ad ad

राजनीति


एक कदम अघि बढेर सत्तागठबन्धनले धादिङमा टुंग्यायो जिल्ला समन्वयको समेत नेतृत्व

एक कदम अघि बढेर सत्तागठबन्धनले धादिङमा टुंग्यायो जिल्ला समन्वयको समेत नेतृत्व

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १६:१, काठमाडौँ

राजधानी काठमाडौंसँग सीमा जोडिएको धादिङमा  सत्तागठबन्धनमा सामेल दलहरुले स्थानीय निर्वाचनपछि हुने जिल्ला समन्वय समितिको भागबण्डा समेत टुङ्ग्याएका छन्।

सत्तारुढ दलहरुबीच देशभर भागबण्डा मिलाउन सकस भइरहेका बेला धादिङमा सत्तागठबन्धनले जिल्ला तहको नेतृत्व समेत टुङ्ग्याएको हो। 

निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन भएको दोस्रो सहमति अनुसार स्थानीय तह निर्वाचनपछि माओवादी केन्द्रले जिल्ला समन्वय समितिको संयोजक पाउने भएको छ भने एकीकृत समाजवादीले उपप्रमुख पाउने भएको छ। 

यसअघि आइतबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच जिल्ला समन्वय समितिको संयोजक नेपाली कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीले पाउने सहमति भएको थियो। यही सहमतिको हस्ताक्षरसहितको पत्र तीन दलले सार्वजनिक गरेका थिए। 

उपरोक्त हस्ताक्षर भएको सहमतिमा कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्री र एकीकृत समाजवादीका बागमती इञ्चार्ज केदारप्रसाद न्यौपानेले हस्ताक्षर गरेका थिए।

आइतबार विहान सार्वजनिक भएको उपरोक्त सहमतिपत्रमा जिल्लाका १३ पालिकामध्ये थाक्रे गाउँपालिकाको नेतृत्व कसले लिने उल्लेख थिएन। पाँच दलीय गठबन्धनको जिल्ला नेतृत्वले यो गाउँपालिकाको नेतृत्व टुङ्ग्याउने गरी बाँकी १२ पालिकाको भागबण्डा टुङ्ग्याएको थियो। 

थाक्रे गाउँपालिकाको नेतृत्वका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले दावी नछाडेपछि समस्या सिर्जना भएको थियो। तर, दिउँसो भएको जिल्ला गठबन्धनको बैठकमा माओवादी केन्द्र थाक्रे गाउँपालिकाको नेतृत्वको दाबीबाट पछि हट्यो भने आफूले पाइसकेको जिल्ला समन्वय समितिको प्रमुखको पद त्याग गर्न नेपाली कांग्रेस तयार भयो। 

थाक्रे गाउँपालिकाको प्रमुख पदमा पछि हटेको माओवादी केन्द्रले त्यहाँ उपप्रमुख पाउने भएको छ भने प्रमुख पद त्याग गरेपछि जिल्ला समन्वय समितिको प्रमुख पाउने भएको छ। जिल्ला समन्वयको उपप्रमुखको जिम्मेवारीमा भने एकीकृत समाजवादी यथावत रहनेछ। 


आइतबार दिउसो टुङ्गिएको भागबन्डा अनुसार नेपाली कांग्रेसले ८ पालिका प्रमुख र ४ उपप्रमुख, माओवादी केन्द्रले ३ पालिका प्रमुख र ५ उपप्रमुख र एकीकृत समाजवादीले २ पालिका प्रमुख र ४ उपप्रमुख पाउने भएको छ। 

कांग्रेसले नेतृत्व पाएका पालिकाहरुमा नीलकण्ठ नगरपालिका, खनियाँबास, गंगा–जमुना, नेत्रावती–डबजोङ्ग, त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक र थाक्रे गाउँपालिका छन् भने माओवादी केन्द्रले रुबिभ्याली, बेनीघाट–रोराङ्ग र गजुरी गाउँपालिका, एकीकृत समाजवादीले धुनीबेंसी नगरपालिका र गल्ती गाउँपालिका पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .