सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कडा कटाक्ष गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले एकजनाले बार्दलीबाट र अर्को जनाले देशको ढुकुटीमाथि बसेर देशलाई श्रीलंका बनाउन लागेको आरोप उनले लगाएका छन्।
‘मलाई शंका लागिरहेकै थियो, एकजना बार्दलीबाट यो देशलाई श्रीलंका बनाइ दिऊँ भन्दै थिए, अर्का ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिऊँ भन्दै थिए,’ सांसद महतले भने, ‘यी दुई जनामा नाता पर्छ कि जस्तो मलाई लागेको थियो। नभन्दै यिनी त बा र छोरा पो रहेछन्।’
उनले श्रीलंका जस्तै अहिले नेपाल पनि जलिरहेको बताए।
‘फेरि बार्दलीका हनुमान पनि हुन कि जस्तो लाग्थ्यो, नभन्दै यी हनुमान पनि रहेछन्। किनभने द्वापर युगमा श्रीलंका जलाइएको थियो,’ उनले भने, ‘अहिले पनि जलिरहेको छ। यी हनुमानले नेपाल पनि जलाउँछन् जस्तो लागेको थियो, नभन्दै अहिले जलाइरहेका छन्।’
उनले दुवैलाई बाँधेर राख्नुपर्ने तर्क गरेका छन्। ‘यिनलाई बाँधेर राख्नुपर्यो सभामुख महोदय! सरकारले भन्नुपर्यो यिनलाई बाँधेर राख्नुस् नत्र यिनले देशलाई जलाउँछन्,’ उनले भने।
Shares
प्रतिक्रिया