पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न सुझाव दिएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै पुर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका हुन्। सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दिगो नहुने तर्फ सचेत बन्न उनले आग्रह गरे।
उनले भने, ‘फलेको हाँगो झुक्छ। तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ। त्यसकारण तपाईहरुले दम्भको प्रर्दशन गर्ने होइन। मतादेश दिगो नहुन पनि सक्छ।’
उनले छिमेकी पश्चिम बंगालमा ३४ वर्ष सम्म बामपन्थीको सरकार चलेको र अहिले बंगालमा एक सिट पनि नजितेको उदाहरण समेत दिए।
दम्भकै कारण ७० बर्ष सम्म सोभियत संघमा कम्युनिस्ट शासन चलेको र त्यहा अहिले कम्युनिस्ट पार्टीको नाम निसान पनि खोज्न गाहे भईरहेको अवस्थाबाट सिक्न आग्रह गर्दै उनले भने, ‘हामीले दम्भ त्यागौँ र झुकौँ। अरुको कुरा सुनौँ। नलेज स्पिक्स, वीजडम लिसन्स। ज्ञान बोल्छ, बुद्धि सुन्छ।’
उनले सरकारका पछिल्ला कदमले सरकार केन्द्रीकरण तर्फ जान लागेको संकेत दिएको टिप्पणी गरे। गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याईएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न उनले माग गरे।
उनले भने, ‘हामी खस आर्य समुदायले एउटा उखान बनाएका छौँ। ज्वाई न स्वाई अगुल्टाले च्वाईँ। अस्ति माईतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले यसबाट हाम्रा ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री , ज्वाई मन्त्रीजीहरु पनि सर्तक हुनुहोला।’
समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका भट्टराईले बजेट विनियोजन लगायतले संघीयताको मर्म बुझ्ने दिशातर्फ सरकार नगएको स्पष्ट पारे। उनले संघीय सरकारको व्यवहारबाट अहिले प्रदेश सरकारहरु पनि सन्तुष्ट नदेखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। गत वर्ष प्रदेश र स्थानीय तहका लागि २३ प्रतिशत बजेट गएको अहिले २० प्रतिशतमा झरेको उनको भनाइ थियो।
प्रदेशमा कार्यालय खुलेपछि केन्द्रका संरचना र कर्मचारी कटौति हुनुपर्नेमा त्यसो हुन नसकेकाले पनि संघीयता बढी खर्चालु रहेछ भन्ने मानसिकता विकसित हुदै गएको उल्लेख गरे। ४७ प्रतिशत ६ प्रतिशत बहुआयामिक गरिबी भएको प्रदेश नम्बर २ मा जम्मा १५ प्रतिशत मात्रै बजेट जानु न्यायपुर्ण नहुने उनको तर्क थियो।
प्रतिक्रिया