ad ad

राजनीति


तीन दल मिलाएर एमालेसँग गठबन्धन गर्ने बाबुरामको योजना

लोसपासँग बाबुराम भट्टराई मिल्ने सम्भावना कति?
तीन दल मिलाएर एमालेसँग गठबन्धन गर्ने बाबुरामको योजना

सागर न्यौपाने
साउन २३, २०७९ सोमबार ९:२३, काठमाडौँ

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्नेगरी छलफल थालेको छ।

डा. भट्टराई निकट स्रोतका अनुसार विभिन्न च्यानलबाट अनौपचारिक छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नै डा. भट्टराईले सम्वाद गरिरहेको स्रोतको दाबी छ।

पाँचदलीय सत्ता गठबन्धनले अन्य दलसँगको गठबन्धनको ढोका बन्द गरेपछि डा. भट्टराई विकल्पसहित छलफल थालेका हुन्।

‘सकभर सत्ता गठबन्धनमै रहने प्रयास छ, तर अस्ति (२० साउन) को गठबन्धनको निर्णय फरक खालको आयो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले एमाले र गठबन्धन दुवैसँग प्रत्यक्ष÷अप्रत्यक्ष संवाद भइरहेको छ।’

अप्रत्यक्ष कुराकानीमा टेलिफोन सम्वाद र डा. भट्टराईले खटाएका नेताहरुको सहभागिता छ। नेसपाका एक उच्च नेताका अनुसार महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित एमालेबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको बताए।

एमाले अध्यक्ष ओलीसँग विभिन्न स्रोतबाट दैनिक छलफल भइरहेको दाबी गरे।​ नेसपाका ती नेता भन्छन्, ‘अहिलेको सिनारियो हेर्दा हाम्रो एमाले, लोसपा र रेशम चौधरीको पार्टीबीच चुनावी तालमेलको सम्भावना बढेर गएको छ,’ ती नेताले ठोकुवा गर्दै भने, ‘अन्य कुनै कारण रोकिएन भने केही दिनमै यसबारे औपचारिक छलफलसहित निर्णय गराउने तयारी छ।’

एमालेका महासचिव शंकर पोखरेलले कुनै ठोस कुरा नभएको प्रतिक्रिया दिए। एमालेले चुनावको विषयमा ठोस छलफल कसैसँग गरेको छैन,’ पोखरेलले नेपालखबरसँग भने।

पाँच दलीय गठबन्धनमा रहने, कांग्रेसबाहेक अन्य दलबीच एउटै चुनाव चिन्हमा उम्मेदवारी दिन तयार रहेका भट्टराईले अन्तिम समयमा गठबन्धनले आफूसँग सल्लाह नगरेकोमा गुनासो गरेका छन्।

जसपा पुनर्गठन गरेर भट्टराईले १२ साउनमा लोकतान्त्रिक समाजवादी पार्टीको नाम परिमार्जन गरेर नेसपा बनाई निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्। सो नयाँ पार्टीको २१ साउनमा केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो। केन्द्रीय समितिको बैठकले १८९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। डा. भट्टराई र महिन्द्र राय यादव अध्यक्ष चयन भएका छन्।

नयाँ पार्टीको नेतृत्वको पूरै जिम्मा लिएपछि भट्टराईले आगामी चुनावको तयारी सुरु गरेका छन्। नेसपाका अध्यक्ष महिन्द्र राय यादव भने अहिले पनि पाँच दलीय गठबन्धनसँग मिलेर जाने सम्भावना रहेको बताउँछन्। त्यसका लागि छलफल हुने उनले बताए।

‘हामी सत्ता गठबन्धनबाट बाहिर हुँदैनौँ, मिलेर चुनावमा जान्छौ,’ यादवले भने, ‘अब केही दिनमै गठबन्धनमा हामी रहेको सहमति हुन्छ।’

गोरखाको क्षेत्र नम्बर २ बाट चुनाव लड्न भट्टराईले एमालेसँग मिल्दा सहज हुने उनी पक्षीय नेताहरुको विश्लेषण छ। एमाले गोरखामा तेस्रो स्थानमा छ। पहिलो स्थानमा माओवादी छ।

भट्टराईको आफ्नै व्यक्तिगत केही मत पनि छ। एमालेको मत र भट्टराईको केही मत सहित माओवादी खेमाको पनि मत पाउने उनको विश्वास छ।

उता सर्लाही २ बाट २०७४ को प्रतिनिधि सभा निर्वाचन जितेका महिन्द्र राय यादव गठबन्धनबाहिरबाट चुनाव जित्न मुश्किल पर्ने देख्छन्।

पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्दा भट्टराई र यादवको अवस्था के हुने निश्चित छैन। ०७४ को चुनावमा भट्टराईले गोरखामा कांग्रेससँग गठबन्धन गरेर जित्न सफल भएका थिए। यादव भने तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट चुनाव जितेका थिए।

राजपा अहिले विभाजित छ। एउटा पक्ष जसपामा मिसिएको छ। अर्काे पक्षको नेतृत्व महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ।

मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्न डा. भट्टराई आँफैले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका थिए।

पार्टी एकताकै लागि तयार रहेका भट्टराई नाममा सहमति जुट्न नसकेपछि एकताका लागि तयार भइसकेका छैनन्। उता जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रचण्डको नियमित सम्पर्क र छलफल भइरहेको थियो।

जसपाबाट विभाजन भएकैले यादवले भट्टराईलाई गठबन्धनमा राख्न चाहेका छैनन्। गठबन्धन बैठकमा पनि पाँच दलबाहेक अन्यसँग गठबन्धन नगर्ने सहमति गराउने यादवकै भुमिका रहेको डा. भट्टराई पक्षीय नेताहरु बताउँछन्।

लोसपासँग बाबुराम भट्टराई मिल्ने सम्भावना कति?
बाबुराम भट्टराईले लोसपा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच पनि चुनावी तालमेल गर्ने प्रयास गरिरहेका छन्। तर, लोसपा भने कांग्रेससँगै गठबन्धन गर्नुपर्ने पक्षमा रहेको वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए । त्यसबारे छलफल गर्न लोसपाले २३ साउनमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

‘कांग्रेसकै गठबन्धनमा मिलेर जाने हामीले भनेका छौँ, हाम्रो मागमा रहेको नागरिकताको विषय टुंगो लागेको छ, अब कार्यकर्ताको मुद्दा फिर्ता प्रक्रिया अघि बढ्छ भन्ने विश्वास छ,’ लोसपाका वरिष्ठ नेता भण्डारीले नेपालखबरसँग भने, ‘यो मुद्दा टुंगो लागेन भने विकल्पमा सोच्छौं।’

भण्डारीले कांग्रेससँग निरन्तर छलफल भइरहेको जानकारी दिए।

‘अहिलेसम्म हामीले कोसँग गठबन्धन गर्ने निर्णय गरिसकेका छैनौ, तर एमालेसँग पनि नियमित सम्पर्कमा रहेर छलफल भइराखेको छ,’ भण्डारीले थपे।

बाबुराम भट्टराई आफ्नै किसिमले दौडिरहेकाले मिलेर चुनावमा जाने विषयमा अहिलेसम्म त्यस्तो औपचारिक छलफल नभएको भण्डारी दाबी गर्छन्।

‘बाबुरामजी आफ्नै किसिमले लडिराख्नुभएको छ, उहाँले मिलेर जाऊँ भनेको हकमा सोच्न सकिन्छ होला’, भण्डारीले भने, ‘अहिलेसम्म त्यसबारे औपचारिक जानकारी पार्टी बैठकमा आएको छैन।’

स्रोतका अनुसार भट्टराई र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच छलफल भइराखेको छ। चुनावको मिति घोषणा भएपछि नयाँ पार्टीभित्र निर्णय गर्न बाबुरामलाई सहज छ। त्यसमाथि आफ्नो निर्वाचन क्षेत्रमा जित्न महिन्द्र राय यादवलाई पनि बलियो शक्तिकै आड चाहिने भएकाले लोसपासँग चुनावी तालमेल हुने नेताहरु बताउँछन्

यदि सत्ता गठबन्धन नै उनीहरु मिसिएको हकमा भने लोसपासँगको तालमेल नहुने उनीहरुको विश्लेषण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .