ad ad

राजनीति


कांग्रेसका राष्ट्रियसभा उम्मेदवार : सहिद परिवारदेखि पार्टी कार्यालय मुख्य सचिवसम्म

पार्टीको आन्तरिक चुनाव हारेका तीनजनालाई टिकट
कांग्रेसका राष्ट्रियसभा उम्मेदवार : सहिद परिवारदेखि पार्टी कार्यालय मुख्य सचिवसम्म

नेपालखबर
पुस १९, २०७८ सोमबार १६:४८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो गरेको छ।

यो बैठकले पाँच दलीय गठबन्धनसँग मिलेर राष्ट्रियसभामा प्रतिस्पर्धा गर्नका लागि प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उम्मेदवार टुंगो लगाएको हो। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको उपसभापति धनराज गुरुङले बताए। 

गुरुङका अनुसार पाँच दलीय गठबन्धनसँगको सहमति अनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्र राष्ट्रियसभाका उम्मेदवार हुने भएका छन्।

जसअनुसार देउवाले संस्थापनबाट चारजनालाई राष्ट्रियसभामा उठाएका छन्। इतर समूहबाट गण्डकीमा कमल पन्त र सुदूरपश्चिममा नारायणदत्त मिश्रले राष्ट्रियसभाको टिकट पाएका छन्।

को हुन् उम्मेदवार ? 

जसअनुसार प्रदेश १ बाट राष्ट्रियसभामा उम्मेदवार बनाइएका गोपाल बस्नेत २०७४ सालमा मनोनयन सिफारिस भएर पनि रोकिएका हुन्। 

उनलाई २०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरे पनि राष्ट्रपतिको कार्यालयले रोकिदिएको  थियो। 

देउवाले राष्ट्रियसभा सदस्यमा नाम सिफारिस गरेर पनि राष्ट्रपतिले अड्काएर रोकिएका बस्नेत यो पटक पाँच दलको साथमा राष्ट्रियसभामा उठ्दैछन्। 

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सिफारिस भएका कृष्णप्रसाद पौडेल कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव हुन्। 

उनी चौधौं महाधिवेशनका क्रममा काठमाडौंमा भएको प्रतिस्पर्धामा महाधिवेशन प्रतिनिधिमै पराजित भएका थिए। 

त्यस्तै कमल पन्त पनि डा. शेखर कोइराला प्यानलबाट चौधौं महाधिवेशनमा सहमहामन्त्री पदमा पराजित भएकी थिइन्। 

लुम्बिनीबाट राष्ट्रियसभामा प्रतिस्पर्धा गर्न टिकट पाएका युवराज शर्मा कांग्रेसका पुराना नेता हुन्। उनी यसअघि बाँके जिल्ला कमिटीमा सभापति पनि भइसकेका छन्। 

अर्कातिर कर्णाली प्रदेशबाट राष्ट्रियसभाको टिकट पाएकी दुर्गा गुरुङ सहिद परिवारकी सदस्य हुन्। उनका पतिलाई माओवादीले जनयुद्धका क्रममा हत्या गरिदिएका थिए। 

त्यस्तै सुदूरपश्चिमबाट टिकट पाएका नारायणदत्त मिश्र कांग्रेसको प्रदेश सभापतिमा हालै पराजित भएका नेता हुन्। 

उनलाई देउवानिकट वीरबहादुर बलायरले प्रदेश सभापतिमा पराजित गरेका थिए। उनी पनि इतर समूह एकजना नेता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .