ad ad

राजनीति


नख्खु जेलबाटै कांग्रेसको राजनीतिमा आलमको दबदबा

कांग्रेस कार्यकर्ताले ताली बजाएर सर्वसम्मत सिफारिस गरे
नख्खु जेलबाटै कांग्रेसको राजनीतिमा आलमको दबदबा

फाइल तस्बिर


शैलेन्द्र महतो
भदौ १६, २०७९ बिहिबार २१:४८, जनकपुरधाम

हामीले हेर्ने नेपालीदेखि हिन्दीसम्मका फिल्ममा गम्भीर प्रकृतिका अपराध गरेका खलनायक पात्रले जेलभित्रैबाट विभिन्न गतिविधि गरिरहेका हुन्छन्। 

नेपालको सिमाना जोडिएका भारतीय राज्यहरु बिहार र उत्तर प्रदेशमा त जेलभित्रैबाट चुनाव जित्ने कयौँ नेताहरु अहिले पनि राजनीतिमा छन्। 

फिल्ममा देखाइने कतिपय दृश्यहरु हाम्रै राजनीतिक परिवेश र दैनिक जीवनमा मेल खाइरहेका हुन्छन्। फिल्ममा देखाइने काल्पनिक घटनाक्रम कहिलेकाहीँ बिहार र उत्तर प्रदेशमा जस्तै हाम्रो समाजमा भइरहेका छन्।

नेपालमा भलै गम्भीर फौजदारी अपराधको अभियोग लागेकाहरुले चुनावी मैदानमा उत्रिन मुस्किल छ। तर उनीहरुले जेल भित्रैबाट राजनीतिक दबदबा राख्न सक्ने उदाहरण बनेका छन् नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताव आलम।

उनी कुनै सस्पेन्स थ्रिलर फिल्मको कथामा देखाइएका भन्दा डरलाग्दा दृश्य सम्झाउने घटनामा मुछिएर यतिबेला जेलमा छन्। 

नेपाली कांग्रेसका निलम्बित प्रतिनिधि सभा सदस्य अफ्ताताव आलम अहिले ललितपुरस्थित नख्खु जेलमा सजाय भोगिरहेका छन्। उनीमाथि इँटाभट्टामा हालेर जिउँदै मानिसको हत्या गरेदेखि विष्फोट गरेर ज्यान लिएकोसम्म अभियोग लागेका छन्। 

उनीमाथि २०६४ को निर्वाचन जित्न कयौं मानिसलाई जिउँदै इँट्टा भट्टामा जलाएको आरोपमा जेल परेका हुन्। उनीविरुद्धको मुद्दा अहिले पनि जिल्ला अदालतमा विचाराधीन छन्। तर, जेलमा रहेका उनै आलमको राजनीतिक क्षेत्रमा अझै दबदबा चलिरहेको छ।

दबदबा
गम्भीर फौजदारी अपराधमा अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका आलम मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि आलामको नाम रौतहट क्षेत्र नम्बर २ बाट  सर्वसम्मत सिफारिस भएको हो।

बुधबार बसेको कांग्रेस रौतह २ को क्षेत्रीय कमिटीको बैठकले आलमको नाम एकल सिफारिस गरेको क्षेत्रीय सभापति मोहम्मद फैजिलले नेपालखबरलाई बताएका छन्। 

'क्षेत्रीय र प्रदेश कमिटीको बैठक एकै ठाउँमा थियो। झण्डै अढाई सय सहभागी थिए। प्रतिनिधिसभातर्फ आलमको एकल नाम प्रस्ताव भयो', क्षेत्रीय सभापति फैजिलले नेपालखबरसँग,'सबैले ताली बजाएर सर्वसम्मत पारित गरे।'

आलमलाई स्थानीय कांग्रेस नेता कार्यकर्ताहरु अहिले पनि निर्दोष ठान्छन्।

यति गम्भीर प्रकृतिको घटनामा मुछिएर जेलमा रहेका व्यक्तिलाई कांग्रेसले कसरी उम्मेदवार बनायो? अन्य विकल्प थिएन? भन्ने नेपालखबरको जिज्ञासामा फैजिलले भने, 'असलियत कुरा यहाँका सबै कंग्रेसीलाई थाहा छ। उहाँ निर्दोष हुनुहुन्छ। कम्युनिस्टले चुनाव जित्न उहाँलाई फसाएका छन्।'

कानुनी सल्लाहकारसँगको परामर्शपछि आलमकै इच्छानुसार उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरिएको सभापति फैजिलले बताएका छन्। 

आलमकै क्षेत्रबाट अञ्जु झाको नाम पनि महिलातर्फ सिफारिस भएको भनिए पनि यसबारे क्षेत्रीय कमिटीले कुनै निर्णय गरेको छैन। 

आलमबाहेक कसैको नाम सिफारिस नगरेको फैजिलले बताए। नगर समितिले महिलाको नाम सिफारिस गरेको हुन सक्ने उनले बताए। 

अपराधको कथा
संविधानसभा निर्वाचनमा धाँधली गर्न ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो। 

विष्फोटका घाइते र मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा २६ खसोज २०७६ मा आलमलाई प्रहरीले पक्राउ गरेको थियो। तर त्यसबेलासम्म उनलाई जोगाउन कांग्रेसले सबै प्रयत्न गरेको थियो।

आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको अभियोग उनीमाथि छ।

यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम, उनका भाइ मोहम्मद महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। 

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा रौतहट जिल्ला अदालतले २९ कात्तिक २०७६ मा उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

जेल चलान भएपछि उनी प्रतिनिधि सभा सदस्य पदबाट निलम्बनमा छन्। अफताब २०७४ को चुनावमा रौतहट क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए। 

नगरप्रमुख छोरा
गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उनका छोरा डा. मोहम्मद राजिक आलम रौतहटको राजपुर नगरपालिका प्रमुखा विजयी भएा छन्। 

आलम जेलमा हुँदा पनि छोराले मेयरमा जित निकालेका छन्। अर्कातिर आफैं पनि संघीय सांसदका लागि क्षेत्रबाट सर्वसम्मत सिफारिसमा परेका छन्।

यसको अर्थ नख्खुमा थुनिएका उनले रौतहट कांग्रेसको राजनीतिमा पकड उस्तै रहेको स्थानीयबासीले पनि ठानेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .