ad ad

राजनीति


पोखरामा ‘मान’ नपाएका माधव नेपालले मेयर ‘भाग’ पाए!

पोखरामा ‘मान’ नपाएका माधव नेपालले मेयर ‘भाग’ पाए!

वाशुदेव मिश्र
बैशाख ७, २०७९ बुधबार १३:१, पाेखरा

वि.स.२०३० जेठ ३० गते रौतहटबाट पक्राउ परेका हालका एमाले अध्यक्ष केपी ओली जेलसार हुँदै २०३९ साल माघ ३ गते पोखरा कारागार ल्याइएका थिए। २०४२ माघसम्म पोखरा कारागारमा राजबन्दीको रुपमा रहेका उनलाई भेट्न जानेहरू कम नै हुन्थे। 

२०४२ सालमा सत्याग्रहसँगै भकाभक कांग्रेसी नेताहरु पक्राउ पर्न थाले।  पोखराको जेल भरिँदै गयो। जेलमा आउनेहरुलाई केपी ओली स्वागत गर्थे। रामराजाप्रसाद सिंहले देशका विभिन्न ठाउँमा बिस्फोट गराएपछि भने कम्युनिष्टहरू पनि जेल पर्न थाले।

तत्कालीन पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति हितकाजी गुरुङलगायतका पक्राउ परे। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाहरुलाई केपी ओलीसँगै राखियो। कास्कीका सोमनाथ प्यासीहरुसँग पनि उनको संगत भयो।

लामो जेल जीवन भोगेकाले उनी जेलभित्र पनि केही व्यवस्थित तरिकाले बसेका थिए। ओलीले राजबन्दीहरुलाई सहयोग नै गरे। जेलमा भेटेकाहरूलाई एमाले अध्यक्ष ओलीले अहिले पनि बिर्सेका छैनन्। 

पोखराको एक सार्वजनिक कार्यक्रममा कांग्रेस नेता यज्ञबहादुर थापालाई देखाउँदै उनले भनेका थिए, ‘मेरो जेल जीवनका साथी यज्ञजी यहीँ हुनुहुन्छ।’ त्यो सुनेर यज्ञबहादुर मख्ख परेका थिए। 

२०४४ साल असार ११ गते ओली रिहा भए। रिहा भएलगत्तै उनलाई तत्कालीन नेकपा (माले)ले लुम्बिनीको जिम्मेवारी दियो।

उनै ओली २०४६ सालको जनआन्दोलन सुरु हुनुअघि यहाँको कास्कीकोटमा आयोजित भूमिगत कार्यक्रममा अतिथि बनेर झुल्किए। जेलबाट छुटेकाले उनलाई धेरैले चिन्थे। गफ गर्न सिपालु ओलीको वरपर नेता/कार्यकर्ता झुम्मिए। 

सँगै जेल जीवन बिताएका मात्र नभएर यस क्षेत्रका नेता/कार्यकर्ता ओलीसँग नजिकिनुको  कारण थियो, ‘गण्डकीमा परेको नक्सलवादी आन्दोलनको प्रभाव।’

नक्सलवादी आन्दोलनको प्रभावमा ओली झापा विद्रोहमा होमिनु अगावै २०२५ साल जेठ ३० गते यहाँका युवाहरुले नेकपा मार्क्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दल (गण्डकी–धौलागिरी) गठन गरिसकेका थिए।

त्यसैले नक्सलवादी ओली यो क्षेत्रका माले कार्यकर्ताका प्रिय थिए। तीक्ष्ण स्मरण शक्ति भएका ओलीले जेल र बाहिर बनेको सम्बन्धलाई बिगारेनन्। जेल र बाहिरको चिनजानलाई शक्ति आर्जनको माध्यम बनाइरहे। 

त्यसैको परिणाम, वीरगञ्जमा सम्पन्न एमालेको सातौं  र बुटवलमा सम्पन्न आठौं र अध्यक्ष चुनिने नवौं महाधिवेशनमा गण्डकी–धौलागिरीबाट ओलीले दह्रो समर्थन पाए। भला, ८ औं महाधिवेशनमा उनले माधव नेपाललाई सघाएका किन नहुन्! 

ओलीको उल्टो १४ वर्ष पार्टी नेतृत्वमा बसेका माधवकुमार नेपाल गण्डकीमा सधैँ कमजोर रहे। पार्टी सुप्रिमो हुँदा पनि उनको पक्षमा यहाँ माहौल बनेन। बरु, वामदेव गौतम, झलनाथ खनालले यहाँ थोरबहुत प्रभाव जमाए। 

त्यसैले हुनुपर्छ, गण्डकी र पोखरामा माधव नेपालले कहिल्यै राम्रो सम्मान पाएनन्। न त, उनले आफू निकटका कार्यकर्तालाई लाभको पद दिएर आफूसँगै राख्न सके। 

‘माधव कमरेड पोखरामा कहिल्यै बलियो हुनुभएन, उहाँले पोखरामा राम्रो स्वागत पनि पाउनु भएन’, एकीकृत समाजवादीका एक नेताले भने, ‘उहाँ निकट हुनेहरूलाई पनि अवसरबाट बञ्चित गर्ने परम्परा नै बस्यो, हामी पीडित भयौँ।’

हुन पनि, केपी ओली पोखरा आउँदा उनको भव्य स्वागत हुन्थ्यो। नेता–कार्यकर्ता झुम्मिन्थे। कतिसम्म भने, ओलीले आफू इतरका योग्यलाई पनि अवसरबाट बञ्चित गराउँथे।

उता, माधव नेपाल भने निष्‍ठाको कुरा गर्दै कार्यकर्तालाई निराश बनाउँथे। ओली आक्रामक थिए भने नेपाल समन्वयकारी। त्यसैले पोखरामा र गण्डकीबाट माधवले खासै साथ पाएनन्। उनको पक्षमा रहेकाहरु पनि अवसरको खोजीमा अर्कै गुटमा लागे।

उनै माधवले एमालेमा विद्रोह गरे। प्रधानमन्त्रीको कुर्सीबाट ओलीलाई झारिदिए र गएको भदौमा नयाँ पार्टी गठन गरे। नयाँ पार्टी गठन गर्दा यसअघि साथमै भएकाहरुले पनि छाडे। गण्डकीबाट प्रदेशका एउटै सांसद उनको पक्षमा देखिएनन्।

गण्डकीका सांसद इन्द्रलाल सापकोटादेखि हिजो साथ दिने कास्कीकी सीता गिरी ओलीसम्मले पुरानै पार्टी रोजे। स्याङ्जाको आँधिखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला पौडेलले मात्रै उनको साथ छाडिनन्। बरु, ओलीकै पक्षमा रहेका तनहुँका कृष्णकुमार श्रेष्ठ माधव क्याम्पमा आइपुगे। 

गण्डकीमा कमजोर देखिएका माधवलाई यहाँका पुराना नेता तुलबहादुर गुरुङ, श्रीनाथ बराल, चूडामणि जंगली, विद्यार्थी राजनीतिबाट उदाएका धनराज आचार्यहरूले भने बेस्सरी सघाए।

उनीहरुले एमालेमा रहँदा अवसर नपाएकाहरुलाई संगठित गरे। कास्कीका ७२ वटै स्थानीय तहमा संगठन बिस्तार गरे। पोखराको सिर्जनाचोकमा कार्यालय उद्घाटन गर्न आइपुगेका माधव नेपालको कार्यक्रममा खचाखच मान्छे देखाए।

‘पार्टी एक हुँदा पनि माधव कमरेडको कार्यक्रममा त्यत्तिका मान्छे हुँदैनथे, हामीले संगठन बनाएर देखायौँ’, श्रीनाथ बरालले भनेका थिए, ‘हिजोदेखि एमालेभित्र पेलिएकाहरुको मत सानो छैन।’

माधव उत्साहित भए। उनले पार्टी कार्यालय व्यवस्थित बनाएकोमा कास्की र धनराज आचार्यलाई धन्यवाद दिए। मञ्चबाट तल ओर्लेर पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरे। सत्ता गठबन्धनमा रहेका दलहरुले स्थानीय चुनावमा सहकार्य गर्ने निर्णय गर्यो। ​महानगरहरु बाँड्ने सहमति बन्यो।

त्यही सहमतिको जगमा उभिएर माधवकुमार नेपालले पोखराको मेयरमा दाबी गर्न थाले। माधव नेपाल टसमस नहुँदा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा पोखराको मेयर सुम्पन बाध्य भए।

कास्कीका कांग्रेस नेता-कार्यकर्ताको विरोधका बाबजुद एकीकृत समाजवादीले मेयरको भाग पायो। पोखराको मेयर आफ्नो भागमा पारेर माधवले आफै १४ वर्ष महासचिव रहेको एमालेविरुद्ध जेहाद छेडेका छन्।

हिजो पोखरामा आफूलाई छाडेकाहरुलाई चुक्चुक्याउने र केपी ओलीलाई चुनौती दिने अवसर सिर्जना गरेका छन्। अघिल्लो चुनावमा मेयरमा १३ हजार ७०२ मतान्तरले जितेको एमालेको मत चोरेर आफ्ना उम्मेदवारले जित्नसक्ने दाबी गरिरहेका छन्।

एकीकृत समाजवादीबाट पोखराको मेयरको उम्मेदवार हुन चाहने १३ जना छन् तर तीमध्ये श्रीनाथ बराल र धनराज आचार्यमात्रै मुख्य दावेदार हुन्।

पछिल्लो समय धनराज अध्यक्ष नेपालसँग नजिक छन्। उनलाई मेयरको उम्मेदवार बनाउन केही व्यापारिक समूह पनि लागेकै छ। पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णयसँगै उत्साहित कास्की अध्यक्ष धनराज आचार्य बालुवाटार नै पुगेका छन्।

५ हजार संगठित सदस्य बनाएको दाबी गरे एमालेलाई हराउन उनलाई त्यति सजिलो छैन। असन्तुष्ट कांग्रेसलाई फकाउनु र पुरानो घरका एमालेको मत तान्नु फलामको च्यूरा चपाउनुजस्तै हो भन्ने ‘चतुर’ धनराजले पक्कै बुझेका छन्।

तर, एउटा सत्य के हो भने, हिजो एमालेमा हुँदा सामान्य मान पनि नपाउने माधव नेपालले गठबन्धनबाट पोखराको मेयरको ‘भाग’ पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .