ad ad

राजनीति


भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा ‘मानार्थ महाविद्यावारिधि’ दिने तयारी

भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा ‘मानार्थ महाविद्यावारिधि’ दिने तयारी

सन्तोष घिमिरे
बैशाख २६, २०७९ सोमबार १६:२९, काठमाडौँ

लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अनररी डक्टरेट’ अर्थात् मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ। 

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन लुम्बिनी भ्रमणमा आउँदैछन्। 

भ्रमणका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले महाविद्यावारिधिबाट सम्मान गर्न लागेको हो। 

विश्वविद्यालयको कार्यकारिणी सभाले मोदीलाई अनररी महाविद्यावारिधि दिने निर्णय गरिसकेको विश्वविद्यालय महासभाका सदस्य डा. रमेश ढुंगेलले  बताए।

‘भारतीय प्रधानमन्त्रीलाई अनररी डक्टरेट दिनका लागि प्रमाणपत्रसमेत तयार भइसकेको छ। अब विश्वविद्यालय महासभाले यस विषयमा अन्तिम निर्णय लिनेछ’ ढुंगेलले नेपालखबरसँग भने।
लुम्बिनी विश्वविद्यालयका चान्सलर प्रधानमन्त्री रहने व्यवस्था छ। 

भारतका तर्फबाट पनि विश्वविद्यालयमा अध्यक्ष राख्ने तयारी 
अर्को एक जानकार स्रोतका अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयमा भारतका तर्फबाट पनि अध्यक्ष राख्ने विषयमा नेपाल र भारत सरकारबीच छलफल जारी छ। 

‘भारत सरकारले नै तलबभत्ता र सुविधा व्यहोर्ने गरी लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्यक्ष राख्ने विषयमा कूटनीतिक तहमा छलफल भइरहेको छ। तर, निर्णय भइसकेको छैन’ स्रोतले भन्यो। 

जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी उत्तर प्रदेशको कुशीनगर हुँदै लुम्बिनी आइपुग्ने कार्यक्रम छ। लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले विशेष कार्यक्रमलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन्। नेपाल सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी पनि कार्यक्रममा सहभागी हुनेछन्।

लुम्बिनीमा प्रधानमन्त्री देउवा र मोदीबीच संक्षिप्त वार्ता पनि हुनेछ। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुशार मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा सम्भवतः मंगलबार हुनेछ। 

नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी तीब्र बनाएको छ। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष पूजाआजा तथा ध्यानमा मोदी सरिक हुनेछन्।

मोदीले मायादेवी मन्दिरमा डेढ घण्टा पूजाआजामा बिताउनेछन्। भारतीय प्रधानमन्त्रीले अशोक स्तम्भमा द्वीप प्रज्ज्वलन र पुष्करणि पोखरीको दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्नेछन्। 

मोदीको भ्रमणको कार्यतालिकामा काठमाडौं परेको छैन। बुद्ध जयन्तीका अवसरमा हुन लागेको मोदीको एकदिने भ्रमणलाई औपचारिक स्वरुप दिन लागिएको अधिकारीहरुले बताए।  

‘भ्रमणको तयारी चलिरहेको छ। सम्भवतः मंगलबार भ्रमणको औपचारिक घोषणा हुनेछ’ भ्रमणबारे जानकार एक सरकारी अधिकारीले नेपालखबरसँग भने। 

राष्ट्रसंघीय एजेन्सी युनेस्कोको निमन्त्रणामा मोदी लुम्बिनी भ्रमण गर्न लागेका हुन्। भारतीय विदेश मन्त्रालयले पनि भ्रमणबारे केही बताएको छैन।

मोदीको यो पाँचाैँ नेपाल यात्रा हुनेछ। उनी पहिलोपटक सन् २०१४ अगस्टमा नेपाल भ्रमणमा आएका थिए। त्यसपछि सार्क शिखर सम्मेलनमा भाग लिन सोही वर्षको नोभेम्बरमा उनी काठमाडौं आए। मोदी तेश्रो पटक सन् २०१८ को मे महिनामा नेपाल आएका थिए।

उनको चाैथाे भ्रमण २०१८ अगस्टमा भयो। नेपालले आयोजना गरेको बिमस्टेक शिखर सम्मेलनमा मोदीले सहभागिता जनाएका थिए। 

भारतीय प्रधानमन्त्री मोदी जनकपुर हुँदै काठमाडौं आएर बिमस्टेक शिखर सम्मेलनमा भाग लिएका थिए। उनले त्यसबेलै लुम्बिनी भ्रमण गर्न चाहे पनि सम्भव भएन।

लुम्बिनीमा तयारी तीब्र
भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तयारी तिव्र पारिएको छ। २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रम लागि मोदी हेलिकोप्टरबाट लुम्बिनी उत्रनेछन्। भ्रमण तयारीमा संलग्न अधिकारीहरुका अनुसार मोदीसहितको भारतीय प्रतिनिधिमण्डलको अवतरणका लागि चारवटा हेलिप्याड निर्माण जारी छ। 

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हलको पश्चिम तथा दुई नम्बर गेटको दक्षिणमा हेलिप्याड निर्माण जारी छ। हेलिप्याड निर्माणमा करिब ५० मजदुर खटिएका छन्। 
भारतले बौद्ध बिहार बनाउने 

भारत सरकारले लुम्बिनीमा बौद्ध बिहार निर्माण गर्ने भएको छ। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले बिहार निर्माण शिलान्यास गर्नसक्ने अधिकारीहरुले बताए। 

‘लगभग एक अर्ब भारतीय रुपैयाँमा तीनदेखि चार वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बिहार निर्माण गर्ने भारतको चाहना छ’ अर्का एक सरकारी अधिकारीले नेपालखबरसँग भने।

भारतको संस्कृति तथा पर्यटन मन्त्रालयले निर्माण गर्ने भनिएको बिहारसम्म जानका लागि बाटो निर्माणको काम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .