ad ad

राजनीति


शंकर पोखरेललाई प्रश्न : एमालेसँग विचार मिल्ने रवीन्द्र मिश्र र कमल थापाहरु हुन्?

शंकर पोखरेललाई प्रश्न : एमालेसँग विचार मिल्ने रवीन्द्र मिश्र र कमल थापाहरु हुन्?

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०७९ सोमबार १८:११, काठमाडौँ

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धन यतिबेला मंसिर ४ को संसदीय निर्वाचनका लागि सिट बाँडफाँटमा व्यस्त छन्। 

केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि बनेको गठबन्धन आगामी निर्वाचनसम्म जाने पक्का भएको अवस्थामा एमाले एक्लो परेको छ।

कांग्रेस, एमालेकै कुनै बेलाको सहयात्री माओवादी, अर्को सहयात्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीबीचको गठबन्धनसँग एमालेले चुनावी प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ।

यस्तोमा पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग राजावादी र पञ्च पृष्ठभूमिका दल र तिनका नेताले संवाद गरिरहेका छन्। 

वाम-लोकतान्त्रिक गठबन्धनमा भागबण्डा नमिलिरहेको अवस्थामा पछिल्लो समय ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले संवाद गरिसकेका छन्। 

यी तीनै नेता बालकोट पुगेर संवाद गर्नुको उद्धेश्य थियो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग तालमेल या चुनावी गठबन्धन।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र राप्रपाले एमालेसँग स्थानीय तालमेल गरिसकेका छन्। तर एकता महाधिवेशनपछि फुटेका थापा र लिङ्देनले एमालेसँग गरेको सहकार्यले खासै फलिफाप भएन। 

थापा नेतृत्वको राप्रपा नेपालले एमालेसँग मिलेर कतै जित निकाल्न सकेन। उता चितवनको भरतपुरमा एमालेसँग मिलेको राप्रपाले पनि पनि परिणाम आफ्नो पक्षमा ल्याउन सकेन।

स्थानीयको परिणाम तीतो भए पनि ती दलहरु र रवीन्द्र मिश्रसमेत एमालेसँग आगामी निर्वाचनका लागि सहकार्यको दौडधूपमा छन्। 

यहीबीचमा आगामी निर्वाचनको रणनीति बनाउन एमालेको चौथो केन्द्रीय कमिटी बैठक सकिएको छ। उक्त बैठकका निर्णय र ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेबारेको कारण खुलाउन एमालेले सोमबार पत्रकारसँग अन्तरसंवाद गर्यो।

उक्त अन्तरसंवादमा अध्यक्ष ओली नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत भएर पत्रकारहरुसँग कुरा गर्ने बताइएको थियो। 

तर कार्यक्रममा प्रमुख वक्ताका रुपमा उपस्थित एमाले महासचिव शंकर पोखरेलले कार्य व्यस्तताका कारण ओली आउन नसकेको बताए।

ओली आउने भनेर प्रचार गरिएको भन्दै पत्रकारले आलोचना गरेपछि उनले क्षमासमेत मागेर सबै कुरा आफैंले प्रष्ट पार्ने भन्दै शान्त पार्ने प्रयास गरे।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नुका पाँच कारण सुनाएपछि बोल्न आएका थिए शंकर पोखरेल।

त्यसक्रममा उनको तर्क थियो एमाले एक्लै गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्छ। तर स्थानीय आवश्यकता र जनमतका आधारमा चुनावी तालमेल पनि हुन सक्ने उनको तर्क थियो। 

'एमालेले गठबन्धन स्थानीयमा गर्न सक्छ', उनले भने, 'विचार मिल्ने शक्तिहरूसँग हामी स्थानीय तालमेल गर्न सक्छौँ। सकेसम्म हामी अन्य दलहरूलाई सूर्य चिह्नबाटै चुनाव लड्न भनिरहेका छौँ।'

सत्ता गठबन्धनप्रति आक्रोश पोखेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि व्यंग्य पनि कसे।

उनले यी दुई कम्युनिष्ट नेताहरु शेरबहादुर देउवाको नेतृत्वमा समाजवादको कुरा गर्दै हिँडेको टिप्पणी गर्दै यो भन्दा मजाकको विषय अरु हुन नसक्ने तर्क पनि गरे। 

ओलीलाई तेस्रो पटक प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको विषयमा पत्रकारको प्रश्न थियो, 'केपी ओलीलाई फेरि प्रधानमन्त्रीमा प्रस्ताव गरेर तपाईंहरुले प्रत्यक्ष निर्वाचितको अभ्यास गर्न खोजेको हो?'

पोखरेलले एमाले अहिलेलाई संसदीय लोकतन्त्रमै रमाउने तर्क गरे। माओवादी अध्यक्ष प्रचण्डले चुनाव खर्च महंगो भएको भन्दै प्रत्यक्ष कार्यकारीमा जानुपर्ने तर्क गरिरहेका बेला पोखरेलले भने संसदीय लोकतन्त्र नछाड्ने अडान लिए।

'हामी तत्कालै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाँदैनौं', उनले भने, 'अध्यक्ष ओली कमरेडलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको पनि संसदीय लोकतन्त्र अन्तर्गत नै रहने गरी हो। हामी अहिलेलाई संसदीय लोकतन्त्रबाट दायाँबायाँ हुँदैनौँ।'

ओलीले संसद विघटन गरेपछि आफूले प्रचण्डलाई खुमलटारमा भेटेर तत्कालै चुनावमा गएर प्रधानमन्त्री हुन प्रस्ताव गरेको पनि उनले खुलाए। 

'यो संसदले काम नगर्ने भएपछि मैले भेटेर प्रचण्डलाई छिटो चुनावमा जाऊँ भनेको थिएँ, चुनावपछि तपाईं प्रधानमन्त्री हुनु भनेको पनि हो', उनले भने, 'तर उहाँले केपी ओली जनतामाझ अलोकप्रिय भइसकेका छन् चुनावमा जान सकिँदैन भन्नु भयो। अहिले प्रचण्ड र माधव र देउवा पनि गठबन्धनबिना चुनाव लड्नै नसक्ने भएका छन्।'

पोखरेलले एमालेलाई घेराबन्दी गर्नेलाई दण्डित गर्न ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिएको तर्क पनि गरे। पोखरेलले स्थानीय तहको परिणाम सुनाउँदै अहिले पनि एमाले ठूलो पार्टी भएको तर्क गरे। 

पोखरेलले एमाले ठूलो पार्टी भएको तर्क गर्दै विचार मिल्ने दलहरूसँग स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गरेर जान सकिने बताए। त्यसपछि पत्रकारहरुले राजावादी र पञ्च पृष्ठभूमिका दल र नेताहरुसँग अध्यक्ष ओलीले गरिरहेको संवादबारे प्रश्न गरे। त्यस्तै उनीहरुले महन्थ ठाकुर नेतृत्वको लोसपासँग पनि गठबन्धन सम्भावनाबारे प्रश्न तेर्स्याए। 

'तपाईं विचार मिल्ने दलहरूसँग एकताको कुरा गरिरहनु भएको छ। तर तपाईंहरुकै अध्यक्षले आजै रवीन्द्र मिश्रलाई भेट्नु भयो। पहिले राजेन्द्र लिङ्देन र कमल थापासँग पनि छलफल भइरहेको सुन्यौँ? के एमालेसँग विचार मिल्नेहरू यिनै हुन्?'

पोखरेलले ओलीले राजावादी र पञ्च पृष्ठभूमिका नेताहरुसँग गरिरहेको छलफलको महासचिव पोखरेलले बचाउ गरे। उनको तर्क थियो, ओलीसँग कहिल्यै नभेटेका आलोचकहरु उनलाई भेटेपछि प्रशंसक भएर निस्किन्छन्।

त्यसपछि पत्रकारहरुले लामो संगत गरेका माधव नेपाल र प्रचण्ड किन ओलीका कट्टर आलोचक भएर निस्किएका भन्दै अर्को प्रश्न पनि गर्न भ्याए। 

'हो, रवीन्द्र मिश्रले अध्यक्ष कमरेडलाई भेट्नु भएको कुरा मैले पनि सुनेको छु। अध्यक्ष कमरेडको जति राजनीतिक उचाई अहिले नेपालका कुनै नेताको पनि छैन', उनले उक्त भेटको बचाउ गर्दै भने, 'अध्यक्षलाई भेट नगर्दासम्म धेरै मानिस आलोचक हुन्छन् तर भेट भइसकेपछि प्रशंसक हुन्छन्।'

उनले आगामी निर्वाचनमा तालमेलको कुरा स्थानीय परिस्थितिमा भर पर्ने बताएका छन्। 'चुनावमा तालमेल स्थानीय परिस्थितिमा भर पर्छ', उनले भने, 'तालमेल दुवै पक्षलाई लाभ हुने विषय हो। एमाले राष्ट्रिय गठबन्धनको पक्षमा छैन। स्थानीय अवस्था हेरेर विचार मिल्ने शक्तिहरूसँग सहकार्य हुन सक्छ।'

तर उनले दुई राप्रपा, लोसपा र रवीन्द्र मिश्रसँगको चुनावी तालमेलबारे प्रष्ट खुलाउन चाहेनन्। कूटनीतिक जवाफ दिएका महासचिव पोखरेलले एमाले अहिले पनि वैचारिक र संगठनात्मक रूपमा एक रहेको तर्क गरे। 

तर उनले गठबन्धनका लागि आफूहरुले कुनै दलसँग संवाद गरेर सहयोग नखोजेको पनि बताए। 'हामीले कसैलाई खोजेको छैन। हाम्रो चुनावी घोषणापत्र मन पराउनेलाई साथ लिएर हिँड्छौँ', उनले भने, 'हाम्रो घोषणापत्र र विचारमा सहमत हुनेसँग सहकार्यको ढोका खुला गर्ने निर्णय पार्टीले गरिसकेको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .