राजनीति


नेपालगन्जमा एमाले राप्रपासँग मिल्दा सत्ता गठबन्धन हार्ने आधार के?

नेपालगन्जमा एमाले राप्रपासँग मिल्दा सत्ता गठबन्धन हार्ने आधार के?

एमाले अध्यक्ष केपी ओलीसँग पशुपतिदयाल।


सुदीप भण्डारी
चैत ३०, २०७८ बुधबार ८:१०, बुटवल

गत मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँकेका पशुपतिदयाल मिश्रलाई पार्टीमा प्रवेश गराए।

त्यतिबेलै मिश्र नेपालगन्जको मेयरको उम्मेदवार भएको चर्चा चलेको थियो। उनले पनि आफूले मेयरको उम्मेदवार बन्ने आकांक्षा बताएर एमालेमा प्रवेश गरेको बताएका थिए।

त्यसो त पार्टीमा आबद्ध हुनुअघि नै २०७४ सालको चुनावमा मिश्र सूर्य चिह्न लिएर बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। तर जनता समाजवादी पार्टीका महोम्मद इस्तियाक राईसँग हारे। 

मिश्रले हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेका थिए।

त्यस समूहका नेता त्रिपाठी नवलपरासी र वृजेशकुमार गुप्ता कपिलवस्तुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। तर मिश्र बाँके क्षेत्र नम्बर २ मा हारे। 

अहिले भने नेपालगन्जमा जित्ने अठोटका साथ एमालेले मिश्रलाई अघि सारेको छ।

एमाले नगर कमिटीको बैठकले मिश्रलाई मेयरको उम्मेदवारमा सिफारिस गरेको भनिएको छ। विवाद भने जारी छ। तर पशुपति दयाल मिश्रले मेयरको टिकट पाउने निश्चित छ। 

एमाले नेपालगन्जमा २०५४ सालको साख फर्काउने दाउमा छ। जतिबेला एमालेले तत्कालीन नेपालगन्ज नगरपालिकामा मेयर पद जितेकाे थियो। 

अहिलेका मेयर रहेका धवलशमशेर राणा त्यसबेला एमालेबाट विजयी भएका थिए। तर २०६३ सालमा लोकतन्त्र आएपछि उनी गणतन्त्र नमान्ने भन्दै राप्रपामा प्रवेश गरे। 

२०७४ सालको निर्वाचनमा भने राणा राप्रपाबाट मेयर बनेका हुन्। अब भने मेयरमा नउठ्ने घोषणा उनले गरिसकेका छन्। राप्रपाबाट अरु कसैलाई मेयर उम्मेदवार बनाए पनि राणाले जस्तो मत नपाउन सक्छन्।

जसका कारण एमालेका मेयरका उम्मेदवार मिश्र एकातिर र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा अर्कातिर भएर प्रतिस्पर्धा हुने देखिएको छ। 

तर पाँच दलीय गठबन्धनभित्र पनि नेपालगन्जको मेयर पदको उम्मेदवारीमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले दुवैले दाबी गरिरहेका छन्। 

नेपालगन्जमा गठबन्धन भए पनि नभए पनि आफ्नातर्फबाट उम्मेदवार रहने जिकिर जसपाले गरिरहेको छ।

कांग्रेसले पनि गत चुनावमा उपमेयरमा जितेको र मेयरमा दोस्रो बढी मत ल्याएकाले दाबी नछाड्ने अडान लिइरहेको छ। 

कांग्रेस र जसपाले अडान बमोजिम आआफ्ना उम्मेदवार उठाए भने नेपालगन्जमा एमालेका उम्मेदवार मिश्रले चुनाव जित्ने सम्भावना बढी रहेको विश्लेषण गरिएको छ। 

अघिल्लो चुनावमा मेयरमा विजयी धवलशमशेर राणाले पाएको मत राप्रपाको मात्र थिएन।

संसदीय चुनावमा बाँके जिल्लाभर राप्रपाले समानुपातिकमा ८ हजार जति मत पाएको थियो। तर नेपालगन्जमा मात्र धवल शमशेरले साढे १२ हजारजति मत ल्याए।  

यस आधारमा उनले व्यक्तिगत रूपमा पनि भोट पाएको अनुमान गर्न सकिन्छ। तर यसपटक उनी मेयर पदमा उम्मेदवार नबन्ने भएपछि गत चुनावमा उनलाई गएको लोकप्रियताको मत पशुपतिदयाल मिश्रतर्फ आउने आशा एमालेले गरेको छ।  

कांग्रेस र जसपाबीच सहमति भएर गठबन्धनबाट एउटै उम्मेदवार तय भएका खण्डमा एमालेले पनि गठबन्धन बनाउने सम्भावना छ।

केन्द्रमा एमाले र राप्रपाबीच तालमेलको विषयमा कुराकानी भइरहेको छ। तर कुरा टुंगोमा पुगिसकेको छैन। 

नेपालगन्जमा राप्रपाका धवलशमशेर राणालाई एमालेले प्रतिनिधि सभाको चुनावमा सहयोग गर्ने र त्यसअघि हुने स्थानीय तहको निर्वाचनमा राप्रपाले एमालेका उम्मेदवारलाई सघाउने सर्तमा दुई दलबीच तालमेल हुन सक्ने चर्चा छ।

यसो भएमा राप्रपाको भोट र धवलशमशेरको व्यक्तित्वका कारण गत चुनावमा आएको मतले नेपालगन्जमा गठबन्धनको उम्मेदवारलाई हराउन सकिने एमालेको अपेक्षा छ। 

बाँकेमा राजनीतिसँगै उनी उद्यम व्यवसाय र समाजसेवामा पनि सक्रिय छन्। उनले नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका हुन्।

२०५४ सालमा तत्कालीन हिरमिनिया गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

मधेस आन्दोलनपछि तमलोपामा आबद्ध भए। मधेसवादी दल मिलेर राजपा बन्दा उनी हृदयेश त्रिपाठीको स्वतन्त्र नागरिक समूहमा लागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .