राजनीति


गठबन्धनमा दुई मोडालिटी- पहिले शीर्ष नेताको टुंग्याउने, हार्न सक्ने ठाउँ साटासाट गर्ने

कांग्रेस ८५ सिटसम्म सम्झौता गर्ने मुडमा
गठबन्धनमा दुई मोडालिटी- पहिले शीर्ष नेताको टुंग्याउने, हार्न सक्ने ठाउँ साटासाट गर्ने

फाइल तस्बिर


सागर न्यौपाने
भदौ १९, २०७९ आइतबार १३:२६, काठमाडौँ

पाँचदलीय गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको सिट संख्यामा सहमति गर्नुअघि दुई समझदारी बनाएका छन्।

बिहीबार (१७ भदौ) मा बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदल बैठकमा दुईवटा सहमति बनेको हो। 

सिट बाँडफाँटका लागि बनेको कार्यदलका एक सदस्यले नेपालखबरलाई बताएअनुसार सिट संख्या पछि टुंग्याउने गरी  बैठकले दुई समझदारी गरेको हो। 

सिट बाँडफाँटमा सहमति गर्न शीर्ष दलसहित कार्यदलको बैठक आइतबार (१९ भदौ ) दिउँसो ३ बजे बस्दैछ।

गठबन्धनका दुई सहमति  
पहिलो, २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा जुन दलले जितेको छ, त्यही दललाई दिने।

दोस्रो, शीर्ष नेताको निर्वाचन क्षेत्र टुंगो लगाएर मात्रै अन्य नेताहरुको क्षेत्रबारे समझदारी बनाउने।

कार्यदलका ती सदस्यका अनुसार पहिले जितेको दललाई त्यहीँ उठाउएर अन्य चार दलले सहयोग गर्ने समझदारी बनिसकेको छ। 

‘शीर्ष नेतृत्वसहित कार्यदलबीच जुटेको पहिलो सहमति हो-प्राथमिकता पहिला (२०७४ मा जितेकै दललाई दिने,’ ती सदस्यले नेपालखबरसँग भने, ‘यदि पहिला जितेको दलले फेरि त्यही क्षेत्र जित्ने अवस्था नभए गठबन्धनकै जित्ने सम्भावना बढी भएको दललाई दिएर उक्त क्षेत्र छोड्ने दललाई पक्का जित्ने क्षेत्रबाट उठाउने सहमति जुटिसकेको छ।’

यसलाई लिएर गठबन्धन निरन्तर छलफलमा छन्। सिट संख्याबारे अहिलेसम्म सहमति नजुटे पनि सबै शीर्ष नेतालाई प्रतिनिधि सभामा ल्याउन गठबन्धनबीच सहमति जुटिसकेको छ। 

‘पहिला शीर्ष नेताको निर्वाचन क्षेत्र भाग लगाउने र उहाँहरुलाई जिताउने निश्चित गरेर मात्रै बाँकी नेताहरुको विषयमा छलफल हुन्छ', कार्यदल सदस्यले भने, 'गठबन्धनभित्रका शीर्ष नेतालाई सिंहदरबार ल्याउने कुरामा प्रतिवद्ध छौँ।’ 

शीर्ष नेतामा को–को ल्याउने? यसबारे गठबन्धनले नाम  सार्वजनिक गर्न चाहेको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसहितका नेतालाई जिताउन गठबन्धन तयार छ।

त्यसमध्ये शीर्षमै रहेका कोही नेता नउठे उनले तोकेका नेतालाई जित्ने निर्वाचन क्षेत्रबाट उठाएर जिताउने सहमति जुटेको हो।

‘संघीय मात्र होइन, प्रदेशमा पनि त्यही गर्ने भन्ने छ,’ उनले भने, ‘दोस्रो चरणमा बाँकी नेताहरुको लागि निर्वाचन क्षेत्र बाड्छौँ।’

कार्यदल र शीर्ष नेताबीच अहिलेसम्म कुन दलले कति सिट लिने टुंगिएको छैन। कांग्रेसले ८५ देखि ९० दाबी गरेको छ।
 माओवादी केन्द्रले ४७ देखि ५०, एकीकृत समाजवादीले १५ देखि १८, जसपाले १३ देखि १८ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका छन्।

संख्याको दाबी छोड्दै दलहरु लचक भइरहेका छौँ, संघीय संसदको सिट मिलाएपछि मात्र प्रदेश मिलाउने कुरा भएको छ,’ कार्यदलका सदस्य आनन्द शर्माले नेपालखबरसँग भने, त्यसपछि कसले कहाँकहाँबाट लड्ने टुंगो लगाउँछौँ।’

संख्यामा अहिलेकै विवाद कायम नराखी मिलाएर जानुपर्छ भन्नेमा पाँचै दल सहमत भएको उनले बताए। 

कांग्रेसको भित्री सर्कुलर
कांग्रेसले हदैसम्म लचक भएको अवस्थामा ८५ सिटमा झर्न सकिने आन्तरिक सर्कुलर गरेको छ।

शीर्ष र कार्यदल बैठकमा भने ९० सिटबाट तल झर्न नसकिने अडानमै कांग्रेस छ। 

‘भित्री सर्कुलर कम्तीमा ८५ सिटबाट झर्न नसकिने छ,’ सभापति देउवानिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले ९० कै अडानमा बस्ने तर, लचिलो हुँदा ८५ अन्तिम बिन्दु हो।’

अन्य चार दलको हिसाब
गठबन्धनका अन्य चार दलको हिसाब भने कांग्रेसलाई कम्तीमा ८० सिट दिने छ। 

बाँकी ८५ सिट चार दललाई बाड्न सजिलो हुने उनीहरुको विश्लेषण छ। 

‘८० मा कांग्रेस आए अन्य ४ दललाई ८५ सिट बाँडफाँट गर्न कफरटेबल हुन्छ भन्ने हो,’ एक शीर्ष नेताले भने, सिट वाँडफाँटमा सहमति जुटेपनि क्षेत्र बाड्न झन् समस्या छ। मधेस प्रदेशमा सबैभन्दा बढी समस्या हुन्छ।’

मधेशमा कांग्रेसले ६० प्रतिशत र जसपाले १२ सिट दाबी गर्दैछ। 

जसपाले आफ्नो आधार भूमि नै मधेश भएको बताएको छ। यसपटक कांग्रेस मधेशबाटै बलियो हुने दाउमा छ।

२०७४ को प्रतिनिधि सभामा तत्कालीन संघीय समाजवादी फोरमले ९ र कांग्रेसले मधेशमा जम्मा ६ सिट जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .