राजनीति


उपनिर्वाचन : ५२ पदका लागि ३७ जिल्लामा मतदान जारी

उपनिर्वाचन : ५२ पदका लागि ३७ जिल्लामा मतदान जारी

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ०:२८,

प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन भइरहेकाे छ।

त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका समय तोकिएको छ।

मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्धक्क भएर मतदान गर्न आयोगले मतदातालाई आह्वान गरेको छ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताएका छन्। 

साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकै घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने व्यवस्था छ।

कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन?
गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो। उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत थिए।

सहकर्मी वाशुदेव मिश्रका अनुसार यहाँको चुनावमा १० स्वतन्त्र सहित ११ राजनीतिक दलका उम्मेदवार गरि कुल २१ जना चुनावमा भिड्दै छन्। सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी चुनावी मैदानमा छन्।

त्यस्तै प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका हरिशरण लामिछाने, गण्डकी प्रदेश बागलुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुँदै छ। र, विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि आज मतदान हुँदै छ।

प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएकाे छ।

यी हुन् आज उपनिर्वाचन भइरहेका ठाउँ
कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर १ क, बागलुङ २ ख र दाङ ३ ख मा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिका प्रमुख चयनका लागि आज उपनिर्वाचन भइरहेको हो।
यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि लागि आज उपनिर्वाचन भइरहेको छ।

यी हुन् बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेका वडा
महोत्तरीको मटिहानी नगरपालिका–६, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, लमजुङको सुन्दरबजार नगरपालिका–२, बागलुङको बडीगाड गाउँपालिका–२, प्यूठानको ऐरावती गाउँपालिका–१ र २, सल्यानको कुमाख गाउँपालिका–५ र कञ्चनपुरको पुनर्वास नगरपालिका–३, पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, भोजपुरको पौवादुङमा गाउँपालिका–१, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगरपालिका–७, सङ्खुवासभाको खाँदबारी नगरापालिका–३, खोटाङको साकेला गाउँपालिका–३, सिरहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपालिका–२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, रौतहटको गढिमाई नगरपालिका–२, बाराको बारागढी गाउँपालिका–१, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, काठमाण्डौको दक्षिणकाली नगरपालिका–३, चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ र ५ मा वडाध्यक्ष।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, रोल्पाको थवाङ गाउँपालिका–१, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–६, बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मेल्लेख गाउँपालिका–५, डोटी आदर्श गाउँपालिका–२, बैतडीको पुर्चौडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ तथा कपिलवस्तुको शिवराज नगरपालिका–१० को वडाध्यक्षका लागि आज मतदान भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .