ad ad

राजनीति


नेपाल-चीनबीच सबै द्विपक्षीय संयन्त्र क्रियाशील गर्ने सहमति

जुन १ देखि छन्दु-काठमाडौँ उडानको तयारी
नेपाल-चीनबीच सबै द्विपक्षीय संयन्त्र क्रियाशील गर्ने सहमति

सन्तोष घिमिरे
जेठ ११, २०७९ बुधबार २२:४२, काठमाडौँ

नेपाल र चीनबीच द्विपक्षीय संयन्त्रका सबै संयन्त्र क्रियाशील गराउने सहमति भएको छ।  कूटनीतिक परामर्श संयन्त्रको बुधबार सम्पन्न १४ औं बैठकमा कोरोना महामारीपछिको सन्दर्भमा सहकार्य र समझदारीलाई अभिवृद्धि गर्न सबै द्विपक्षीय संयन्त्र क्रियाशील गराउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार नेपाल र चीनबीच सीमा र वाणिज्यसँग सम्बन्धित संयन्त्रका बैठक चाँडै गर्ने योजना छ। अन्य थुप्रै संयन्त्रका बैठक हुन सकेका छैनन्। 

त्यसैगरी आजको बैठकमा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरु समयमै सम्पन्न गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्। 

भर्चुअल माध्यमबाट भएको बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान तथा विगतमा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) फ्रेमवर्क अन्तर्गतका परियोजना कार्यान्वयन नभइरहेका बेला आजको बैठकमा विगतका सहमति र सम्झौताको कार्यान्वयनबारे चर्चा भएको हो। बीआरआईमा नेपाल साझेदार बनेको ५ वर्ष बिते पनि त्यसअन्तर्गत एउटा पनि परियोजनाले गति लिएको छैन। जसप्रति चीन असन्तुष्ट छ। चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको दुई महिनाअघि सम्पन्न नेपाल भ्रमणमा चीनले बीआरआई कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न चाहेको भए पनि परराष्ट्रमन्त्री नारायण खड्काले सम्झौतालाई थन्क्याइदिएका छन्।

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीनबाट ऋणभन्दा अनुदान सहायता बढी अपेक्षा गरेको बताएका थिए। त्यसको अर्थ चीनसँग बीआरआई अन्तर्गतका परियोजनामा व्यवसायिक ऋण नलिने सरकारको नीति रहेको विश्लेषण गरिएको थियो। 

बुधबार परराष्ट्रसचिव भरतराज पौड्याल र चीनका सहायक विदेशमन्त्री वु चियाङहाओबीच भर्चुअल माध्यमबाट बैठकमा चीनसँगको कनेक्टिभिटी लगायत सबै विषयमा छलफल भएको परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरे पनि बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनबारे केही उल्लेख छैन।

बैठकमा नेपाल—चीन सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै पारस्पारिक हितका लागि द्विपक्षीय सम्बन्ध र सहकार्य थप सुदृढ गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ। 

व्यापार, पारवहन, अन्तर्आबद्धता, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी विवारण, विपत् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सम्पर्क बढाउने लगायतका विविध क्षेत्रमा सहकार्य बढाउन नेपाल र चीन सहमत भएका छन्। 

बैठकमा परराष्ट्रसचिव पौड्यालले कोरोना महामारीका समयमा चीनले खोप तथा औषधि प्रदान गरेकामा धन्यवाद दिएका थिए। त्यस क्रममा चिनियाँ सहायक विदेशमन्त्रीले नेपालको स्वास्थ्य पूर्वाधार विकासमा सुधार ल्याउन र नेपालका चिकित्सकको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने विश्वास दिलाएका थिए। 

एक चीन नीतिको प्रशंसा 
चिनियाँ पक्षले नेपालको एक चीन नीतिप्रति बैठकमा प्रशंसा गरेको थियो। एक अधिकारीका अनुसार बैठकमा चिनियाँ सहायक विदेशमन्त्रीले चीनका ठोस स्वार्थ जोडिएका तिब्बत, हङकङ, मकाउ र ताइवान मामिलामा नेपालले चीनलाई दिँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। परराष्ट्रसचिव पौड्यालले नेपालले एक चीन नीति सदैव पालना गर्दै आएको बताएका थिए। 

नेपाल सरकारको अनुमतिबिनै तिब्बत हेर्ने अमेरिकी उच्च अधिकारी उज्रा जियाले चार दिनअघि तिब्बती शरणार्थीलाई भेटेकोप्रति चीन असन्तुष्ट बनेको चर्चा भइरहेका बेला नेपाल र चीनबीच कूटनीतिक परामर्श संयन्त्र बैठक आयोजना भएको हो। 

भारतको धर्मशालामा चीनले पृथकतावादी मान्दै आएका दलाई लामालाई भेटेर नेपाल आएकी अमेरिकी उपविदेशमन्त्री जियाले यहाँ गत शुक्रबार र शनिबार दिउँसो तिब्बती शरणार्थी र दलाई लामाका सांसदसँग घण्टौँ बैठक गरेकी थिइन्। त्यसको ठिक भोलिपल्ट आइतबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा अमेरिकी उपविदेशमन्त्री जियाले तिब्बती शरणार्थीका समस्याबारे चासो राखेकी थिइन्। उनले सन् १९८९ यता नेपाल आएर जन्मेका तिब्बतीका सन्तानलाई नागरिकता वा कुनै परिचयपत्रको ब्यबस्था गर्न आग्रह गरेकी थिइन्। तर मन्त्री खाँणले सन् १९८९ अघिका तिब्बतीलाई मान्यता दिइसकिएको बताएका थिए। 

गत शनिबार तिब्बती शरणार्थी र दलाई लामाका सांसद भेटेकोबारे जानकार रहेका मन्त्री खाणले अप्रत्यक्ष रुपमा असन्तुष्टि जाहेर गरेका थिए। उनले अमेरिकी उपविदेशमन्त्रीलाई नेपाल भारत र चीनको सुरक्षा संवेदशनशीलतामा प्रतिबद्ध रहेको बताएका थिए। 

कुन्मिङपछि जुन १ देखि छन्दुमा पनि उडान 
बैठकमा चिनियाँ पक्षले कुन्मिङ सहरका अलावा छन्दुमा पनि चाँडै सिधा उडान सुरु गर्न लागिएको बताएको थियो। आउँदो साताबाट छन्दु र काठमाडौँबीच उडान सुरु हुने सरकारी अधिकारीहरुले बताए। 

बैठकमा परराष्ट्रसचिव पौड्यालले कोरोना महामारीबीच चीनबाट नेपाल आएपछि यतै रोकिएका नेपाल विद्यार्थीलाई चीन फर्काएर उनीहरुको अध्ययन नियमित गर्ने तयारी गरेकोमा चिनियाँ पक्षलाई धन्यवाद दिएका थिए। सचिव पौड्यालले नेपाली व्यापारी र उनका परिवारलाई चीनमा फर्किनका लागि सहजीकरण गरिदिन पनि आग्रह गरे। 

बैठकमा दुवै पक्षले चीन र उत्तरी हिमाली क्षेत्रसँग जोडिएका नेपाली जनताको जीवनस्तर सुधारमा अझ थप सहकार्य बढाउनेबारे जोड दिएका थिए। त्यसक्रममा नेपाल र चीनबीच विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा आपसी हितका सवालमा सहकार्य निरन्तर राख्ने बारे छलफल भएको थियो। 

बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी, चीनस्थित कार्यवाहक राजदूत लगायत सहभागी थिए। चिनियाँ पक्षबाट चिनियाँ विदेश मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूत सहभागी थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .