राजनीति


प्रशिक्षण झलनाथ र माधव नेपालको, कुरा केपी ओलीको

हारे पनि गठबन्धन बचाउने, रौतहट र मधेशसँग खुसी
प्रशिक्षण झलनाथ र माधव नेपालको, कुरा केपी ओलीको

नेपालखबर
असार १४, २०७९ मंगलबार २२:३६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले सोमबार र मंगलबार दुईदिन लगाएर केन्द्रीय परिषद बैठक सम्पन्न गरेको छ। 

केन्द्रीय सचिवालय, पोलिटब्युरो, केन्द्रीय कमिटी हुँदै केन्द्रीय परिषद बैठकसम्म आइपुग्दा समाजवादी निरन्तर चलायमान देखियो।

अध्यक्ष माधवकुमार नेपालले पहिलो दिन सोमबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय परिषद बैठकमा ११ समूहबीच छलफल भयो। 

कमलादीस्थित प्रज्ञा भवनमा दुई दिन चलेको बैठकमा प्रदेशगत छलफलपछि अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले जवाफ दिएका छन्। 

सबै शक्ति निर्वाचनमा 
बैठकले पार्टीको सम्पूर्ण शक्ति आगामी आम निर्वाचनमा केन्द्रीत हुने निर्णय गरेको छ। केन्द्रीय परिषद बैठकका निर्णय सुनाउँदै पार्टी प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले यसबारे जानकारी दिए। 

‘चुनावी गठबन्धनमा कुनै द्विविधा छैन,’ खतिवडाले भने, ‘विगतका कमजोरी सच्याउँदै अघि बढ्छौँ। हामी चुनावको पक्षमा छौं। चुनावका लागि सम्पूर्ण शक्तिसहित अघि बढ्छौँ।’

उनले वाम ध्रुवीकरणका लागि सबै दलहरूलाई आह्वान गरिएको बताए। 

‘वाम ध्रवीकरणको विषयमा चर्चा भएको छ। वामहरु मिल्ने सोच र चिन्तनसहित अघि बढ्ने हो,’ उनले भने, ‘हाम्रो तर्फबाट वाम दललाई आह्वान गरेका छौं। हामी वामहरुको एउटा ध्रुव निर्माण हुन सक्छ वा सक्दैन भनेबारे छलफल हुन्छ।’

मंगलबार मात्रै वामदेव गौतमले घोषणा गरेको दल पनि आफ्नो पार्टीमा आउनसक्ने उनको आशा थियो। ‘वामदेव कमरेडले बनाएको दल पनि भोलि आउन सक्छ,’ खतिवडाले भने, ‘तर हामी जाने भनेको कुरा त आश्चर्यजनक हुन्छ।’

उनले गठबन्धन जोगाएर जाने कुरामा अधिकतम् प्रयास गरिने बताए। यद्यपि देशको राजनीति अनुसार जे पनि हुनसक्ने उनी बताउँछन्।  

‘गठबन्धन भएमा त्यहीअनुसार जान्छौँ, गठबन्धन नहुन पनि सक्छ राजनीति हो’, उनले भने, ‘हामी गठबन्धनलाई प्राथमिकता दिन्छौं।’

खनाल–नेपालको जवाफ
समाजवादीले निर्वाचनका असन्तुष्टिबीच पाँच दलीय गठबन्धन जोगाउने तर आफ्नो बलमा उभिन देशभर कार्यकर्ता खटाउने निर्णय पनि गरेको छ। 

केन्द्रीय परिषद् बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल भयो। विभिन्न ११ समूहमा भएको छलफलका निष्कर्ष समूह नेताले बैठकमा प्रस्तुत गरे। 

प्रदेश १ बाट अर्जुन राई, मधेश प्रदेशबाट सुधीर साह, बागमतीबाट सूर्यचन्द्र न्यौपाने, गण्डकी प्रदेशबाट प्रतापलाल श्रेष्ठ, लुम्बिनीबाट नरेशकुमार भण्डारी, कर्णालीबाट अमरबहादुर थापा र सुदूरपश्चिमबाट हर्कबहादुर सिंहले बैठकमा निष्कर्ष सुनाएका थिए। 

त्यस्तै, केन्द्रीय विभागबाट कृष्णबहादुर सापकोटा, काठमाडौं उपत्यका कमिटीका तर्फबाट विजय गुरुङ, विभिन्न आयोगका तर्फबाट विद्या ढकाल र केन्द्रीय सल्लाहकारबाट मोहन केसीले निष्कर्ष सुनाए। 

समूह नेताबाट आएको निष्कर्षसहित उठेका प्रश्नहरुको जवाफ अध्यक्ष नेपाल र सम्मानित नेता खनालले दिए।

ओली र एमालेको आलोचनामा झलनाथ
समूहगत छलफलपछि बैठकमा जवाफ दिन उभिएका नेता खनालले लामो समय आफ्ना भनाइ राखे।

नेता खनालले अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओली र उनले नेतृत्व गरेको एमालेको आलोचनामा बिताए। 

युक्रेन युद्धले नेपालमा पारेको प्रभाव, पछिल्लो अर्थतन्त्रको अवस्था, अहिलेसम्म गठबन्धन दलको विश्लेषण, स्थानीय चुनावको नतिजा लगायतमा पनि उनले लामो बोले।

ओलीकै कारणले सिंगो पार्टीपंक्ति समस्यामा परेको स्मरण गर्दै उनले अबको बाटो समाजवादतर्फको हुनपर्ने तर्क गरेका थिए। 

‘केपी ओलीकै कारण धेरै कुरा अघि बढ्न सकेको छैन,’ उनले सम्बोधनका क्रममा भने, ‘ओलीकै कारण सिंगो पार्टी पंक्तिले पीडा खेप्नपुर्‍यो, ओली गुटले देशलाई गलत दिशामा लगिरहेको छ।’

अहिलेको एमाले नवौँ महाधिवेशनअघिको जस्तो नभएको भन्दै एमाले कार्यकर्ताहरु अत्याचारमा पिल्सिरहेको उनको तर्क थियो। 

‘नवौँ महाधिवेशनअघिको एमाले अब रहेन,’ खनालले केन्द्रीय परिषद बैठकमा सम्बोधन गर्दै भने, ‘एमाले नेता कार्यकर्ता कयौं अत्याचारमा पिल्सिँदै गएका छन्, अब हामी हाम्रो पार्टीलाई क्रान्तिकारी शैलीमा अघि बढाउनुपर्छ।’

उनले ओलीको अहंकारका कारण आफूहरु पार्टी विभाजन गर्नुपरेको कुरा नेता कार्यकर्ताकामाझ राखेका थिए। 

एकीकृत समाजवादीले स्वतन्त्र नीति अवलम्बन गर्दै अबको यात्रा तय गर्नुपर्ने खनालको भनाइ थियो। ‘हामी वैज्ञानिक समाजवादबारे सोचेर अघि बढेका छौं,’ उनले भने, ‘हाम्रा नीति आत्मसाथ गर्दै अबको यात्रा तय गर्नुपर्छ।’

संयुक्त मोर्चाबाट मात्रै पार्टी नबन्ने खनालको जिकिर थियो। ‘हामी समाजवादी क्रान्ति र रुपान्तरणको यात्रामा छौं। यो यात्रामा सबै अडिग भएर अघि बढौँ,’ उनले नेता कार्यकर्तालाई निर्देशन दिँदै भने।

माधव नेपालले के भने?
बैठकको अन्तिममा अध्यक्ष नेपालले सम्बोधन गरेका थिए। उनले आगामी निर्वाचन, स्थानीय तह निर्वाचन समीक्षा, गठबन्धनको अवस्था, विश्व परिवेश र पार्टीको आगामी कार्यक्रमबारे चर्चा गरे।

नेता कार्यकर्तालाई नेपालले सिद्धान्त र कर्तव्यनिष्ठ हुन आग्रह गरे। 

केपी शर्मा ओलीले एमालेको नवौं महाधिवेशनसम्म पनि गणतन्त्रविरोधी कुरा गरिरहेको उनले सुनाए। 

‘तत्कालीन नेकपा एमालेको नवौं बैठक बसिरहेका बेला नेपालमा गणतन्त्र ल्याउन सम्भव छैन भनेर ओलीले भनिरहेका थिए,’ बैठकमा अध्यक्ष नेपालले भने, ‘तर हामी अगाडि बढ्यौं। उनका सपना चकनाचुर पार्‍यौं।’

निर्वाचन समीक्षा
अध्यक्ष नेपालले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोचेको जस्तो परिणाम ल्याउन असफल भएको बताए। 

‘यसपटक निर्वाचनमा अवश्य पनि सोचेको परिणाम ल्याउन सकेनौँ,’ उनले भने,‘यसपछिको कारण हामीभित्र पनि छ।’

आफ्नो दलले गठबन्धनको नारा बढी लाउँदा हार ब्यहोरेको निष्कर्ष नेपालले कार्यकर्तालाई सुनाए। 

‘हामीले गठबन्धन गठबन्धन मात्र भन्यौं,’ उनले समापन सम्बोधनमा भने, ‘प्रदेश १ बाट कमरेड घनेन्द्र बस्नेतले भन्नुभयो, हामी एक्लै अघि बढ्छौँ, मैले उहाँलाई धन्यवाद भनेँ।’

मतपत्रका कारण पनि आफूहरुको कमजोर नतिजालाई बल मिलेको उनले बताए। केन्द्रमा उचित समझदारी भए पनि तल्ला तहमा भने सोचेअनुरुप हुन नसकेको उनले कार्यकर्तालाई बताए। 

‘केन्द्रको समझदारी अनुचित होइन। महानगर र उपमहानगरमा ठिकै हो,’ उनले भने, ‘माओवादी र कांग्रेसको भूमिका ठिक रहेन। जसपा र जनमोर्चाको पनि तल्ला तहमा ठिक भूमिका रहेन।’

मधेश र रौतहटसँग खुसी
अध्यक्ष नेपालले मधेश प्रदेश र गृहजिल्ला रौतहटबाट आफू खुसी भएको सुनाए। ‘प्रदेश २ मा हामीले राम्रो गर्न सकेका छौँ,’ उनले भने, ‘अझ, रौतहटमा एक्लै लडेर पनि राम्रो नतिजा ल्यायौँ। सबैभन्दा बढी धन्यवाद मधेश प्रदेश र रौतहट लाई, जहाँ एक्लै लडेर पनि हामीले जित्यौँ।’

बागमती प्रदेशमा पनि हेटौँडा उपमहानगरपालिका जितेर इतिहास बनाएको उनले बताए। लुम्बिनीको दाङमा मतपत्र बदर हुँदा समस्या भएको उनले सुनाएका थिए। 

ओलीसँगको संघर्ष जारी
नेपालले तत्काल केपी ओलीसँग सहकार्य असम्भव भएको सुनाए।

‘केपी ओलीसँगको हाम्रो संघर्ष जारी छ। जसले हाम्रो अस्तित्व स्वीकार गर्दैन, तथानाम गाली गर्छ, अपमान गर्छ उनीहरुसँग हाम्रो सहकार्य सम्भव छैन्,’ नेपालले भने।

ओली वैचारिक रुपमा स्खलित भएको उनले जिकिर गरे। एमाले र ओलीको दृष्टिकोणमा विचलन देखा परेको आरोप लगाउँदै नेपालले एमसीसी र एसपीपी अघि बढाउने काम पनि उनैले गरेको बताए। 

आगामी चुनावसम्म एमाले र ओलीसँग सहकार्यको सम्भावना नभएको उनले खुलाए।

वामदेव, प्रचण्ड र नेपाललाई एकै कुरो
कार्यकर्तामाझ अध्यक्ष नेपालले नेकपाकालीन समय सम्झिँदै एकैदिन ओलीले धेरै नेतासँग एउटै प्रस्ताव राखेको खुलाए। 

वामदेव गौतम, पुष्पकमल दाहाल प्रचण्ड र आफूलाई एक एक घण्टाको फरकमा अध्यक्ष र प्रधानमन्त्रीको आश देखाएर ओलीले ढाँटेको पनि उनले बताए। 

‘तपाईं नै पार्टी को अध्यक्ष हुनुस्, प्रधानमन्त्री हुनुस् भनेर वामदेवलाई भन्नुभयो,’ नेपालले भने, ‘एक घण्टापछि मलाई भने । मैले भीम रावल र गोकर्ण विष्टलाई साक्षी लिएर गएँ, उहाँले अध्यक्ष तपाईं, प्रधानमन्त्री पनि केही समयपछि तपाईं नै भन्न भ्याए।’

आफू बालुवाटारबाट निस्किन नपाउँदै प्रचण्डलाई बोलाएर त्यही कुरा प्रस्ताव गरेको उनले बताए। ‘बेलुकी हामी तीनैजना भेट हुँदा मलाई पनि भनेको’थ्यो भन्छन् सबैजना, म त दंग परेँ।’

अबको चुनावसम्म ओलीका कुरा एउटा कानले सुनेर अर्को कानले उडाउन उनले कार्यकर्तालाई निर्देशन दिएका छन्। 

‘चुनावअघि यस्ता कुरा एउटा कानले सुन्ने अर्को कानले उडाउने हो,’ उनले भने, ‘केपी ओलीसँग मेरो २०३० सालदेखि सम्बन्ध हो। म बुझ्दिन र? उनका कुनै प्रस्ताव पत्याउनु हुन्न।’

ओलीमा कम्युनिस्ट चरित्र नभएकोदेखि देशभक्ति भाव उडेकोसम्म भन्दै आफ्नो अधिकांश समय नेपालले खर्चिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .