नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले कुनै प्रभाव पार्न नसक्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवार बसेको सचिवालय बैठकपछि बोल्दै एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरुङले यसो भनेका हुन्।
'वामदेवको पार्टीले ठूलो प्रभाव पार्दैन, गति पनि लिन सक्दैन', उनले अगाडि भने, 'त्यसबारे चर्चा गर्नुको अर्थ नै छैन।'
त्यसक्रममा गुरुङलाई सञ्चारकर्मीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको सहकार्यबारे प्रश्न गरेका थिए।
तर गुरुङले अहिलेसम्म पार्टीले घोषित रुपमा कुनै दलसँग संवाद अघि नबढाएको बताए। तर चुनावी तालमेल या गठबन्धनका लागि व्यक्तिगत तहमा भने वार्ता भइरहेको उनले स्वीकारे।
'अहिलेसम्म घोषित रुपमा कसैसँग वार्ता भएको छैन। माओवादी र एकीकृत समाजवादीसँग पनि संस्थागत रुपमा कुरा भएको छैन', उनले भने, 'हामी प्रतिस्पर्धाको राजनीतिमा छौँ। यस्तोमा यी दुवै दलका नेताहरुसँग व्यक्तिगत रुपमा कुराकानी भइरहेको छ। हामीबीचको कुरा कुरा नेगेटिभ पनि छैन।'
Shares
प्रतिक्रिया