राजनीति


गठबन्धनको भागबन्डा : हात्ती छिर्यो, पुच्छर अड्क्यो!

गठबन्धनको भागबन्डा : हात्ती छिर्यो, पुच्छर अड्क्यो!

सागर न्यौपाने
भदौ ९, २०७९ बिहिबार २२:४५, काठमाडौँ

आगामी मंसिर ४ गतेको चुनावमा गठबन्धन बनाएर जान सत्तारुढ पाँच दलबीच सैद्धान्तिक सहमति जुटेको एक महिना भइसक्यो। व्यवहारिक रुपमा भने गठबन्धनले अहिलेसम्म भागबन्डा मिलाउन सकेका छैनन्।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ र प्रदेश सभाका ३३० सिट बाँडफाँटको सहमति बनाउन ११ सदस्यीय कार्यदल पनि बनेको छ । पटक–पटक बैठक बसेको कार्यदलको बैठक ९ भदौसम्म कुनै सहमतिमा पुग्न सकेको छैन।

त्यही भएर बिहीबार (९ भदौ)मा बसेको गठबन्धनको शीर्ष दलसहितको बैठकले १६५ निर्वाचन क्षेत्रको प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ।

९ गते बेलुका बसेकाे कार्यदलकाे बैठकमा कांग्रेसका नेताहरुले अस्वभाविक दाबी गरेका छन्। कांग्रेसले आफ्दो दाबी नछाडेपछि अन्य तीन दलले पनि अस्वभाविक दाबी अघि सारेका छन्।

कार्यदलका सदस्यले नेपालखबरलाई बताए अनुसार कांग्रेसले मागेको सिट संख्यामा ४ दल सहमत हुँदैनन्।

ती सदस्यका अनुसार कांग्रेसले गरेकाे १२ सिट दाबी अस्वभाविक छ।

२०७४ को प्रतिनिधि सभाको चुनाव र अहिलेको स्थानीय चुनावलाई मध्यनजर गर्दा पनि कांग्रेसले गरेको दाबीसँग सहमति जनाउन नसकिने कांग्रेस इत्तरको अडान छ।

२० साउनमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई तोकेर सिट बाँडफाँटको मोडालिटी बनाउने भनिएको थियो । कार्यदल  चार/पाँच पटक बैठक बसे पनि सहमति जुटेन ।

नेताहरुका अनुसार कांग्रेसले एक्लै बहुमत ल्याउने योजनासहित सिट माग गरेपछि कुरा मिल्न समय लागेको हो। त्यही भएर ३० साउनमा पहिलो पटक र ७ भदौमा दोस्रो पटक थपिएको समयमा कार्यदलले सिट बाँडफाँटबारे सुझावसहितको प्रतिवेदन दिन सकेन।

कार्यदलमा नेपाली कांग्रेसबाट ३, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका दुई/दुई नेता छन्।

कार्यदलका एक सदस्यका अनुसार प्रतिनिधि सभाका १२/१३ सिटमा कुरा नमिल्दा बाँडफाँट रोकिएको हो।

प्रतिनिधि सभाको सिट बाँडफाँटमा सहमति जुटाएपछि मात्र प्रदेश सभाको विषयमा छलफल गर्ने भएकाले प्याकेजमै सहमति खोज्ने प्रयास भइरहेको ती सदस्यले बताए।

समाजवादी र जसपा कांग्रेसको अडानले अचम्मित छन् । उनीहरुले कांग्रेसलाई बहुमत सिट दिन तयार भए पनि दाबी गरेजतिमा सहमति दिन नसक्ने बताइदिएका छन्।

‘तालमेल र गठबन्धन गर्ने कुरामा गठबन्धन र कार्यदलबीच कुनै समस्या छैन, तर सिट संख्यामा कांग्रेसले अलि बढी मागेर सहमति जुट्न सकेको छैन, ती सदस्यले नेपालखबरसँग भने, ‘अन्य चार दलबीच सिट बाँडफाँटमा खासै समस्या छैन।’

चार दलले कांग्रेसलाई बढीमा ८५ सिट दिन सकिने प्रष्ट पारेका छन्। त्यसबाहेकको ८० सिट आफूहरु बाड्न तयार रहेको कुरा पनि भनिसकेको ती नेताले बताए। त्यसो गर्दा प्रत्यक्ष तर्फका १२ सिटमा कांग्रेसकै दाबीले रोकिएको उनीहरुको तर्क छ।

‘अहिले कुरा नमिलेकै जम्मा १२ सिटमा हो, कांग्रेस ९७ बाट ८५ मा आउने वित्तिकै भोलि नै सहमति हुन्छ,’ ती नेताले थपे, ‘यसमा माओवादीसहितका चारदल बाँडफाँट मिलाउन तयार छौँ, हामीमा समस्या छैन।’

चार दलले ८० सिट बाँडफाँट गर्ने कुरालाई कांग्रेसले मानेको छैन। उसले आफ्नो देशभर प्रभाव विस्तार भएको कुरा हेक्का राख्नुपर्ने बताएको छ।

कार्यदल बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापाले पार्टीको अडान प्रष्टसँग राखेका छन्। त्यसबाहेक संयोजक कृष्ण सिटौला मिलाएर जानुपर्ने बताउँछन्।

ज्ञानेन्द्रबहादुर कार्की पनि पार्टीको लाईनमै अडिग छन्। माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुनले पार्टीको धारणा सुनाउने गरेका छन्। महासचिव देव गुरुङले कांग्रेसलाई काउन्टर जवाफ दिन्छन् र मिलनविन्दूमा अडान नहुने कुरा बताउँछन्।

यस्तै, एकीकृत समाजवादीबाट बेदुराम भुसालले गठबन्धन बीचको मिलनविन्दू पहिल्याउन अडानमा बस्नु नहुने सुझाव दिने गरेका छन्।

राष्ट्रिय जनमोर्चाले पार्टीको बटमलाई, अडान प्रष्टसँग राखेको छ। उसले दुईवटा विकल्प दिएको छ । पहिलो, देशव्यापी गठबन्धन बनाउने हो भने प्रतिनिधि सभाको २ सिट प्युठान र बाग्लुङबाट हुनैपर्ने। दोस्रो, प्रदेश १ र मधेस प्रदेशबाहेक अन्य प्रदेशबाट कम्तीमा ६ वटा प्रदेश सांसद पाउनुपर्ने ।

शीर्षनेता, गठबन्धन र कार्यदलका बैठकमा कांग्रेसले हैसियत अनुसार प्रस्तुत हुनुपर्ने बताएको एक नेताले गुनासो गरे। ‘कांग्रेसले हैसियतको कुरा गर्न थालेको छ,’ ती नेताले भने, ‘कांग्रेसका नेताबाट अहिलेको स्थानीय तहको निर्वाचन परिणाम ख्याल गर्नुपर्छ भन्ने जवाफ आउँछ, यो दम्भ हो।’

अघिल्लो पटकको प्रतिनिधि सभा चुनावमा २३ सिट जितेको कुरालाई हेक्का राख्न कांग्रेसलाई सुझाव दिइएको ती नेता दाबी गर्छन्।

‘एमालेले किस्तीमा राखेर लोभ देखाएकै छ, एक्लै लड्ने ठूलो पार्टीको हैसियत छैन, हिजो कांग्रेसले २३ सिट जित्यो,’ बैठकमा कार्यदल सदस्यले राखेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘स्थानीय चुनावमा एमालेको हैसियत देखियो अब पनि परिस्थितिको कुरा हो, यसमा हेक्का राख्नुपर्छ।’

कांग्रेसले बढी सिट लिन जोड गरेकैले सिट बाँडफाँटले गति नलिएको उनले बताए। गठबन्धनका दलबीच द्वीपक्षीय र त्रिपक्षीय छलफल भइरहेका छन्। तर, छलफल निष्कर्षमा पुग्न सकेको छैन।

कांग्रेस कार्यसमितिको २ साउनमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रष्ट बहुमत ल्याउने गरी गठबन्धन गर्ने निर्णय गरेको थियो। त्यसमा कांग्रेसले दुईवटा कुरामा जोड दिएको थियो ः

पहिलो स्थिर सरकार । र, दोस्रो कांग्रेसको नेतृत्वमा सरकार ।

‘केन्द्रीय समितिको बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ,’ कांग्रेसको निर्णयबारे प्रवक्ता प्रकाशशरण महतले भने, ‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका हुनुपर्छ । त्यसका लागि गठबन्धनका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने ।’

त्यही बैठकको निर्णयपछि कांग्रेसले आफूलाई बहुमत ल्याउनेगरी मात्र सिट दाबी गरेको गठबन्धनका अन्य दलको भनाइ छ। अहिले कुरा मिल्न नसक्नुको कारण यही हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवका अनुसार गठबन्धन जोगाएर जाने र पहिलाका समझदारी बचाउने कुरामा सहमति छ।

‘अहिलेसम्म कुनै दलबाट पनि सिट संख्याको ठोस् प्रस्ताव पेश भएका छैनन्, बाहिर गरिएका दाबी आधिकारिक होइन,’ यादवले नेपालखबरसँग भने, ‘सिट बाँडफाँटबारे सहमति गर्न हामीले कार्यदललाई जिम्मा दिएका छौँ, त्यसले रिपोर्ट दिएपछि त्यसमै केन्द्रीत भएर छलफल हुन्छ।’

कार्यदलका सदस्यहरुका अनुसार कार्यदल बैठकमा तीनवटा मोडालिटीबारे कुरा भइरहेको छ।

पहिलो– २०७४ मा जितेको प्रतिनिधि सभा र प्रदेश सभाको सिट संख्या सोही दललाई दिने।

दोस्रो, ३० वैशाखमा सकिएको स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मत संख्यालाई आधार मान्ने र ०७४ को चुनावी परिणाम पनि विश्लेषण गरी बाँडफाँट गर्ने।

तेस्रो– २०७४ को प्रत्यक्ष र समानुपातिकबाट प्राप्त गरेको सिट संख्यालाई कायम राख्दै नेकपा एमालेले प्रत्यक्षमा जितेको ८१ सिटको मात्र बाँडफाँट गर्ने।

तेस्रो प्रस्ताव एकीकृत समाजवादीले राखेको हो। त्यसो गर्दा कांग्रेसको ६३, माओवादी ५३, एकीकृत समाजवादी २४, जसपा १९ र राष्ट्रिय जनमोर्चा १ सिट हुन्छ।

एमालेले जितेको प्रत्यक्षतर्फको ८१ सिटमध्ये कांग्रेसलाई ४५–५० सिट दिन सकिने समाजवादीको प्रस्ताव छ। बाँकी ३१ सिट चार दलबीच वाँडफाँट गर्न सकिने प्रस्ताव कांग्रेसले मानेको छैन।

हामीले अहिले भएको सिट संख्यालाई आधार मानेर एमालेले प्रत्यक्ष जितेको ८१ सिट बाँडफाँट गरौं भनेर प्रस्ताव लगेका छौँ, समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने, ‘कांग्रेसले मानेको छैन।’

चारदलबीच ५२ प्रतिशत सिट कांग्रेसलाई दिएर बाँकी ४८ प्रतिशतमा चार दल वाँडफाँट गर्न तयार रहेको उनले बताए।

कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले गठबन्धनका शीर्ष नेतालाई यसबारे व्रिफिङ गरिसकेका छन्। तर, वामदेव गौतम, डा. बाबुराम भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी समेत गठबन्धनमा सहभागी हुँदैछन्।

भट्टराई र नेकपा (राष्ट्रिय अभियान पार्टी)का संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्दैछन् । उनीहरुले पाउने सिट माओवादीबाटै मिलाउने भएकोले लोसपाको पनि कांग्रेसले पाउने सिटबाट मिलाउन सक्ने सम्भावना रहेको नेताहरु बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .