ad ad

राजनीति


प्रचण्डलाई दिल्लीमा उच्च सुरक्षा, स्वागतमा भाजपाले रात्रिभोज दिँदै

मोदीसँग आइतवार बिहान भेट हुने सम्भावना
प्रचण्डलाई दिल्लीमा उच्च सुरक्षा, स्वागतमा भाजपाले रात्रिभोज दिँदै

भारतको राजधानी नयाँ दिल्लीमा प्रचण्ड। तस्बिर सौजन्य : इन्द्रकमल जैरू


नेपालखबर
असार ३१, २०७९ शुक्रबार १९:२, काठमाडौँ

नयाँ दिल्ली पुगेलगत्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता शुरु भएको छ। 

केहीबेरमा भारतीय जनता पार्टी (भाजपा) ले प्रचण्डको सम्मानमा नयाँ दिल्लीको मानसिंह रोडस्थित होटल ताजमा रात्रिभोज आयोजना गर्दैछ। 

उक्त रात्रिभोजमा भारतीय जनता पार्टीका वरिष्ठ नेताहरु, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा र भारतीय विदेश मन्त्रालयका अधिकारी सहभागी हुनेछन्। दाहाल शुक्रबार दिउँसो नयाँ दिल्ली पुगेका हुन्। 

प्रचण्डसहितको टोलीलाई होटल ताजमा राखिएको छ। प्रचण्ड बसेको होटल वरपर सुरक्षा सतर्कता उच्च बनाइएको छ। 

उनको सुरक्षामा नयाँ दिल्लीका वरिष्ठ प्रहरी अधिकारी खटिएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

‘उहाँ (प्रचण्ड) का लागि डीआईजी तहका भारतीय उच्च प्रहरी अधिकारीको कमाण्डमा सुरक्षाकर्मी खटाइएको रहेछ,’ स्रोतले भन्यो। 

प्रचण्ड शुक्रबार साँझ अबेरसम्म भाजपाले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्। 

शनिबार दिनभर प्रचण्डको ब्यस्त कार्यतालिका छ। उनी शनिबार बिहान नेपाली राजदूत डा. शंकर शर्माले उनको सम्मानमा दिने ब्रेकफास्टमा सहभागी हुनेछन्। 

दूतावासका कर्मचारी र माओवादी समर्थित भारतस्थित प्रवासी नेपाली उक्त ब्रेकफास्टमा सहभागी हुनेछन्। 

प्रचण्डलाई भोलि बिहान भारतीय विदेशमन्त्री जयशंकरले भेट्ने कार्यक्रम छ। भारतीय विदेश सचिव क्वात्राले पनि अलग्गै भेट्ने बताइएको छ। 

त्यसपछि उनी फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलिसी नामक संस्थाले आयोजना गर्ने नेपाल-भारत सम्बन्ध विषयक कार्यक्रममा प्रमुख वक्ता छन्। 

नेपालका लागि भारतीय पूर्व राजदूत, भाजपाका नेताहरु, विदेश मन्त्रालयका कर्मचारी र अन्र्तराष्ट्रिय मामिला विज्ञहरु कार्यक्रममा डाकिएका छन्। 

भोलि साँझ भारतीय विदेशमन्त्री जयशंकरले रात्रिभोज दिने कार्यक्रम छ। त्यहाँ भारतीय सरकारका मन्त्रीहरु पनि आमन्त्रित छन्। 

पर्सि आइतबार प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने उच्च सम्भावना रहेको अधिकारीहरुले बताए। 

मोदीसँगको भेटपछि दाहाल भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ। त्यहाँ भाजपाका अध्यक्ष जेपी नड्डाले प्रचण्डसँग भेटवार्ता गर्नेछन्। 

शुक्रबार दिउँसो इन्दिरा गान्धी विमानस्थलमा प्रचण्ड उत्रिँदा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र भारतीय विदेश मन्त्रालयका नेपाल डेक्स प्रमुख अनुराग श्रीवास्तव स्वागतमा पुगेका थिए। 

नेपाली राजदूत डा. शंकर र नियोग उपप्रमुख रामप्रसाद सुवेदी पनि स्वागतमा पुगेका थिए। 

भाजपा अध्यक्ष नड्डाको निम्तामा प्रचण्ड भारत गएका हुन्। उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .