ad ad

राजनीति


झापा ५ मा गठबन्धनबाट को बन्ला केपी ओलीको प्रतिस्पर्धी?

झापा ५ मा गठबन्धनबाट को बन्ला केपी ओलीको प्रतिस्पर्धी?

केशव सावद
भदौ ७, २०७९ मंगलबार ९:२८, काठमाडौँ

मुलुकको बागडोर सम्हालिसकेका ६ शीर्ष नेताहरुलाई मंसिर ४ को संघीय र प्रादेशिक निर्वाचनबाट विश्राम दिने भन्दै सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलिरहेको छ।

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ का नाममा विभिन्न पार्टीका ६ शीर्ष नेताहरुको तस्बिर एकसाथ राखेर आसन्न निर्वाचनमा पराजित गर्नै पर्ने भनेर प्रचार-प्रसार थालिएको छ।

प्रष्ट रुपमा कोही व्यक्ति सार्वजनिक नभएर अथवा नखुलेर चलाइएको ‘नो नट अगेन’ अभियानका नाममा सामाजिक सञ्जालमा विभिन्न खाताहरु खोलिएका छन्।

ती खाताबाट ‘अबको निर्वाचनबाट स-सम्मान विदा गरौँ’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँगै पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईका तस्बिर दिनानुदिन पोष्ट हुँदै आएका छन्।

समाजिक सञ्जालमा शीर्ष नेताहरुका विरुद्ध ‘नो नट अगेन’ नामले अभियान नै चलाइए पनि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाबाहेक कुनै पनि नेताविरुद्ध उम्मेदवारी दिने स्वतन्त्र व्यक्ति अहिलेसम्म देखा परेका छैनन्।

उता, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आशन्न निर्वाचनमा चुनौती दिने पात्र अझै एकिन हुन सकेको छैन। स्वतन्त्र त के, पाँच दलीय सत्ता गठबन्धनले समेत उनलाई झापा-५ मा पराजित गर्ने पात्रको खोजी गर्न सकेको छैन।

त्यसको पहिलो कारण हो, झापा ५ मा ओली आफैँमा बलिया छन्। स्थानीय तह निर्वाचन-२०७९ को मत परिणामअनुसार झापा-५ मा अन्य सम्पूर्ण दलहरुको मत र एमाले एक्लैको मत हाराहारी छ।

स्थानीय तह निर्वाचनको मत परिणामले झापा-५ मा पाँच दलीय सत्ता गठबन्धन र सत्ता बाहिर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिलेर लड्दा पनि एमाले अध्यक्ष ओलीलाई हराउन हम्मे पर्ने देखिन्छ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा झापा-५ एमालेको मत ४१ हजार ६१९ छ। यस्तै गठबन्धन र राप्रपाको मत जोड्दा झापा-५ मा ४३ हजार १५१ मत ओलीको विपक्षमा छ।

निर्वाचन आयोगका अनुसार झापा-५ मा कांग्रेसको २२ हजार २२, माओवादीको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३, नेकपा एकीकृत समाजवादीको १ हजार ९८८ मत छ।

स्थानीयको नतिजाले उत्साहित गठबन्धन
स्थानीय तह निर्वाचनको मत परिणामले झापा-५ मा एमाले र अन्य सम्पूर्ण दलको मत झण्डै बराबर भए पनि झापा कांग्रेसका सभापति देउमान थेबे आशन्न निर्वाचनमा ओलीलाई पराजित गर्न सफल हुनेमा आशावादी देखिन्छन्। 

‘स्थानीय तहको चुनावमा उहाँ (ओली) कै पालिकामा हामीले जितेका छौँ,’ उनी भन्छन्, ‘उहाँ त्यहीँ हारिसक्नुभएको छ। संसदीय चुनावमा हामी जित्छौँ।’

सत्ता गठबन्धन र गठबन्धनमा नरहेका अन्य दलहरु मिलेर पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गर्ने तयारी हो भन्ने प्रश्नमा भने सभापति थेबेले घुमाउरो पारामा जवाफ फर्काए।

‘सबै मिलेर हराउने भन्ने हुँदैन, जिताउने पक्षमा छैनौँ,’ उनले नेपालखबरसँग भने, ‘चुनावमा आफूसँग लडेको व्यक्तिलाई जिताउने पनि हुँदैन होला नि।’

थेबेले संघीय निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गर्ने पात्रका बारेमा भने अझै छलफल सुरु भइनसकेको प्रतिक्रिया दिए। ‘उम्मेदवारीको विषय प्रारम्भ भएको छैन, अब सुरु हुन्छ,’ उनले भने, ‘हामी गठबन्धनमा छौँ। गठबन्धनमा रहेका दलहरुबाटै हाम्रो उम्मेदवार हुन्छ।’

एमाले अध्यक्ष ओलीसँग २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित कांग्रेस नेता खगेन्द्र अधिकारीले फेरि प्रतिस्पर्धामा उत्रन आकांक्षा देखाइरहेका छन्। गत प्रतिनिधिसभा निर्वाचनमा ओली २८ हजारभन्दा धेरै मतान्तरले विजयी भएका थिए। 

उनी ५७ हजार १३९ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए।

कांग्रेसको भागमा झापा-५
वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीको चुनाव क्षेत्र कांग्रेसले लिने सहमति दलहरूका बीचमा भएको थियो। चुनावी तालमेल गरेका गठबन्धनमा रहेका चार दल र राप्रपाबीच झापा-५ कांग्रेसलाई दिने समझदारी भएको हो।

माओवादी केन्द्रका प्रदेश १ कमिटी कोषाध्यक्ष गगन पुरीले स्थानीय चुनावकै बेला झापा-५ कांग्रेसलाई दिने सहमति दलहरूका बीचमा भएको जानकारी दिए।

‘स्थानीय चुनावका बेला कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राप्रपाका बीचमा संघ र ५ ‘क’ कांग्रेसले लिने सहमति भएको छ । प्रदेशसभाको ५ ‘ख’ माओवादीले लिने समझदारी भएको छ,’ पुरीले भने, ‘त्यही मुताबिक मैले मेयर छाडेर राप्रपालाई दिएको हुँ।’

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भएको समझदारी अनुरुप झापा-५ मा कांग्रेसले गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुपर्ने माओवादीको भनाइ छ। तर, ५ ‘ख’ सँगै कांग्रेसले विनाशर्त प्रतिनिधिसभा क्षेत्र पनि दियो भने माओवादी उम्मेदवार उठाउन तयार देखिन्छ।

‘सहमतिअनुसार यो क्षेत्र कांग्रेसको भागमा हो। तर, प्रदेश ‘ख’ सहित संघ दिन कांग्रेस तयार भए पछि हट्दैनौँ,’ प्रदेश कोषाध्यक्ष पुरीले भने, ‘प्रदेश ‘ख’ कुनै पनि हालतमा छोड्दैनौँ। प्रदेश छोडेर संघ लिनेमा पार्टीको सहमति हुँदैन।’

उनले झापा-१ र झापा-२ छोडेर पनि झापा-५ नलिने पनि प्रष्ट पारे।

हेभिवेट नेता छैन कांग्रेससँग
सत्ता साझेदारहरू र राप्रपाले झापा-५ कांग्रेसका लागि छोड्ने समझदारी गरे पनि ओलीसँग प्रतिस्पर्धा गर्न कांग्रेससँग ‘हेभिवेट’ नेता छैनन्। झापाबाट राष्ट्रिय राजनीतिमा परिचित नाम हुन कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा। तर, उनीहरु दुवै झापाका अन्य निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै आएका छन्।

पूर्वमहामन्त्री सिटौला झापा-३ र महामन्त्री शर्मा झापा-१ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै आएका छन्। आसन्न निर्वाचनमा पनि दुवै नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन्।

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलमा प्रतिनिधित्व गर्ने एक नेताले झापा-५ मा कांग्रेससँग ‘हेभिवेट’ नेता नभएको बताए।

‘निर्वाचन क्षेत्रका हिसाबले झापा-५ मा कांग्रेसको हाई प्रोफाइल मान्छे नै छैन,’ ती नेताले भने, ‘विश्वप्रकाशजी लडून् भन्ने केहीको चाहना देखिन्छ। तर, स्थानीय मिडियम स्तरका नेताहरु आफैं लड्ने, हारे पनि हार्ने भन्नेमा पनि देखिनुहुन्छ।’

राप्रपाले गठबन्धनलाई सघाउने
आसन्न निर्वाचनमा झापा-५ मा राप्रपाले सत्ता गठबन्धनलाई सघाउने भएको छ। स्थानीय तह निर्वाचनमा भएको सहमतिअनुसार राप्रपाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सघाउने भएको हो।

माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष पुरीले आगामी निर्वाचनमा राप्रपा र सत्ता गठबन्धन सँगसँगै रहने पूर्वसहमति रहेको जिकिर गरे। राप्रपाले केन्द्रमा एमालेसँग चुनावी तालमेल गरे पनि झापा-५ मा केन्द्रीय सहमति लागु नहुने उनको दाबी छ।

‘राजेन्द्र लिङ्देनजीसँग आज पनि मेरो कुरा भएको छ। मेयर (दमक नगरपालिकाका प्रमुख राम थापा) र मेरो बीचमा भएको सहमतिमा उहाँले कुनै हस्तक्षेप गर्नुहुन्न भन्ने ग्रिन सिग्नल पाएका छौँ,’ पुरीले भने, ‘यही शर्तमा मैले मेयर छोडेको हुँ।’

ओलीसँग भिड्न रञ्जित इच्छुक
माओवादी केन्द्रको भ्रातृ संस्था अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ एमाले अध्यक्ष ओलीसँग चुनावी प्रतिष्पर्धा गर्न इच्छुक छन्। 

उनले केही दिन अघि पार्टीले जिम्मेवारी दिए आफू झापा-५ मा निर्वाचन लड्न तयार रहेको बताएका थिए।

नेपालखबरसँगको कुराकानीमा पनि तामाङले आफू ओलीको क्षेत्रबाट उम्मेदवार हुने सम्भावना रहेको प्रतिक्रिया दिएका छन्।

‘केपी ओलीको क्षेत्रमा म उठ्ने सम्भावना बढी छ। तर, पहिला टिकट पाउनु पर्यो। त्यो कन्फर्म भएको छैन। यस बारेमा अध्यक्ष (प्रचण्ड) लाई सोध्दा उहाँले छलफल भइरहेको छ टुंगिएको छैन भन्नुभयो,’ उनले भने, ‘सम्भावना के हुन्छ, म आफैंले भन्दा मेरो उम्मेदवारीलाई पार्टीले प्रभावकारी रुपमा निर्णय गर्छ जस्तो लाग्छ।’

त्यस्तै माओवादीबाटै ओलीसँग भिड्ने इच्छा देखाउने नेतामा गगन पुरी पनि हुन्। 

उनले आफू झापा ५ बाट प्रदेश र संघ दुवैमा उठ्न तयार रहेको बताउँदै आएका छन्। तर, उनले पहिलो इच्छा भने प्रदेशसभामा देखाएको उनीनिकटहरु बताउँछन्। 

अर्कातिर कांग्रेसबाट २०७४ मा पनि ओलीसँग भिडेका खगेन्द्र अधिकारीले पनि फेरि मैदानमा उत्रिन इच्छा देखाएका छन्। 

त्यसैगरी कांग्रेसमा डा. शेखर कोइरालानिकट मानिने नेता मेदनी सिटौलाले पनि ओलीको चुनाव क्षेत्रबाट उठ्ने चर्चा चलेको छ। उनी कांग्रेसको चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .