ad ad

राजनीति


सुदूरपश्चिममा राष्ट्रियसभा चुनाव : गठबन्धनसामु एमाले कमजाेर

सुदूरपश्चिममा राष्ट्रियसभा चुनाव : गठबन्धनसामु एमाले कमजाेर

गठबन्धनका उम्मेदवार पार्की, शाह र भट्ट


गोकुल जोशी
पुस २०, २०७८ मंगलबार १७:१३, काठमाडौँ

राष्ट्रियसभा चुनावका लागि सुदूरपश्चिममा ६ जनाले मनोनयन दर्ता गराएका छन्। कैलालीको धनगढीस्थित निर्वाचन कार्यालयमा सत्तापक्षीय गठबन्धन र प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट ३/३ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

तीन जना राष्ट्रियसभा सदस्य चयनका लागि हुन लागेको चुनावमा ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। 

उनका अनुसार खुल्लामा नेपाली कांग्रेसका नारायण मिश्र (कैलाली), दलितमा माओवादी केन्द्रका जगत पार्की (डडेल्धुरा) र महिलामा नेकपा (एकीकृत समाजवादी)की गरिमा शाहले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेका तर्फबाट खुल्लामा डिल्लीराज भट्ट (कैलाली), दलितमा नरेश बिक (बैतडी) र महिलामा सन्तोष शर्मा थापा (कैलाली) ले मनोनयन दर्ता गराएका छन्। 
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन अन्तर्गत मंगलबार मनोनयन दर्ता सम्पन्न भएको हो। निर्वाचन आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन जना राष्ट्रियसभा सदस्यको ४ वर्षे पदावधि फागुन २० गते सकिँदै छ। राष्ट्रिय सभा ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।

फागुन २० गते पदावधी सकिनेमा राष्ट्रिय सभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्ट रहेका छन्। तीनै सदस्यको २०७५ असार ४ मा गोलाप्रथा गर्दा कार्यकाल ४ वर्षमा परेको थियो।

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेका उम्मेदवारहरु

यस्तो छ मतभार
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन बनाएका छन्। प्रमुख प्रतिपक्षी एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ।

कांग्रेस, माओवादी र समाजवादी पार्टी मिल्दा सुदूरपश्चिममा नेकपा एमाले कमजोर देखिएको छ। सत्तारुढ दल मिल्दा एमालेलाई सुदूरपश्चिममा साख जोगाउन चुनौती थपिएको छ। 

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ। 

सुदूरपश्चिममा स्थानीय तहका प्रमुख उपप्रमुख १७५ र प्रदेश सभा सांसद ५२ छन्। स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने प्रावधान छ।

मतभार अनुसार नेपाली कांग्रेस सबैभन्दा पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो, माओवादी र एकीकृत समाजवादी क्रमशः तेश्रो र चौथो स्थानमा छन्। 

नेपाली कांग्रेसको कुल मतभार १ हजार ९ सय ८, नेकपा एमालेको १ हजार ८ सय ६, माओवादी केन्द्र ९३०, एकीकृत समाजवादी ९०६ तथा जसपा र लोसपाको ४८/४८ मतभार छ।

नेपाली कांग्रेसका प्रदेश सांसद १२ छन् भने ७४ स्थानीय तह प्रमुख उपप्रमुख छन्। कांग्रेसको स्थानीय तह मतभार १ हजार ३ सय ३२ र प्रदेश सभा मतभार ५७६ छ।

नेकपा एमालेका प्रदेश सभा सांसद ११ र स्थानीय तह प्रमुख उपप्रमुख ७१ जना छन्। उनीहरुको मतभार क्रमशः ५२८ र १ हजार २ सय ७८ हुन्छ। 

५२ प्रदेश सभा सांसदमध्ये माओवादी केन्द्रका १३ प्रदेश सांसद र १७ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन्। उनीहरुको मतभार क्रमशः ६२४ र ३०६ हुन्छ। 

यस्तै, प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको एकीकृत समाजवादीका १४ सांसद र १३ स्थानीय तहका प्रमुख उपप्रमुख छन्। उनीहरुको मतभार क्रमशः ६७२ र २३४ हुन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .