राजनीति


राप्रपामा गएर फर्केका खान कांग्रेसबाट सिद्धार्थनगरको मेयर सिफारिस

राप्रपामा गएर फर्केका खान कांग्रेसबाट सिद्धार्थनगरको मेयर सिफारिस

फाइल फोटो


सुदीप भण्डारी
बैशाख ६, २०७९ मंगलबार २१:४७, भैरहवा

इस्तियाक अहमद खाँ कुनै बेला नेविसंघकै कार्यकर्ता थिए। २०६० सालमा राप्रपातिर लागे।

राजा ज्ञानेन्द्रले गराएको नगरपालिका चुनावमा सिद्धार्थनगर १ बाट वडाअध्यक्षमा विजयी भए। 

२०६२–६३ सालमा लोकतन्त्र आएपछि उक्त निर्वाचन खारेज भयो। २०७० सालको चुनावमा राप्रपाबाट उनी समानुपातिकतर्फ संविधान सभा सदस्य बने। 

२०७४ सालको चुनावअघि खान कांग्रेसमै फर्किए। प्रतिनिधि सभामा समानुपातिकतर्फ उनको नाम थियो। तर, ०७४ मा सांसद बन्न भने सकेनन्।  

धेरै पहिलादेखि उनलाई कांग्रेसले सिद्धार्थनगरबाट मेयरको उमेद्वार बनाउने चर्चा थियो। तर आकांक्षीहरु अरु पनि थिए। 

अन्ततः सर्वसम्मत रुपमा  खानको नाम सिफारिस भयो। रुपन्देहीकै बुटवल उपमहानगरपालिकामा भएको उमेदवार सिफारिसमा विवाद भइरहेको छ। 

तर, सिद्धार्थनगरमा कुनै विवाद नभएको कांग्रेसका नगर सभापति कोशिशबहादुर खड्काले बताए। 

‘हामीले आकांक्षीहरुबीच एक चरण छलफल गराएका थियौं। जो उमेद्वार बने पनि एक भएर समर्थन गर्ने प्रतिबद्धता आएको थियो,’ उनले भने, ‘हामीले सर्वसम्मतिमा उहाँको नाम सिफारिस गरेका छौं। कुनै विवाद छैन।’ 

खानले पनि आफू उमेद्वार बनेकोमा कसैले असन्तुष्टि व्यक्त नगरेको बताए। ‘आकांक्षी अरु साथीहरु पनि मेयरका लागि सक्षम र योग्य हुनुहुन्थ्यो। तर पनि मेरो नाममा सर्वसम्मत भयो,’ उनले भने ‘खुशियालीकासाथ सबैले समर्थन गर्नुभएको छ।’ 

खान पार्टीमा संस्थापन अर्थात बालकृष्ण खाँण र शेरबहादुर देउवानिकट हुन्। 

भैरहवामा उनी राजनीतिसँगै व्यवसायिक र सामाजिक क्षेत्रमा पनि क्रियाशील छन्। उनी लायन्स र रोटरी क्लबको अध्यक्ष पनि भए। 

एम्नेष्टी इन्टरनेशनल, नेपाल भारत मैत्री संघ लगायतमा आवद्ध थिए। व्यवसायीसमेत रहेका खान सिद्धार्थ नगर उद्योग वाणिज्य संघमा उपाध्यक्ष पनि भएका थिए। 

मेयरमा उमेद्वार बनेर विजयी भएमा भैरहवालाई हेर्नलायक शहर बनाउने खानले सुनाए। 

‘लुम्बिनीनजिकको सहर हो। भैरहवा दुर्गन्धित छ। फोहर व्यवस्थापन गर्नुपर्ने छ,’ उनले भने, ‘छाडा चौपायाको समस्या उस्तै छ। नाली जाम भएर बर्खामा पानी जम्छ। यीसहित थुपै्र काम गर्नुपर्ने छ।’ 

कांग्रेसको सिद्धार्थ नगर समितिले उमेद्वार सिफारिस गरे पनि गठबन्धन भागबण्डाले टिकट पक्का भइसकेको छैन। 

गठबन्धनअन्तर्गत नगरपालिकाहरू कसको भागमा पर्ने निर्णय प्रदेशको संयन्त्रले गर्दछ। गठबन्धनभित्र भैरहवामा जसपा र एकीकृत समाजवादीले पनि दाबी गरेका छन्। जसपाले गठबन्धनमा सहमति नभए मित्रवत प्रतिष्पर्धा गर्ने बताएको छ। 

कांग्रेस नगर सभापति कोशिश खड्काले माथिल्लो तहमा गठबन्धनको निर्णय भएर त्यसलाई मानेर अघि बढ्ने बताए। 

सिद्धार्थनगरमा अघिल्लो पटक एमालेका हरिप्रसाद अधिकारीले मेयर जितेका थिए। गठबन्धन बलियो भएमा यस पटक एमालेले राप्रपालाई सघाउने चर्चा पनि चलेको छ। 

राप्रपाबाट सागरप्रताप राणा उमेद्वार बनेका छन्। इस्तियाक अहमद खान उमेद्वार बनेमा उनका बलिया प्रतिस्पर्धी राणा हुने छन्। 

भैरहवामा २०४९ सालको स्थानीय चुनावमा कांग्रेसले जितेको थियो। २०५४ सालमा एमालेको समर्थनमा राप्रपाका राणा विजयी भएका थिए। संसदीय चुनावमा पनि भैरहवा कांग्रेसले कहिले जित्ने, कहिले गुमाउने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .