ad ad

राजनीति


युक्रेन मामिलामा समर्थन जुटाउन पाँच अमेरिकी सांसद शुक्रबार नेपाल आउँदै

युक्रेन मामिलामा समर्थन जुटाउन पाँच अमेरिकी सांसद शुक्रबार नेपाल आउँदै

सन्तोष घिमिरे
बैशाख ५, २०७९ सोमबार २२:४८, काठमाडौँ

संयुक्त राज्य अमेरिकाका पाँचजना सांसद आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन्। 

सिनेटर कर्स्टन गिलिब्रान्डको नेतृत्वमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली, एड मार्की र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स छन्। टोलीमा अमेरिकी विदेश मन्त्रालयका केही अधिकारी पनि रहने बताइएको छ। 

सिनेटर कर्स्टनले गत निर्वाचनमा राष्ट्रपति पदमा उठ्ने घोषणा गरेकी थिइन्। तर, उनले पछि नउठ्ने निर्णय लिइन्। उनी न्युयोर्कलाई प्रतिनिधित्व गर्ने डेमोक्रयाटिक पार्टीकी प्रभावशाली सिनेटर हुन्। उनी दुई पटक न्युयोर्कबाट सिनेटर निर्वाचित भइसकेकी छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकी सांसदको टोली आइतबारसम्म नेपालमा रहनेछ। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र विभिन्न राजनीतिक दलका नेता र सांसदसँग भेटवार्ता गर्नेछन्। 

अहिले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणमा छिन्। उनले सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेकी छन्। मंगलबार उनी लुम्बिनी जानेछिन्। अमेरिकी उप—सहायक विदेशमन्त्री किडरलिङ भ्रमण सकेर फर्केको चार दिनपछि अमेरिकी सांसदको टोली नेपाल आइपुग्नेछ। 

भ्रमणका एजेन्डाबारे नेपालका सरकारी अधिकारीहरुले अनविज्ञता प्रकट गरे। अमेरिकी सांसद टोलीले आफ्नो भ्रमण दुई वटा विषयमा केन्द्रित रहने उल्लेख गरेको छ। भ्रमण टोलीले आइतबार जारी गरेको वक्तव्य अनुसार भ्रमणको पहिलो उद्देश्य युक्रेन मामिलामा समर्थन जुटाउनु हो भने दोश्रो सम्बन्धित मुलुकसँग अमेरिकाको द्विपक्षीय सम्बन्ध थप विस्तार गर्नु हो। 

भ्रमण नेपाल केन्द्रित भने होइन। पाँच मुलुकको नौ दिने यात्रामा अमेरिकी सांसद निस्केका हुन्। अमेरिकी सांसदहरु दक्षिणी छिमेकी भारत भ्रमणपछि काठमाडौँ आउनेछन्।  भारतअघि उनीहरु युरोपेली मुलुक पोल्यान्ड र जर्मनी तथा खाडी मुलुक संयुक्त अरब एमिरेट्स भ्रमणमा जानेछन्। 

अमेरिकी सांसद टोलीले भ्रमणअघि वक्तव्य जारी गर्दै विश्वमा बढ्दो तनावबीच पोल्यान्ड, संयुक्त अरब एमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमणमा जान लागेको जनाएको छ।  

‘यो सशक्त कंग्रेसनल डेलिगेसनले पोल्यान्डस्थित अमेरिकी सैन्य नेतृत्व र सैनिक जवानहरूसँग भेटवार्ता गर्नेछ। अमेरिका र नेटो गठबन्धनमा रहेका मुलुक मिलेर रुसले युक्रेनमाथि नाजायज र अन्यायपूर्ण रुपमा गरेको हमलाका विरुद्ध कसरी काम गर्न सक्छन् भन्नेबारे बुझ्नेछ। अहिलेको विश्वव्यापी तनावबीच कंग्रेसनल डेलिगेसनले पोल्यान्ड, युएई, इन्डिया, नेपाल र जर्मनीका नेताहरुसँग भेटेर सम्बन्ध सुदृढ गर्नेबारे पनि छलफल गर्नेछ,’ वक्तव्यमा भनिएको छ। 

पोल्याण्डसँग सीमा जोडिएको युक्रेनमा रुसले डेढ महिना अघि सैन्य हमला गरेको थियो। अमेरिकाले रुसलाई नियन्त्रणमा राख्न पोल्यान्डमा सैन्य उपस्थिति बढाउँदै लगेको छ। पोल्यान्डमार्फत् अमेरिकाले युक्रेनमा सैन्य सहयोग पठाइरहेको छ।  पोल्यान्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य हो।  

भारत हुँदै आउनेछ अमेरिकी टोली
नेपाल आउनुअघि नयाँदिल्लीमा अमेरिका सांसदको टोलीले त्यहाँको राजनीतिक नेतृत्वसँग भेट्नेछ। युक्रेन मामिलामा भारत रुसका पक्षमा उभिएपछि अमेरिका भारतसँग असन्तुष्ट छ। तथापि, अन्य विश्वव्यापी मुद्दामा भारत र अमेरिकाबीच करिब—करिब रणनीतिक साझेदारी छ। अमेरिका र भारतका विदेशमन्त्री तथा रक्षामन्त्रीबीच हालै वासिङ्गटनमा भएको ‘टु प्लस टु डाइलग’ मा युक्रेन मामिला र एकअर्काको देशका मानवअधिकारका मुद्दामा बाहेक चीन सहितका अन्य विश्वव्यापी मामिलामा उनीहरुबीच समान धारणा देखिएको थियो। 

भारत राष्ट्रसंघीय मञ्चहरुमा युक्रेन मामिलबारे भएका मतदानमा अनुपस्थित बस्दै आएको छ। खासगरी रुससँगको रणनीतिक सम्बन्धका कारण भारतले युक्रेन मामिलामा अमेरिका तथा पश्चिमा मुलुकभन्दा भिन्न मत राखेको छ। अमेरिका र उसका घोषित तथा अघोषित गठबन्धनमा रहेका मुलुकले नयाँ दिल्लीमाथि युक्रेन मामिलामा ‘पोजिसन’ बदल्न कूटनीतिक दबाब जारी राखे पनि भारत आफ्नै अडानमा छ।  

युक्रेन मामिलामा नेपालको पोजिसनप्रति अमेरिका खुसी 
यता नेपालले युक्रेन संकटबारे भएका चार वटा मतदानमा युक्रेनको पक्षमा मत दिएको छ। अघिल्लो साता रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यबाट हटाउन राष्ट्रसंघमा भएको मतदानमा बाहेक नेपाल अन्य मतदानमा युक्रेनको पक्षमा देखियो। 

अमेरिका र अन्य पश्चिमा मुलुकको इसारामा युक्रेनको पक्षमा मत दिएर नेपालले असंलग्न विदेश नीति त्यागेको भन्दै सरकारको आलोचना पनि भयो। यद्यपि, परराष्ट्र मन्त्रालयले नेपालले युुक्रेन मामिलामा स्वतन्त्र विदेश नीति अँगालेको बतायो। साथै मन्त्रालयले सार्वजनिक रुपमा असंलग्न विदेश नीतिमा सरकारको प्रतिबद्धता दोहोर्यायो। नेपाल भ्रमणमा अमेरिकी सांसदले युक्रेन मामिलामा नेपालले अहिले लिएको अडान कायमै राख्न सुझाव दिने बताइएको छ। 

एमसीसीपछि बाक्लिँदै अमेरिकी अधिकारीको नेपाल भ्रमण 
अमेरिकी सांसदको भ्रमण नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्षगाँठको अवसर पारेर हुन लागेको छ। यो भ्रमणको रणनीतिक महत्व रहेको अधिकारीहरु बताउँछन्। 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन भएलगत्तै अमेरिकाका तर्फबाट भ्रमण बाक्लिन थालेको हो। चीनको प्रभाव रोक्न र अमेरिकी प्रभाव विस्तारका लागि अमेरिकी सांसदको नेपाल भ्रमण हुन लागेको चर्चा कूटनीतिक वृत्तमा छ। 

अमेरिकी दबाब तथा उत्तरी छिमेकी चीनको सार्वजनिक असन्तुष्टिबीच नेपालको संसदले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको ५० अर्ब डलरको अनुदान सम्झौता गत फेब्रुअरी अन्तिम साता अनुमोदन गरेको थियो। एमसीसी अनुमोदनअघि चीनले जबरजस्ती नेपाललाई अनुदान नथोपर्न अमेरिकालाई चेतावनी दिएको थियो भने अमेरिकाले एमसीसी सम्झौता पास हुन दिन चीनले भित्रभित्रै भूमिका खेलेको आरोप लगाएको थियो। नेपाल मामिलामा दुई विश्व शक्तिबीच भएको आरोप प्रत्यारोपलाई उनीहरुबीचको विश्वव्यापी टकरावको एक हिस्साको रुपमा लिइएको थियो। 

यहीबीच चीनका विदेशमन्त्री वाङ यीले मार्च अन्तिम साता नेपाल भ्रमण गरेका थिए। नेपालमा हुँदा उनले गरेका भेटवार्ताका क्रममा अमेरिकातर्फ संकेत गर्दै ‘कसैले नेपाललाई भूराजनीतिक खेलमा तान्ने प्रयास गरे चीनले प्रतिवाद गर्ने सन्देश’ नेपालको उच्च राजनीतिक नेतृत्वलाई दिएका थिए। उनले जुनसुकै अवस्थामा पनि नेपालमा चीनको सहयोग निरन्तर रहने समेत बताएका थिए। 

चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणको झण्डै एक महिनापछि अमेरिकी उच्च अधिकारी र सांसदहरुको भ्रमण हुँदैछ। अमेरिकाका तर्फबाट निकट भविष्यमा विदेशमन्त्री एन्टोनी ब्लिंकेन वा उपराष्ट्रपति कमला ह्यारिसको नेपाल भ्रमण हुनसक्ने सरकारी अधिकारीहरु बताउँछन्।

‘तर भ्रमणको यकिन मिति तय भएको छैन,’ परराष्ट्रका एक अधिकारीले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .