नयाँ राजनीतिक विकल्प भन्दै स्थापित विवेकशील साझा पार्टी फेरि फुटतर्फ अघि बढेको छ।
रवीन्द्र मिश्र र मिलन पाण्डेको विवादका कारण फुटिसकेको यो पार्टी फेरि फुटको दिशामा अघि बढेको हो।
अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध उभिएको एउटा समूहले बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोज्दा तनाव र नाराबाजीको अवस्था आएको हो।
पत्रकार सम्मेलन गर्न पुगेको समूहले आफूहरुलाई रोकिएको भन्दै नाराबाजीसमेत गरेका छन्।
भिडिओ
विरोधी पक्षले यसअघि सोमबार नै आफ्नो बैठक राखेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको अवस्थामा मंगलबार पार्टी कार्यालयमा तनाव भएको हो।
तीन दिन समय दिएर सोधिएको स्पष्टीकरणबारे सार्वजनिक जानकारी दिन त्यस समूहले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन राखेको थियो।
तर उनीहरुलाई रोक्ने गरी मिश्र पक्षले यसअघि नै तयारी गरेको थियो। कर्मचारी मात्रैलाई पस्न दिने गरी मिश्र पक्षले सूचना नै निकालेर कार्यालय बन्द गरिदिएको थियो।
पत्रकारहरुलाई पनि कार्यालयमा पस्न कडाइ गरिएको थियो। उक्त सूचनामा अनधिकृत व्यक्तिहरु पार्टी कार्यालयमा छिरेर गतिविधि गर्न खोजेपछि रोक्न सूचना निकालिएको भनिएको छ। मिश्र पक्षले अर्को सूचना जारी नहुन्जेल कार्यालय नखोलिने पनि जनाएको छ।
मिश्र पक्षले कार्यालय बन्द गरेर पस्न नदिएपछि असन्तुष्ट पक्ष आन्दोलित भएको छ। उक्त पक्षले कार्यालय परिसरमा नाराबाजी पनि गर्यो। अहिले त्यहाँ प्रहरी खटाएर सुरक्षा दिइएको छ।
Shares
प्रतिक्रिया