ad ad

राजनीति


दुवैतिर ‘क्रस’ भोट, एमालेले जोगाउन सकेन पाँच जनप्रतिनिधि

दुवैतिर ‘क्रस’ भोट, एमालेले जोगाउन सकेन पाँच जनप्रतिनिधि

गठबन्धनका विजयी उम्मेदवार (माथि) र एमाले उम्मेदवार


गोकुल जोशी
माघ १३, २०७८ बिहिबार १६:२२, काठमाडौँ

राष्ट्रियसभा चुनावले नेकपा एमालेलाई देशैभर धक्का लागेको छ। सत्तारुढ पाँच दलीय गठबन्धनसँग राष्ट्रिय सभा चुनावमा एमाले पराजित भएको छ। 

राष्ट्रियसभा चुनावमा पराजयसँगै धक्का बेहोरेको एमालेले चुनावकै क्रममा सुदूरपश्चिमका पाँच जना स्थानीय तहका प्रमुख/उपप्रमुख पनि गुमाएको छ। 

चुनावमा एमालेबाट विजयी पाँच जना स्थानीय तहका जनप्रतिनिधिले सत्तारुढ गठबन्धनलाई मतदान गरेका छन्।

सुदूरपश्चिमका १७५ जना स्थानीय तहका जनप्रतिनिधिमा नेपाली कांग्रेसका ७४, एमालेका ७१, माओवादी केन्द्रका १७ र एकीकृत समाजवादीका १३ जना छन्।

नेकपा (एमाले)बाट विभाजित भएर एकीकृत समाजवादी गठन हुँदा समाजवादीमा १३ जना प्रमुख उपप्रमुखले मात्रै सनाखत गरेका थिए।

राष्ट्रिसभा चुनावका क्रममा ५ जना एमालेका स्थानीय तह जनप्रतिनिधि  एकीकृत समाजवादी पार्टीमा खुलेको समाजवादीकी सुदूरपश्चिम प्रदेश सांसद दुर्गा कामीले दाबी गरिन्।

‘सनाखत गर्ने समयमा हामी १३ जना मात्रै थियौँ, अहिले चुनावमा मत बढी पाएका छौँ’ उनले नेपालखबरसँग भनिन्, ‘अहिले हामी १८ जना भएका छौँ।’

उनका अनुसार गठबन्धनलाई ‘क्रस मतदान’ गर्नेमा डडेल्धुरा, बझाङ र कैलालीका एमालेबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरु रहेका छन्।

‘सनाखत गर्ने बेला केही कारणबस छुट्नु भएको थियो। अहिले चुनावमा मतदान गरेर हामीसँग आउनु भएको हो,’ उनले भनिन्। 

१० बुँदे सहमति कार्यान्वयन नभएपछि एमाले छोडेर डडेल्धुराका डा. तारा जोशी र बझाङका भानुभक्त जोशी समाजवादीमा गएका थिएँ। 

उनीहरुकै प्रभावमा डडेल्धुरा र बझाङका एमालेबाट विजयी स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रिय सभा चुनावमा ‘क्रस मतदान’ गर्दै समाजवादीमा गएको संकेत दिएका छन्।

यस विषयमा एमाले सुदूरपश्चिमको प्रतिक्रिया बुझ्न खोज्दा कुनै पनि नेताहरु सम्पर्कमा आउन चाहेनन्।

स्थानीय तहतर्फ ७१ मतदाता भए पनि नेकपा एमालेका कुनै पनि उम्मेदवारले  राष्ट्रिय सभा चुनावमा ७१ मत पाउन सकेनन्। बरु उनीहरुले विपक्षी गठबन्धनका उम्मेदवारलाई मतदान गरेको पाइएको हो।

एकीकृत समाजवादीकी सुदूरपश्चिम इन्चार्ज समेत रहेकी महिलातर्फकी गठबन्धनकी उम्मेदवार गरिमा शाहले सर्वाधिक मत प्राप्त गरिन्। 

बुधबार सम्पन्न मतगणना अनुसार उनले स्थानीय तहतर्फ सबैभन्दा बढी १०९ जनप्रतिनिधिको मत पाइन्। जबकी गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका कूल जनप्रतिनिधि १०४ मात्रै थिए। उनले एमालेका पाँच मत पनि तानेकी छिन्। 

शाहका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमारी शर्मा थापाले स्थानीय तहतर्फ एमालेका ७१ मतमध्ये ६४ मत प्राप्त गरिन्। महिलामा स्थानीय तहतर्फ २ मत बदर भएका थिए।

गठबन्धनकै दल नेपाली कांग्रेसको तर्फबाट खुलाका उम्मेदवार नारायण मिश्रले स्थानीय तहतर्फ १०४ मत प्राप्त गर्दै विजयी भए।  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डिल्लीराम भट्टले स्थानीय तहतर्फ ६९ मत प्राप्त गरे। 

भट्टले एमालेका उम्मेदवारमध्ये स्थानीय तहतर्फ सर्वाधिक मत प्राप्त गरेका थिए। जबकी एमालेका स्थानीय तह जनप्रतिनिधि ७१ छन्। खुलामा स्थानीय तहतर्फ २ मत बदर भएका थिए।

दलिततर्फ गठबन्धनबाट माओवादीका जगत पार्कीले स्थानीय तहमा गठबन्धनका भोट भन्दा एक मत बढी (१०५ मत) प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश विकले ६७ मत प्राप्त गरे। जबकी दलिततर्फ स्थानीय तहका ३ मत बदर भएका थिए।

गठबन्धनबाट पनि ‘क्रस’
सत्तारुढ गठबन्धनबाट पनि नेकपा एमालेले ‘क्रस’ मत प्राप्त गरेको छ। प्रदेशसभातर्फ नेकपा एमालेले एक मत बढी पाएको हो।

५२ प्रदेश सांसदमध्ये सबैभन्दा ठूलो दल रहेको एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका ११ तथा लोसपा र जसपाका १/१ सांसद छन्।

रिक्त तीन सिटका लागि भएको राष्ट्रिय सभा चुनावमा सत्तारुढ गठबन्धनविरुद्ध एमाले चुनावमा उत्रिएको थियो। एमालेले लोसपाको समर्थन पाएको थियो। लोसपाको स्थानीय तहमा जनप्रतिनिधि छैन।

यी दुवैको जोडेर प्रदेश सांसदतर्फ एमालेले १२ मत पाउनु पर्ने हो। तर एमालेका खुलातर्फका उम्मेदवार डिल्लीराम भट्टले गठबन्धनको प्रदेश सांसदको एक भोट आफूतिर तानेका छन्।

प्रदेश सांसदतिर १३ मत ल्याए पनि भट्टले जित्न सकेनन्। सत्तारुढ गठबन्धनका एक प्रदेश सांसदले ‘फ्लोर क्रस’ गर्दै एमालेका उम्मेदवारलाई मतदान गरेको पाइएको हो।

सत्तारुढ गठबन्धनको प्रदेश सभातर्फ कुल ४० मतमध्ये खुलातर्फ विजयी मिश्रले ३९ मत पाए। दलित र महिलातर्फ विजयी गठबन्धनका पार्की र शाहले प्रदेश सांसदमा समान ३९/३९ सांसदको मत पाएका थिए। उनीहरुका प्रतिद्वन्द्वी एमालेका विक र थापाले १२/१२ मत प्राप्त गरे।

दलित र महिलामा प्रदेश सभातर्फ १÷१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। 

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ। स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने प्रावधान छ।

गठबन्धनका एक प्रदेश सांसदले एमालेलाई ‘क्रस’ मतदान गरेपछि यस विषयमा छानबिन हुनुपर्ने आवाज उठेको  छ। 

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले यस विषयमा छानबिन हुने बताए। 

‘गठबन्धनका दलभित्र धोका भएको छ। यो गम्भीर विषय हो,’ उनले भने, ‘हामीले आन्तरिक रूपमा यो विषयमा छानबिन गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .