नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले नरोक्ने बताएका छन्।
पाँच दिने जापान भ्रमण पूरा गरेर बुधबार काठमाडौं आइपुगेका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।
चर्को विवादबीच संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि उक्त विधेयक अहिले राष्ट्रपतिको कार्यालयमा छ।
तर चर्को विवादमा परेको उक्त विधेयकलाई लिएर कानुनी परामर्श गर्ने भन्दै राष्ट्रपति भण्डारीले रोकिराखेपछि दाहालले ढिला गरेर ठीक नभएको बताए।
'राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न', पत्रकाहरुको जिज्ञासामा उनले भने, 'विधेयक जारी गर्न पनि ढिला गर्नु हुँदैनथ्यो।'
यसअघि जापानमा पनि प्रचण्डले संसदबाट प्रमाणित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे फेरि सरकारले पठाउने बताएका थिए।
जापानको पाँच दिने भ्रमणमा रहेका प्रचण्डले मंगलबार त्यहाँ रहेका पत्रकारसँग कुरा गर्दै भनेका थिए,‘नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नुहुन्न।’
यदि फिर्ता गरे सरकारले फेरि पठाउने र त्यसबेला राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने दाबी उनको थियो।
‘फिर्ता गर्नुहुन्न। गरिहाले सरकारले अगाडि बढाएपछि रोक्ने कुरा हुँदैन,’ प्रचण्डले भनेका थिए, ‘त्यसले राम्रो हुँदैन फेरि जान्छ र हस्ताक्षर गर्नैपर्छ।’
नागरिकता विधेयकले लाखौं नेपालीलाई नागरिकता लिन सहज भएको प्रचण्डले जिकिर गरेका थिए।
प्रतिक्रिया