मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ ।
मौन अवधिमा मुस्लिम मतदातालाई फकाउन जनकपुरधामस्थित सीताशरण होटलमा बसेर पैसा बाँडेको आरोप उनीमाथि लागेको हो।
अन्सारी चार दिनदेखि होटलको ३०५ नम्बर कोठामा बसेर जनकपुरमा मेयर पदका स्वतन्त्र उम्मेदवार बनेका जानकीराम साहको पक्षमा लविङ गरिरहेका थिए।
साहको पक्षमा मतदान गर्न मतदातालाई प्रभावित पार्न खोजेको भन्दै एमालेका युवाहरु होटेल पुगेर तोडफोड र आक्रमण प्रयास गरेका थिए।
उनलाई त्यहाँबाट प्रहरीले सुरक्षितसाथ जनकपुर विमानस्थलसम्म पुर्याएका छन्।
विवाद भएपछि उनलाई सुरक्षितसाथ विमानस्थल पुर्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिएका छन्।
पैसा बाँडेको विषयमा आफूलाई केही थाहा नभएको उनले बताएका छन्।
होटलमा युवाहरुले उनलाई पक्राउ गर्न भन्दै नाराबाजी समेत गरेका छन्। तोडफोडको प्रयास गरेको आरोपमा एमालेका कही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
वडा नं. ७ का निवर्तमान वडाध्यक्ष जानकीरामले टिकट पाउने सम्भावना नदेखेपछि लोसपा छाडेर एमाले प्रवेश गरेका थिए।
उनलाई अन्सारीले नै ओलीको हातबाट टीका लगाएर प्रवेश गराएका थिए।
तर एमालेबाट मेयर पदमा शिवशंकर साह हीराले टिकट पाएपछि जानकीराम एक साता नबित्दै पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।
Shares
प्रतिक्रिया