विश्लेषकहरुले पछिल्लो समय विश्वभर सामाजिक सञ्जाल र सञ्चारमाध्यमको बिगबिगी बढेको र गलत सूचना प्रवाह भइरहेकोप्रति चिन्ता जाहेर गरेका छन्।
ललितपुरमा जारी चार–दिने ‘फिल्म साउथ एसिया महोत्सव’को अन्तिम दिन ‘मिडिया र सोसल मिडिया’ विषयक सत्रमा बोल्ने दक्षिण एसियाली मुलुकका वक्ताहरुले यस्तो बताएका हुन्।
वक्ता जाभेद सुल्तानले जुन विषय सामाजिक सञ्जालमा भाइरल (सर्वत्र बाँडिने) हुन्छ, मानिसहरु त्यसैलाई नै पछ्याइरहेको बताए। मिडियाले पनि सत्य, तथ्य र गहनताको ख्याल नराखी भाइरल विषयलाई नै प्राथमिकतामा राख्ने गरेको उनको धारणा थियो।
‘भारतका केही स्थानमा मानिसहरुको घरमा बिजुली पुगेको छैन तर, इन्टरनेट पुगेको छ’ उनले भने, ‘इन्टरनेटको बढ्दो विस्तार पनि मानिसहरुको आवश्यकताअनुसार नै भएको छ। अब दोष कसलाई दिने?’
पत्रकार कनकमणि दीक्षितले संचालन गरेको सो कार्यक्रमका अर्का वक्ता प्रदीप केपीले भारतमा रहेका ३१ करोड इन्टरनेट प्रयोगकर्तामध्ये २५ प्रतिशत पत्रपत्रिका, ७ प्रतिशत टेलिभिजन र २० प्रतिशत भाइबरमार्फत सूचना लिइरहेको तथ्यांक पेश गरे। भारतमा भएको पछिल्लो लोकसभा निर्वाचनको उदाहरण दिँदै उनले झन्डै नौ लाख जनता ह्वाट्सएपमार्फत निर्वाचन प्रचारमा लागेको बताए।
‘ठूला मिडियामा गलत समाचार आयाे भने अरू साना मिडियाले पनि त्यसको सत्य–तथ्य जाँच नगरी त्यसैलाई कपी–पेस्ट गर्छन्’ उनले चिन्ता जाहेर गरे।
सञ्चारकर्मी मधु आचार्यले सामाजिक संजाल र रक्सीको तुलना गर्दै दुवैको लत उस्तै हुने बताए। नेपालमा इन्टरनेटको पहुँच भएकामध्ये ८८ प्रतिशत जनताले फेसबुक चलाउने तथ्यांक आचार्यले पेश गरे।
‘नेपालमा इन्टरनेट भनेकै फेसबुक जस्तो भएको छ’ उनले भने, ‘७५ प्रतिशत नेपालीले पत्रपत्रिका नै पढ्दैनन्। शीर्षकले समाचार भाइरल बनाउने प्रतिस्पर्धा चलेको भन्दै उनले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गरे।
अर्की वक्ता, पाखि सेनले टिकटकजस्ता सामाजिक संजालको अलोचना भए तापनि यो आवाजबिहीनका लागि एउटा प्लेटफर्म बनेको बताइन्। ‘मिडियामा पहुँच नपुगेका, सेलिब्रेटीबाहेकका मानिसहरुको आवाज पनि ठूलो जनमानसबीच पुग्न सकेको छ। त्यसैले यसलाई नकारात्मक मात्रै भन्न मिल्दैन’ उनले भनिन्।
पत्रकार गिरिश गिरीले आफ्नो अनुभव साट्ने क्रममा पछिल्लो समय अनलाइन मिडियाले पाठकको रुचीअनुसार समाचार सम्प्रेषण गर्न लागेकाले यस्तो अवस्था आएको बताए। ‘फेसबुकमा के हिट हुन्छ र पाठकले के खोजिरहेका छन् भन्ने विषय हालेर आफ्नो समाचार भाइरल बनाउने परम्पराको विकास भएको छ,’ उनले भने।
सो अवसरमा बोल्ने अधिकांशले पैसा कमाउने नाममा मिडियामार्फत साना–तिना कुरालाई पनि भाइरल बनाउने प्रवृत्ति बढेको राय राखेका थिए।
प्रतिक्रिया