तालमेल। दोस्रो, एमालेकै चुनाव चिह्न लिएर उम्मेदवारी ।

पाँचदलीय गठबन्धन बने पनि एमालेले चुनावी तालमेलको निर्णय गर्ने अधिकार क्षेत्र र जिल्लालाई पनि दिएको छ। आफ्नो पक्षमा माहोल बन्नेगरी तालेमल गर्न उसको निर्देशन छ।

एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पनि स्थानीय तहको वडागत विश्लेषणका आधारमा एमाले एक्लै ३८ सिट जित्ने बताए। अबको चुनावी आकलन भइरहेको उनले जानकारी दिए।

‘स्थानीय तहको वडागत आधारमा हाम्रो पार्टीले एक्लै ३८ सिट जित्ने देखिन्छ,’ भट्टराईले नेपालखबरसँग भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी नतिजा यसैलाई आधार मानेर पुग्दैन, अबको नतिजा केही फरक पनि निस्कन सक्छ।’

आन्तरिक सर्वेक्षणको निष्कर्ष
एमालेले निर्वाचन क्षेत्रगत आधारमा आन्तरिक सर्वेक्षण गर्दा ६ वटा निष्कर्ष निकालेको छ।

पहिलो- प्रतिस्पर्धा भए पनि सजिलै जित्ने क्षेत्र । यस अन्तरगत बागमती प्रदेश, गण्डकी, प्रदेश १ र लुम्बिनीका केही क्षेत्र जित्ने एमालेको आँकलन छ।

दोस्रो- सोझै जित्ने, प्रतिस्पर्धी नै नभएको क्षेत्र। यस अन्तरगत प्रदेश १ का झापा, खोटाङ, पाँचथर, लुम्बिनीका केही र सुदुर पश्चिमका केही क्षेत्र।

‘स्थानीय चुनावलाई आधार मान्दा हाम्रो पार्टी गण्डकी प्रदेशमा पहिलो नम्बरमा छ, दोस्रोमा प्रदेश १ र तेस्रो संगठनको आधारमा लुम्बिनी छ,’ अध्यक्ष केपी शर्मा ओली निकट एक पदाधिकारीले भने।

तेस्रो, छ्यासमिस जित्ने । मिश्रित नतिजा ल्याउन सक्ने। यसमा बागमती प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशका केही क्षेत्रहरु पर्ने एमाले नेता बताउँछन् ।

चौथो, जित्ने निश्चित नभएको, टुंगो नलागेको । यसमा मधेस प्रदेशका केही क्षेत्र र अन्य केही प्रदेशका जिल्लागत विश्लेषण बढी गरिएको एमालेले जनाएको छ।

पाँचौं, प्रतिस्पर्धा धेरै हुने  क्षेत्र। यसमा काठमाडौं उपत्यकासहित, मधेस प्रदेश र कर्णालीका केही क्षेत्रहरु पर्ने एमाले नेताको दाबी छ ।

र, छैटौँ, जित्न कठिन क्षेत्रहरु ।

‘गठबन्धन कसिलो हुँदा हामीले धेरै मिहेनत गर्नुपर्ने देखिन्छ,’ एमालेका एक नेताले नेपालखबरसँग भने, ‘त्यही भएर जित्ने निश्चित नभएका ठाउँहरु निश्चित गरिसकेका छैनौँ।

प्रदेशगत आधारमा पनि एमालेले निर्वाचन क्षेत्रको एक चरण विश्लेषण गरिसकेको छ। जसअनुसार बागमती प्रदेशमा १० भन्दा बढी जित्न सकिने र प्रदेशमा २० बाट बढाउन सकिने नेताहरु बताउँछन्।

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएर केन्द्रमा आइसकेको छ। केन्द्रमा प्राप्त नामहरु  सर्वसम्मत भएको एमालेको दाबी छ।

समानुपातिक मत बढ्ने दाबी
प्रत्यक्षतर्फको सिट घटे पनि समानुपातिक भने बढ्ने एमालेको आन्तरिक निष्कर्ष छ। एमाले संसदीय दलका प्रमुख सचेतक भट्टराईले ३५ लाख भन्दा बढी समानुपातिक मत आउने बताए।

‘हाम्रो यसपटक समानुपातिक मत बढ्छ,’ भट्टराईले भने, ‘अघिल्लो पटक २०७४ मा भन्दा ५/६ लाख बढ्ने देखिन्छ।’

अघिल्लो प्रतिनिधि सभा चुनावमा एमालेले ३१ लाख मत ल्याएको थियो। त्यसबेला माओवादी केन्द्रसँग तालमेल गरेर एमालेले ८१ सिट प्रत्यक्षमा जितेको थियो।

अहिले एमाले विभाजित छ।  तर, विभाजनले समानुपातिक मतलाई कुनै असर नगर्ने भट्टराईले दाबी गरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .