राजनीति


अन्य दलका नेता–कार्यकर्ता भित्र्याउन एमाले अध्यक्ष ओली भोलि पोखरा आउने

अन्य दलका नेता–कार्यकर्ता भित्र्याउन एमाले अध्यक्ष ओली भोलि पोखरा आउने

वाशुदेव मिश्र
फागुन १२, २०७८ बिहिबार १६:३६, काठमाडौँ

एमालेले फागुन ८ र ९ गते पोखरामा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो।

स्थानीय चुनाव केन्द्रित रणनीति निर्माणको लागि आयोजित कार्यक्रममा संघ र प्रदेश सांसद, गण्डकी प्रदेश कमिटी, ११ वटै जिल्ला कमिटीका पदाधिकारी, स्थानीय विभागका प्रमुख, एमालेको तर्फबाट अघिल्लो चुनाव जितेका जिल्ला समन्वय समिति तथा पालिकाहरुका प्रमुख र उपप्रमुख सहभागी थिए।

केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्कुल विभाग उपप्रमुख ईश्वरी अर्याललगायतले प्रशिक्षण दिए।

११ वटै जिल्लामा एमालेको अवस्था तथा आउँदो चुनावको सम्भावित परिणामबारे जानकारी लिएपछि केन्द्रीय नेताहरुले आउँदो चुनावमा एमाले पहिलो हुनेगरी संगठन निर्माण गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिए। कम्तिमा अघिल्लो चुनावमा जितेका ठाउँहरु हातबाट फुस्कन नहुनेमा नेताहरुको जोड थियो।

२०७४ सालको चुनावमा एमालेले गण्डकीका ७० पालिका प्रमुख र उपप्रमुख गरी ७० ठाउँमा विजयी भएको थियो। तीमध्ये १२ मेयर,१२ उपमेयर, २२ गाउँपालिका अध्यक्ष र २४ उपाध्यक्षमा एमाले विजयी भएको थियो।

स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपप्रमुख शर्मिला पौडेलले नेकपा (एकीकृत समाजवादी) रोजेपछि यो संख्या ६९ मा झरेको छ। प्रदेश सांसदहरु भने एमालेमै छन्।

तर, माधव नेपाल समूहले एमाले छाडेपछि एउटा ठूलो समूह एकीकृत समाजवादीमा लागेको छ। कास्कीमा मात्रै समाजवादीले ५ हजारभन्दा बढी क्रियाशील सदस्य बनाएको दावी गरेको छ।

नेकपा एस कास्की अध्यक्ष धनराज आचार्यले त्यो संख्या अझ बढ्ने जिकिर गरेका छन्। स्याङ्जामा पनि नेकपा एसले एमालेको भन्दा ठूला गाउँ कमिटीहरु निर्माण गरिदिएको छ। 

‘पार्टी फुटेपछि एसले ठूला कमिटी बनाएर हामीलाई दवाव दिएको छ,स्याङ्जाको आँधीखोलाकै कुरा गर्ने हो भने त्यहाँ उनीहरुले हरेक वडामा ३५ भन्दा बढी सदस्य राखेर कमिटी गठन गरिदिएका छन्’,एमाले स्याङ्जाका एक नेताले भने, ‘त्यो संख्या भनेको जित्न नभएर हराउने हैसियतको हो, समस्या यहीँ छ।’

पोखरा महानगरकै कुरा गर्ने हो भने अघिल्लो चुनावमा एमालेका उम्मेदवार मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रामजी कुँवरभन्दा १३ हजार ७०२ मतले अघि थिए। उपमेयरमा विजेता मञ्जुदेवी गुरुङ र सरस्वती गुरुङबीचको मतान्तर १२ हजार ३१० थियो ।

उपमेयरमा माओवादीकी उम्मेदवार गोमा ढकालले ८ हजार ८७६ मत प्राप्त गरेकी थिइन्। पोखरामा एमाले बलियो छ। प्रदेश सभामा कांग्रेसका विन्दुकुमार थापाले कास्की क्षेत्र नम्बर २ ख मा विजयी भएबाहेक कांग्रेसले संघ र प्रदेश सांसद जितेको छैन।

माओवादी केन्द्रभन्दा एमाले बलियो रहे पनि अहिले नेकपा एसमा गएका भनिएका ५ हजार जना एमालेको लागि टाउको दुखाइको विषय बनेको छ। 

‘उनीहरु (नेकपा एस) कहाँ ५ हजार त हैन ३५ सय जति गएका आँकलन छ’,एक एमाले नेताले भने, ‘यसरी हेर्दा हामी नै बलियो छौँ तर अहिलेकै गठबन्धन रह्यो भने अवस्था फरक हुनसक्छ, टाउको दुखाइ त्यही हो।’

ती नेताका अनुसार फुटबाट भएको क्षतिपूर्ति गराउने तथा सम्भावित गठबन्धनसँग मुकाविला गर्नको लागि एमालेले छुट्टै रणनीति बनाएको छ। त्यो हो– अन्य पार्टीका मान्छे तान्ने। यो अभियानअन्तर्गत ठूलो कसरत गरिएको र सार्थक परिणाम निस्केको पनि ती नेताले दावी गरे।

यसअघि एमालेमै रहेका र जनजाति आन्दोलनताका एमाले छाडेका र हाल जनता समाजवादीमा रहेका कास्की क्षेत्र नम्बर ३ का प्रभावशाली नेता गणेशमान गुरुङ, विवेकशील साझा पार्टीबाट विरक्तिएका र नेकपा एसमा गएकाहरुको एउटा पंक्ति पनि एमालेमा आउने भएको छ।

एमाले गण्डकीका उपसचिव रश्मी आचार्यले अन्य पार्टीबाट करिब १ हजार नेता–कार्यकर्ता एमालेमा आउने लागेको दाबी गरे।

अन्य पार्टीबाट आउनेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै हातबाट सदस्यता दिइने र पार्टी प्रवेश गराउने कार्यक्रम रहेको पनि उनले बताए।

उनका अनुसार एमाले अध्यक्ष ओली शुक्रबार पोखरामा आयोजना हुने गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन पोखरा आउने तय भएको छ। 

‘भोलि अध्यक्षकै हातबाट सदस्यता लिएर करिब १ हजार जना एमाले प्रवेश गर्दै हुनुहुन्छ’,उनले भने,‘ को–को आउने भन्ने अन्तिम लिस्ट तयार हुँदैछ।’ 

कार्यक्रम पोखरा सभागृहमा दिनको ११ बजे तय गरिएको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .