राजनीति


सम्मेलनको ३ महिनापछि माओवादी केन्द्र लुम्बिनीको अध्यक्ष बने सुदर्शन बराल

सम्मेलनको ३ महिनापछि माओवादी केन्द्र लुम्बिनीको अध्यक्ष बने सुदर्शन बराल

सुदीप भण्डारी
चैत २, २०७८ बुधबार १७:३६, काठमाडौँ

 सम्मेलन भएको ३ महिनापछि बल्ल नेकपा (माओवादी केन्द्र) लुम्बिनीले पदाधिकारी चयन गरेको छ।

माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिरको अन्तिम साता भएको थियो। सम्मेलनले प्रदेश सदस्यहरु चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन।

सम्मेलन भएको ३ महिनापछि माओवादीले अध्यक्षसहित पदाधिकारी चयन गरेको छ। बुधबार कपिलवस्तुमा भएको माओवादी केन्द्र प्रदेश कमिटीको बैठकले सुदर्शन बराललाई प्रदेश अध्यक्ष चयन गरेको हो।

बराल यसअघि सो पार्टीको केन्द्रीय सदस्य थिए। शंकर पोखरेल नेतृत्वको सरकारमा ३ वर्ष सामाजिक विकासमन्त्री भएर काम गरेका थिए।

प्रदेश कमिटीको उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र विरबहादुर खत्री चयन भएका छन्। सचिवमा कृष्ण अधिकारी, सह सचिव अकलबहादुर बम, पार्वती विक, काशीराम यादव र कोषाध्यक्ष निर्देशन अली चयन भएका छन्।

प्रदेश कमिटीको बैठकले चैत्र ५ गते देखि १५ गतेसम्म राजनीतिक प्रशिक्षण गर्ने निर्णय गरेको छ।

नेतृत्व चयनपछि आफूहरु चुनावमा केन्द्रित हुने प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए।

बैठकमा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लुम्बिनी प्रदेश माओवादी केन्द्रको आधार इलाका भएकाले त्यही अनुसार आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्तालाई निर्देशन दिए।

उनले कम्युनिष्टहरुको एकताको लागि जनताले जनमत प्रदान गरेपनि एमालेका अध्यक्ष केपी ओलीको अहंकारी प्रवृत्तिबाट देश प्रतिगमनतिर गएको बताउँदै माओवादी केन्द्रको कारणले मात्रै देशको संविधान, गणतन्त्र लगायतको रक्षा हुने बताए।

माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले लुम्बिनीमा पदाधिकारीमा सबै भूगोल, मनोविज्ञान लगायत सबैको सहमतिमा गर्नका लागि केही समय लागे पनि सहमति र सहकार्यताको तरिकाले आगामी दिनमा पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउन सकिने बताए।

मुख्यमन्त्री एवं प्रदेश सहइन्चार्ज कुलप्रसाद केसीले लुम्बिनी माअ‍ोवादी केन्द्रको उद्गमभूमि भएकाले स्थानीय तहबाट परिणाम दिनका लागि लाग्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .