ad ad

राजनीति


सेना प्रमुखसहितलाई राष्ट्रपतिले भेटेको विषय गठबन्धनमा उठ्यो

बालुवाटारमा चर्चा भएका यी हुन् चार विषय
सेना प्रमुखसहितलाई राष्ट्रपतिले भेटेको विषय गठबन्धनमा उठ्यो

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०७९ बिहिबार १३:२३, काठमाडौँ

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे प्रधानसेनापति लगायत अधिकारीहरुसँग भेटेको विषयले प्रवेश पाएको छ।

बिहीबार (९ भदौमा) बालुवाटारमा बसेको बैठकमा राष्ट्रपतिले पछिल्ला दिन सैनिक अधिकारी र कानुनविद्सँग लगातार गरेको भेटबारे कुरा उठेको एक नेताले बताए।

संघीय संसदका दुवै सदनबाट पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणित गरी १५ साउनमा प्रमाणीकरणका लागि राष्ट्रपति निवास पठाएका थिए।

तर, राष्ट्रपति भण्डारीले २९ साउनमा विधेयकलाई परिमार्जन गर्न आग्रह गर्दै संसदमै विधेयक फिर्ता पठाएकी थिइन।

त्यही विधेयकलाई गठबन्धनले हुबहु संसदमा पेश गर्ने निर्णय गरेपछि २ भदौमा प्रतिनिधि सभाबाट दोस्रो पटक बहुमतले पारित भएको थियो।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा पेश हुन पाएको छैन।

यसैगरी गठबन्धनको बैठकमा नागरिकता विधेयकका विषयमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य चार दल एकै ठाउँ उभिएका छन्।

गठबन्धनले कर्मचारी आन्दोलन समाधान गर्नुपर्ने विषयमा पनि छलफल गरेको छ।

शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिकता खोजबिन विधेयक पारित गर्नुपर्ने गठबन्धनमा समझदारी बनेको अर्का नेताले जानकारी दिए।

गठबन्धनको बैठकमा चार विषयमाथि छलफल भयो, पहिलो सिट बाँडफाँटको लागि गठन गरेको कार्यदललाई १ सय ६५ क्षेत्रकै प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘दोस्रो, शान्ति प्रक्रियासँग सम्बन्धित ऐन कार्यान्वयनका विषयमा समझदारी बनाइएको छ। तेस्रो, राष्ट्रपतिले केही दिनदेखि निरन्तर राखिरहेको बैठक, सेना, कानुनविद्सँगको परामर्श र चौथो, कर्मचारी आन्दोलन सम्बोधन विषयमा कुरा भए।’

गठबन्धन बैठकमा राष्ट्रपतिले गरिरहेको छलफल के का लागि हो जानकारी हुनुपर्ने समेत आवाज उठेको ती नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .