ad ad

राजनीति


काबुलमा दुई घण्टाः यस्तो रह्यो नेपालको पहिलो मानवीय सहायता मिसन

विमानभित्रै छिरेर जर्ज भर्गिसले भने– म नेपालको ज्वाईं हुँ, अब मेरो पछिपछि आउनुस्
काबुलमा दुई घण्टाः यस्तो रह्यो नेपालको पहिलो मानवीय सहायता मिसन

अफगानिस्तानस्थित राष्ट्रसङ्घ प्रतिनिधि रामिज अलकबरोभलाई सहयोग सामग्री हस्तान्तरण गर्दै सहसचिव सेवा लम्साल (तस्बिरः भीष्मराज ओझा, रासस)


सन्तोष घिमिरे
माघ ३, २०७८ सोमबार २१:२९, काठमाडौँ

मानवीय सहायता बोकेर चार्टर्ड विमानमा नेपाली टोली हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थल, काबुलमा उत्रिँदा आइतबार दिउँसो स्थानीय समयअनुसार १ः४५ बजेको थियो।

६ महिनाअघि राजधानीमा तालिबान लडाकु प्रवेश गरेसँगै नेटो गठबन्धनका सैनिक र अफगान नागरिकले मुलुक छाड्दै गर्दा कयौँ दिनसम्म यो विमानस्थलमा देखिएको कोलाहलमय स्थिति हामीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा देखेका थियौँ। तर, आइतबार काबुल विमानस्थल पुग्दाको दृश्य बिल्कुलै भिन्न थियो। सीमित उडानबीच काबुल विमानस्थल निकै शान्त थियो। 

नेपाली टोलीको बसाइको सहजीकरणको जिम्मा पाएका थिए जर्ज भर्गिसले। भर्गिसको ससुराली नेपाल रहेछ भन्ने उनले परिचय दिएपछि थाहा पाइयो। 

‘मेरो नाम जर्ज भर्गिस। म नेपालको ज्वाईं हुँ। अहिले यहाँ राष्ट्रसंघीय मिसनमा प्रिन्सिपल पोलिटिकल एड्भाइजर छु। अब यहाँहरु मेरो पछिपछि आउनुहोला। केही परेमा मसँग सोझै भन्नुहोला,’ विमानभित्रै स्वागतमा आइपुगेका भर्गिसले नेपालसँगको साइनो सुनाए।

नेपाली युवतीसँग विवाह गरेका उनी नेपाली भाषामा पनि पोख्त रहेछन्। त्यसैले उनले अनुवादकको समेत काम गरे। 

विमानबाट निस्कनासाथ लामबद्ध भएर बसेका संयुक्त राष्ट्रसंघीय सहायता मिसन (उनामा) का अधिकारी र अफगानी अध्यागमन अधिकारीले राष्ट्रसंघीय एयर टर्मिनल नजिकको हवाई मैदानमा स्वागत गरे। 

सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच भएको स्वागतमा अन्तर्राष्ट्रिय समुदायले मान्यता दिइनसकेको ‘डी फ्याक्टो’ तालिबान सरकारका प्रतिनिधिको उपस्थिति चाहिँ थिएन। तर राष्ट्रसंघीय एयर टर्मिनल नजिकैको सरकारी भवनको भित्तामा टाँसिएको निलो बोर्डमा ठूला अक्षरमा लेखिएबाटै प्रस्ट हुन्थ्यो– तालिबान आफ्नो सत्तालाई चाँडोभन्दा चाँडो वैधता दिलाउन प्रयासरत छ।

बोर्डमा लेखिएको थियो ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान विश्वसँग सकारात्मक सम्बन्ध विस्तार गर्न चाहन्छ।’ 

त्यहाँ पुग्ने जो कोहीको आँखा पर्नेगरी राखिएको त्यो साइनबोर्डले तालिबान सत्ताले वैधता पाउन करिब ६ महिनायता जारी राखेको प्रयासलाई प्रतिबिम्बित गरिरहेको थियो। तालिबान सत्ताले विश्वसँग सहज सम्बन्ध बनाउने कोसिस गरे पनि कुनै पनि मुलुकले सकारात्मक प्रतिक्रिया दिएका छैनन्।

 

विमान अघिल्तिर फोटो सेसनपछि नेपाली टोलीलाई केही पर रहेको संयुक्त राष्ट्रसंघीय सहायता मिसनले चर्चेको एक तल्ले एयर टर्मिनल भवनभित्र लगियो। भवन अघिल्तिर पनि पर्याप्त अफगानी सुरक्षाकर्मी देखिन्थे। टर्मिनलभित्रको हलमा रहेका मानिसको भिड छिचोलेर नेपाली टोलीलाई भीआईपी लाउन्जमा लगियो। त्यहीँ नै औपचारिक कार्यक्रमबीच नेपाल सरकारका तर्फबाट मानवीय सहायता हस्तान्तरण गरियो। 

नेपाली टोलीको नेतृत्व गरेकी परराष्ट्र सहसचिव सेवा लम्सालले अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका नायब विशेष प्रतिनिधि डा. रमिज अलकबरोबलाई नेपाल सरकारका तर्फबाट १० टनभन्दा बढी मानवीय सहायता हस्तान्तरण गरिन्। काबुलमै रहेकी राजनीतिक मामिला हेर्ने अर्की संयुक्त राष्ट्रसंघीय नायव विशेष प्रतिनिधि मेते क्नुदसेँ पनि उपस्थित थिइन्।

हस्तान्तरण कार्यक्रममा बोल्दै सहसचिव लम्सालले अफगानिस्तानका जनताको संकट हेरेर नेपालले मानवीय सहयोग उपलब्ध गराएको बताइन्। 

साझा सभ्यता र संस्कृतिका कारण नेपाल र अफगानिस्तानबीचका जनताको मन जोडिएकाले अफगानी जनताको संकटका बेला नेपालले सानै भए पनि सहयोग गरेको बताइन्। नेपालका तर्फबाट विमान नै चार्टर्ड गरेर अन्य मुलुकमा पहिलोपटक मानवीय सहायता उपलब्ध गराउन पाउँदा सरकार खुसी रहेको बताइन्। 

‘हामी दुई मुलुक सार्कका सदस्य पनि हौँ। अफगानी जनताले अहिलेको कठ्याङ्ग्रिंदो जाडोमा भोगिरहेको मानवीय संकटमा सानै भए पनि सहयोग होस् भनेर नेपालले मानवीय सहयोग पठाउने निर्णय लिएको हो,’ लम्सालले राष्ट्रसंघीय अधिकारीसमक्ष भनिन्। 

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिवका नायव विशेष प्रतिनिधि रमिजले मानवीय संकट भोगिरहेका अफगानी जनतालाई मानवीय सहायता सामग्री जुटाउन राष्ट्रसंघ र अन्य दाताले पाँच अर्ब डलरको सहायता कोष खडा गरेको बताए। उनले नेपालले उपलब्ध गराएको सहयोगका लागि सरकार र जनतालाई विशेष आभार व्यक्त गरे। 

‘दक्षिण एसियाली क्षेत्रका मुलुकले एकले अर्कोलाई संकटका समयमा गरेको यसखाले सहयोग निकै सराहनीय छ,’ रमिजले भने। 

नेपालले दिएका मानवीय सहायतामा लत्ताकपडा, भाँडाकुँडा र औषधिलगायत वस्तु थिए। संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूचीअनुसार राहत सामाग्री पठाइएको थियो।

 

‘नेपालले उपलब्ध गराएको मानवीय सहायता हामीले कहाँ र कसरी अफगानी जनतालाई वितरण गर्यौं भन्ने जानकारी नेपाल सरकारलाई पनि दिनेछौँ,’ रमिजले नेपाली पत्रकारहरुसँग भने। 

यता औपचारिक कार्यक्रम हुँदैगर्दा उता नेपालले पठाएको चार्टर्ड उडानबाट मानवीय सहायता सहयोग सामग्रीका बोरा मैदानमा झारिँदै थियो। 

एयर टर्मिनलमा आयोजित कार्यक्रम सकेर करिब २ घण्टामा नेपाली टोली स्वदेश फर्किने बेला भइसकेको थियो। राष्ट्रसंघीय अधिकारीले नेपाली टोलीलाई विदाई गरे। स्थानीय समयअनुसार ३ बजे नेपाली टोली काठमाडौँका लागि फिर्ता भयो। 

नेपालले अफगानिस्तानलाई दिएको सहयोगको सांकेतिक अर्थ 
नेपालले समय—समयमा विदेशी मुलुकबाट मानवीय सहायता लिँदै आएको छ। तर कमै मात्र मानवीय सहायता अर्को मुलुकमा पठाएको छ। जस्तोः पूर्ववर्ती ओली सरकारले कोरोना महामारीका बेला राज्यस्तरबाटै चीनलाई मानवीय सहयोग स्वरुप एक लाख मास्क पठाइएको थियो। तर विमान चार्टर्ड नै गरेर नेपालले कुनै पनि अर्को मुलुकलाई सहायता पठाएको यो नै पहिलो भएको बताइन्छ। 

नेपालले पठाएको दस टनभन्दा बढीको मानवीय सहायताले अफगानिस्तानको मानवीय संकट हल गर्न खासै योगदान नगरे पनि सांकेतिक हिसाबले नेपालका लागि यसले ठूलो अर्थ राख्ने कूटनीतिज्ञहरु बताउँछन्। 

नेपाल अहिले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्ष छ। सार्कको अध्यक्षको नाताले सार्कको अर्को सदस्य मुलुकमा मानवीय सहायता पठाउँदा देशको प्रतिष्ठा बढ्ने आशासहित परराष्ट्रमन्त्री डा. नारायण खड्काले त्यसका लागि पहल लिए। खड्काको प्रस्तावमा अफगानिस्तानमा सहयोग पठाउने निर्णय गत बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

 

परराष्ट्रमन्त्री खड्काको पहल
अफगानिस्तान जाँदै गरेको टोलीको विदाईमा परराष्ट्रमन्त्री डा. नारायण खड्का आइतबार बिहान आफैँ त्रिभुवन विमानस्थल पुगे भने साँझ टोली फर्किंदा पनि स्वागतमा मन्त्री खड्का नै थिए। उनी आफैँले सहायता मिसनबारे विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी समेत गराए। 

‘अफगानी जनताका लागि अन्तर्राष्ट्रिय सहयोग ठप्प भएको अवस्थामा नेपालले मानवीय सहयोग पुर्याउनुपर्छ भनेर विशेष जहाजबाट सामग्री पठायौँ,’ परराष्ट्रमन्त्री खड्काले भने, ‘सरकारलाई कुनै व्ययभार नपारी निजी क्षेत्रकै सहयोगबाट हामीले इतिहासमै पहिलो पटक यस्तो सहयोग पठाउन सम्भव भयो।’ 

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार मानवीय सहायता अफगानिस्तान पठाउनेबारे कुरा उठ्दा मन्त्री खड्काकै नेतृत्वमा टोली अफगानिस्तान जानेगरी कार्यक्रमको तयारी भएको थियो। तर, मन्त्री खड्का जाँदा नेपाल सरकारले तालिबान सत्तालाई मान्यता दिएको सन्देश प्रवाह हुनसक्ने र त्यसले नेपाललाई कूटनीतिक रुपमा असहजता पैदा हुनसक्ने देखिएपछि परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले सहायता मिसनको नेतृत्व गर्ने निर्णय भयो। 

नेपाल सरकारले सोझै तालिबान अधिकारीलाई नभई संयुक्त राष्ट्रसंघमार्फत् सहायता दिने निर्णय लिनुका पछाडि समेत कारण छन्। पहिलो, राष्ट्रसंघ तुलनात्मक रुपमा तटस्थ अन्तर्राष्ट्रिय संस्था भयो र उसले वितरण गर्ने सहयता पारदर्शी हुन्छन्। दोश्रो, तालिबानमार्फत् नभई राष्ट्रसंघको च्यानलबाट सहयोग दिँदा नेपालले भूराजनीतिक अप्ठ्यारो बेहोर्नु नपर्ने भयो। किनकि, नेपालले पनि अरु मुलुकझैँ तालिबान शासनलाई मान्यता दिइसकेको छैन। नेपाल सार्कको अध्यक्ष भएकाले उसले अफगानिस्तानको तालिबानलाई सहायता सिधै दिँदा बैधता दिएको सन्देश प्रवाह हुने देखेरै राष्ट्रसंघको माध्यमबाट सहयोग दिने निर्णय लिएको अधिकारीहरुले बताए।

नेपाल र अफगानिस्तान कसरी जोडिन्छन्? 
नेपाल र अफगानिस्तान दुवै भूपरिवेष्ठित मुलुक पनि हुन्। दुवै देशको संस्कृति र सभ्यता पनि केही हदसम्म समान छ। नेपाल र अफगानिस्तानलाई जोड्ने अर्को सेतु थियो– काबुल लगायत सहरमा नेपालको उपस्थिति। सन् २००१ अघि पनि तालिबान शासन थियो। तर ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि त्यसको बदलामा आतंककारी संगठन अलकायदालाई निमिट्यान्न पार्न अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेपछि तालिबान सत्ता विस्थापित भयो। त्यसयता नागरिक सरकार गठन भए। तर अमेरिकी पहलमा तालिबानसँग वार्ता भएपनि शान्ति कायम भने हुन सकेन। 

गत अगस्ट १५ मा अमेरिकी सेनाले काबुल छोड्यो। सोही दिन काबुलमा तालिबान शासन पुनर्स्थापना भयो। २००१ देखि २०२१ सम्मको दुई दशकमा हजारौं नेपाली अफगानिस्तान गए। थुप्रैले त्यहाँ रोजगारी पाए र थुप्रैले ज्यान पनि गुमाए। कूटनीतिक सम्बन्ध भए पनि  नेपालले अहिलेसम्म अफगानिस्तानमा दूतावास खोलेको छैन। अहिले पनि केही संख्यामा नेपालीहरु काबुलस्थित राष्ट्रसंघीय एजेन्सीहरुमा सुरक्षा गार्डका रुपमा कार्यरत छन्। 

६ महिनाअघि तालिबानले शासन हातमा लिएपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आउने क्रम ठप्प भयो। यद्यपि, पछिल्ला दिनमा मानवीय सहायता भने आउन नियमित भएको छ। अफगानिस्तानको झन्डै चार करोड जनसंख्यामध्ये करिब आधा विदेशी मुलुकले दिएको मानवीय सहायतामा बाँच्न बाध्य रहेको काबुलस्थित राष्ट्रसंघीय अधिकारीहरु बताउँछन्।​​

सरकार र निजी क्षेत्रको साझेदारीमा मानवीय सहायता मिसन 
परराष्ट्रमन्त्री खड्काका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स तथा नेपालस्थित केही अवैतनिक महावाणिज्यदूतले मानवीय सहायता सामग्री नेपाल सरकारलाई उपलब्ध गराएका हुन्। 

विभिन्न मुलुकलाई प्रतिनिधित्व गर्ने महावाणिज्यदूतहरुको संस्था ‘अनररी कन्सुल कर्प्स इन नेपाल (एचसीसीसीएन)’ का अध्यक्ष लोकमान्य गोल्छा काबुल जाने टोलीमा सहभागी थिए। सरकारको मानवीय सहायता मिसनका लागि हिमालय एयरलाइन्सले निशुल्क कार्गो विमान उपलब्ध गराएको थियो।

नेपाल र अफगानिस्तानबीच सिधा उडान छैन। तर बेलाबखत राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्सको विमान काबुल चाहिँ पुगेको छ। पछिल्लोपटक २०७३ मा आतंकवादी हमलामा परी मारिएका १२ नेपालीको शव लिन एनएसीको जहाज अफगानिस्तान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .