राजनीति


उपसभामुखको निर्वाचनमा भोट नहाली प्रचण्ड भारततिर उड्ने

उपसभामुखको निर्वाचनमा भोट नहाली प्रचण्ड भारततिर उड्ने

फाइल फोटो


नेपालखबर
असार ३०, २०७९ बिहिबार २१:७, काठमाडौँ

शुक्रबार हुने उपसभामुखको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन। उनी शुक्रबार प्रतिनिधिसभा मतदान हुनुअघि नै भारतको नयाँ दिल्ली जाने भएका छन्।

प्रचण्डनिकट स्रोतका अनुसार उनी शुक्रबार दिउँसो साढे १ बजे दिल्लीका लागि उड्ने तालिका तय भएको छ। संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजेबाट उपसभामुखको निर्वाचन हुँदैछ।

‘भोलि दिउँसो साढे १ बजेका उहाँ (प्रचण्ड) भारत प्रस्थान गर्ने कार्यतालिका छ, उपसभामुखको निर्वाचनमा सहभागी हुन नपाउनुहुने भयो’, स्रोतले नेपालखबरसँग भन्यो।

स्रोतका अनुसार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन्। खुमलटार स्रोतले केही महिनाअघि नै प्रचण्डको भारत भ्रमणको योजना बनेको हो।

तर नेपालमा वाम गठबन्धन बनाउन चीन सक्रिय भएपछि त्यसलाई रोक्ने रणनीतिसहित भारतले प्रचण्डलाई दिल्ली बोलाएको हो।

प्रचण्ड दुई दिनसम्म भारतमा रहनेछन्। प्रचण्डले भाजपा मुख्यालय पनि भ्रमण गर्ने बताइएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि भाजपा मुख्यालय पुगेका थिए।

नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए।

नेपालमा बढ्दो अमेरिकी सक्रियता र चिनियाँ चासोबीच अध्यक्ष प्रचण्डको दिल्ली यात्रा तय हुनुलाई अर्थपूर्ण मानिएको छ।

यता, डा. शिवमाया तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिएपछि प्रतिनिधिसभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाको तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।

संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।

संवैधानिक परिषद बस्न नसकेको निष्कर्ष निकालेको सत्ता गठबन्धनले त्यसकै गाँठो फुकाउन केही महिनाका लागि उपसभामुख छान्दैछ। उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल विजयी हुने निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .