राजनीति


ओखलढुंगामा एमाले र माओवादीबीच चुनावी तालमेलको तयारी

ओखलढुंगामा एमाले र माओवादीबीच चुनावी तालमेलको तयारी

निशान्त शर्मा, तीर्थ सुवेदी र झलक तामाङ


सागर न्यौपाने
चैत १३, २०७८ आइतबार २१:४७, काठमाडौँ

ओखलढुंगाको एक गाउँपालिकामा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीच चुनावी तालमेलको अन्तिम प्रयास भएको छ।

देशभर सत्तारुढ गठबन्धनमाझ तालमेलको तयारी भइरहेका बेला ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा भने माओवादी र एमालेबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको हो। 

चम्पादेवी ५ का वडाध्यक्ष तथा माओवादी केन्द्रका इन्चार्ज झलक तामाङले कांग्रेसकै कारण एमालेसँग मिलेर चुनावमा जानुपर्ने अवस्था बनेको बताए। तर, तालमेलको अन्तिम निर्णयको लागि जिल्ला र केन्द्रको निर्देशन पर्खिरहेको उनले बताए।

नेकपा एमालेका प्रदेश १ का सदस्य तीर्थ सुवेदीले पनि सैद्धान्तिक रुपमा माओवादीसँग चुनावी तालमेल गर्ने सहमति भए पनि भागबण्डाको विषय टुंगिन बाँकी रहेको बताए।

‘हामीले चम्पादेवी गाउँपालिकाको हकमा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका छौँ,’ सुवेदीले नेपालखबरसँग भने, ‘तर, प्राविधिक कुरा टुंगो लगाउन बाँकी छ।’

चम्पादेवी गाउँपालिकामा १० वडा छन्। उक्त गाउँपालिकामा कांग्रेसका नवराज केसी अध्यक्ष छन् भने उपाध्यक्ष पनि कांग्रेसकै निर्मलादेवी रैका छिन्। 

माओवादी केन्द्रले पालिका अध्यक्षसहित ४ वडाध्यक्ष मागेको छ। यदि अध्यक्ष एमालेले लिने भए उपाध्यक्षसहित ६ वडाध्यक्ष पाउनुपर्ने माग गरेको वडाध्यक्ष तामाङले जानकारी दिए।

‘केन्द्रमा कांग्रेससँग गठबन्धन भए पनि हाम्रो पालिकामा मिल्न गाह्रो छ, विगतमा उनीहरुले गरेको व्यवहारले जनस्तरमा नमिल्न दबाब छ र मिल्नसक्ने अवस्थामा छैनौँ,’ तामाङले भने, ‘एमालेसँग कुरा मिल्ने सम्भावना छ। गाउँपालिका अध्यक्ष लिनेले ४ वडा लिने, उपाध्यक्ष लिनेले ६ वडा लिने बटमलाइनमा छलफल भइरहेको छ।’

‘कांग्रेस इमान्दार हुने छाँट देखिएको छैन, परिस्थितिमा फेरबदल नआए चम्पादेवीमा एमालेसँग मिल्ने सम्भावना बढेको छ,’ तामाङले थपे।

एमालेका प्रदेश सदस्य सुवेदी पनि प्राविधिक विषयले बाधा नपारे एमाले र माओवादी केन्द्रबीच तालमेल गर्ने अन्तिम प्रयास भइरहेको बताउँछन्। 

‘केन्द्रमा माओवादी–कांग्रेस गठबन्धनको प्रभाव कस्तो पर्छ भन्ने हो, हामीलाई माओवादीसँग मिल्न केन्द्रले अवरोध गर्दैन,’ सुवेदीले भने।

चुनावी तालमेलको निर्णय गर्न पालिकास्तरमा वार्ता कमिटी बनाएको उनले बताए। 

एमाले चम्पादेवी गाउँपालिका अध्यक्ष खेम मिश्र, रमेश घिमिरे लीला कटुवाल, केदार पुडासैनी रहेको वार्ता कमिटी बनाएर दुई तीन चरणमा छलफल चलिसकेको उनले जानकारी दिए।

केन्द्रले हस्तक्षेप नगरे पालिकाको हकमा मिल्न सकिने आधार एमालेले देखेको उनी बताउँछन्। 

चम्पादेवीमा कांग्रेससँग किन बिच्कियो माओवादी?
चम्पादेवीमा कांग्रेसले एमालेसँग माओवादी केन्द्रलाई मिल्न नदिने रणनीति बनाएको आरोप लगाउँछन् वडाध्यक्ष तथा इन्चार्ज झलक तामाङ।

‘कांग्रेसले एमालेसँग मिल्न नदिने रणनीति बनाएर गठबन्धन भनिरहेको छ तर, उसको भित्री चाहना एक्लै भिडेर फाइदा लिने हो,’ तामाङले भने।

अर्काेतिर कांग्रेसले पालिका जितेपछि बजेट विनियोजन, विकास निर्माणमा विभेद गरिएको पनि माओवादी केन्द्रको आरोप छ।

‘कांग्रेसले पालिका अध्यक्ष जितेपछि ऊसँग हाम्रो मीठो सम्बन्ध भएन। राहत वितरण, विकास बजेट वितरणमा सल्लाह भएन जनस्तरमा कांगेससँग मिल्न हुँदैन भन्ने जनमत बलियो बन्यो,’ वडाध्यक्ष तामाङले भने।

ओखलढुङ्गामा १ नगरपालिका र ७ गाउँपालिका छन्। एमालेले त जिल्ला स्तरमा पनि माओवादीसँग तालमेलबारे छलफल अगाडि बढाइरहेको प्रदेश १ सदस्य सुवेदी दाबी गर्छन्।

‘माओवादी कसरी आउँछ भन्ने हो, नत्र जिल्लामा माओवादी केन्द्रसँग तालमेल गर्न सकिन्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष हो, त्यो अधिकार हामीलाई पार्टी केन्द्रले दिइसकेको छ,’ सुवेदीले थपे। 

माओवादी केन्द्रका जिल्ला संयोजक निशान्त शर्मा भने पालिकास्तरमा भइरहेको छलफल कुनै निर्णयमा पुगिनसकेको बताए।

‘पार्टीको लाइन तलदेखि माथिसम्म गठबन्धनसँग मिल्नुपर्छ भन्ने छ,’ शर्माले नेपालखबरसँग भने, ‘तर, आत्मसम्मानसहितको तालमेलको पक्षमा छौँ आत्मसम्मान नहुने भयो भने सबै विकल्प खुला राखेर हामी छलफल गरिरहेका छौँ।’

जिल्ला तहमा तालमेलबारे निर्णय गर्न माओवादी केन्द्रले पनि ७ सदस्यीय कार्यदल बनाएको उनले जानकारी दिए। केन्द्रीय सदस्य बाबुराम गौतम, जिल्ला संयोजक निशान्त शर्मा, जिल्ला नेताहरु चम्पा कार्की, मोहन खड्का, खड्ग योगी, गुणकुमार राई र विनोद सुनुवार रहेको कार्यदलले एमाले÷कांग्रेससँग वार्ता गरिरहेको छ।

ओखलढुंगामा माओवादीसँग तालमेल गर्दा गठबन्धनले जित्ने शर्माको दाबी छ।

‘ओखलढुंगामा माओवादी केन्द्र निर्णायक शक्ति हो,’ शर्माले भने, ‘हाम्रो जोसँग चुनावी तालमेल हुन्छ, उसैले जित्छ, त्यही भएर सम्मानजनक तालमेलको पक्षमा छौँ, जिल्लाभरका स्थानीय तहमा पचास प्रतिशत हामीलाई दिनुपर्छ भन्ने माग राखेका छौँ।’

‘प्रतिगमनका विरुद्ध विगतमा संघर्ष गरेर कांग्रेससँग मिलेका थियौँ,’ उनले भने, ‘जसले धेरै ठाउँ दिन्छ, अहिले उसैसँग तालमेल गर्ने हो। कतिपय निर्णय स्थानीय अन्तरविरोधले पनि पैदा गरेका छन्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .