ad ad

राजनीति


समानुपातिकको लोभ : रवि लामिछानेको पार्टीले कटाउला त थ्रेसहोल्ड?

समानुपातिकको लोभ : रवि लामिछानेको पार्टीले कटाउला त थ्रेसहोल्ड?

नेपालखबर
असार २७, २०७९ सोमबार ८:२१, काठमाडौँ

विगत २०७४ सालको आम निर्वाचनका बेला रवीन्द्र मिश्र र उज्जवल थापाले संयुक्तरुपमा सम्हालेको विवेकशील साझा पार्टीको चहल–पहल व्यापक थियो।

देशैभरि पार्टीको प्रभाव विस्तार भइरहेको थियो। तर, दुर्भाग्यवश उनीहरुको पार्टीले अलिकति थोरै भोटको अभावमा राष्ट्रिय दलको मान्यता पाउन सकेन।

त्यस्तै, कमल थापा र राजेन्द्र लिङ्देन एकै ठाउँ रहेका बेला ०७४ को चुनावमा राप्रपाले पनि राष्ट्रिय मान्यता पाएन। राजनीतिक दलसम्बन्धी ऐनले तोकेको थ्रेसहोल्ड कटाउन नसकेपछि विवेकशील साझा र राप्रपाको अवस्था ‘कान्ला मुनि’ पर्न गयो।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ एउटा यस्तो फलामे गेट हो, त्यसलाई पार नगरी कुनै पनि पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउन सक्दैन।

ऐनको दफा ५२ मा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचनतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ।’

चुनावका बेला वैकल्पिक राजनीतिको नाम दिएर सुरु भएको विवेकशील साझा पार्टीको चर्चा व्यापक भए पनि थ्रेसहोल्ड कटाउन सकेन।

विवेकशील साझाले त्यसबेला २ लाख १२ हजार ३६४ मत प्राप्त गरेको थियो। जुन २ दशमलव २२ मात्र हुन आउँछ। रवीन्द्र मिश्र काठमाडौं १ मा थोरै भोटले हारे।

मिश्रले काठमाडौं १ बाट जितेको र समानुपातिकतर्फ ०.७८ प्रतिशत भोट बढाएको भए विवेकशील साझा राष्ट्रिय दल बन्न पाउने थियो। राष्ट्रिय दल बन्न नपाउँदा उसले पाएको २ लाख १२ हजार समानुपातिक मतबाट प्रतिनिधिसभामा सांसद चुनिन पाएनन्। समानुपातिक भोट खेर गयो।

उता, पुरानो पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षतर्फ एक सिट (राजेन्द्र लिङ्देन, झापा) जित्यो। तर, राप्रपाले   समानुपातिकतर्फ विवेकशील साझाको भन्दा पनि कम मत ल्यायो।

राप्रपाले समानुपातिकतर्फ १ लाख ९६ हजार ६८२ मत प्राप्त गरेको थियो। यो भनेको कुल सदर मतको २.०६ प्रतिशत मात्र हो। राप्रपाले ३ प्रतिशत मत कटाएको भए संसदमा राजेन्द्र लिङ्देनकाे साथमा अरु पनि समानुपातिक सांसदहरु थपिने थिए। तर, राप्रपामा परेको समानुपातिक भोट पनि खेर गयो।

बैकल्पिक राजनीतिको शुरुआत गर्ने भन्दै डा. बाबुराम भट्टराईको नेतृत्वमा खुलेको नयाँ शक्ति पार्टीले ०७४ को चुनावमा प्रत्यक्षतर्फ एक सीट जित्यो। तर, उसले पनि समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएन। जसले गर्दा बाबुरामको पार्टी पनि राष्ट्रिय दल बन्न सकेन। तत्कालीन नयाँ शक्ति पार्टीले एक प्रतिशतभन्दा कम अर्थात ०.९२ प्रतिशत मत प्राप्त गरेको थियो।

रविको पार्टीले कटाउला त थ्रेस होल्ड?

०७४ मा वैकल्पिक राजनीतिको सुरु गरेको दाबी गर्नेहरुले जस्तै अहिले सञ्चार कर्म छाडेर राजनीतिमा ‘उथलपुथल’ ल्याउने दाबी रवि लामिछानेले गरिरहेका छन्। उनी सभापति रहेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घन्टा छ।

विगतमा विवेकशील साझा वा नयाँ शक्ति पार्टीमा सामान्य लहर आएजस्तै अहिले स्वतन्त्रको पक्षमा लहर आएको देखेर पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका हुन्।

समानुपातिकमा झर्ने भोटलाई ‘क्यास’ गरेर प्रतिनिधिसभामा पुग्ने लक्ष राखेका लामिछानेले तीन प्रतिशत भोट कटाउन सकेनन् भने उनको पक्षमा खस्ने एक–दुईलाख समानुपातिक भोट राप्रपा, विवेकशील साझा र नयाँ शक्तिको जस्तै खेर जान सक्छ।

तीन प्रतिशत थ्रेस होल्ड कट्यो र प्रत्यक्षतर्फ पनि एक सिट जित हासिल भयो भने बल्ल रवि लामिछानेको पार्टीमा खसेको समानुपातिक भोट काम लाग्छ।  

उनले गत ७ असारमा राष्ट्रिय सभागृहबाट नयाँ दल घोषणा गर्दै गर्दा समानुपातिक भोट बटुल्ने बताएका थिए।

घोषणाका क्रममा देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले पार्टी  घोषणा गरेको बताएका थिए।  लामिछानेले स्वतन्त्र अभियानमा रहेकाहरुलाई आफ्नो पार्टीमा आवद्ध भएर उम्मेदवारी घोषणा गर्न आग्रह गर्दै समानुपातिकको भोटको प्रसंग उप्काएका थिए।

तर, यो प्रश्न निरुत्तरित छ– के रविको पार्टीले राजेन्द्र लिङ्देन, उज्जवल थापा, रवीन्द्र मिश्र वा डा. बाबुराम भट्टराईले गर्न नसकेको चमत्कार आगामी मंसिर २ मा हुने चुनावमा गर्न सक्ला ? वा समानुपातिकतर्फको केही लाख भोट खेर जाला?

०७४ मा पाँच दलमात्र ‘राष्ट्रिय पार्टी’

यसअघि भएको ०७४ को प्रतिनिधिसभा निर्वाचनबाट ५ वटा दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाए। जबकि ४९ वटा राजनीतिक दलले समानुपातिक सांसदका लागि निर्वाचन आयोग समक्ष बन्दसूची पेश गरेका थिए।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले थ्रेस होल्ड कटाएका हुन्।

नेकपा एमालेले ११०, नेपाली कांग्रेसले १०९, नेकपा माओवादी केन्द्रले १०९, राष्ट्रिय जनता पार्टीले ९३ र संघीय समाजवादी फोरमले १०९ जनाको नाम बन्दसूचीका लागि पठाएका थिए।

प्रतिनिधिसभा निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो। कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो भने माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको थियो। त्यस्तै, राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत समानुपातिकतर्फ प्राप्त गरेका थिए।

यो मतका आधारमा एमालेले ४१ जना समानुपातिक सांसद पाएको थियो। कांग्रेसले ४०, माओवादीले १७, राजपाले ६ र फोरमले ६ सिट समानुपातिकतर्फबाट हात पारेका थिए।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका कुल १६५ सिटमध्ये एमाले ८०, माओवादी केन्द्र ३६, कांग्रेस २३,  राजपा ११ र संघीय समाजवादी फोरम १० सिटमा विजयी बनेका थिए ।

राष्ट्रिय मान्यता प्राप्त गर्न नसके पनि नयाँ शक्ति, नेमकिपा, राष्ट्रिय जनमोर्चा र राप्रपाले प्रत्यक्षतर्फ एक–एक सीट जितेका थिए । त्यस्तै, हुम्लाबाट एकजना स्वतन्त्र सांसद निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .