राजनीति


गण्डकीको राजधानीमा देउवापक्षीय किशोरदत्त सभापति

गण्डकीको राजधानीमा देउवापक्षीय किशोरदत्त सभापति

फाइल तस्बिर : कास्की कांग्रेसको सभापतिमा विजयी किशोरदत्त बराल।


वाशुदेव मिश्र
मंसिर १२, २०७८ आइतबार ४:५६, काठमाडौँ

कास्की कांग्रेसको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन्। उनले ९ सय ९५ मत ल्याउँदा प्रतिस्पर्धी सुदीपमोहन भट्टराईले ९ सय १५ मत प्राप्त गरे। ८० मतले जितेका बराल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षीय हु्न्।

पहिलो चरणको चुनावमा ५ जना प्रतिस्पर्धी रहँदा किशोरदत्तले ६ सय ४४ मत प्राप्त गरेका थिए। पाँच जनामा पहिलो हुँदा उनलाई ४ सय ६९ मतसहित सुदीपमोहनले पच्छ्याएका थिए। 

कांग्रेसको विधानअनुसार सभापति हुन ५१ प्रतिशत मत चाहिन्छ। ५१ प्रतिशत मतका लागि शनिबार पुनः भएको निर्वाचनमा कूल २ हजार ८८ मतदातामध्ये १ हजार ९ सय २६ जना मात्रै मतदानमा सहभागी भएका थिए। त्यसमा किशोरदत्तले बाजी मारेका हुन्। 

तत्कालीन आर्वा गाउँ विकास समितिको अध्यक्षमा चुनाव लडेका किशोरदत्त कांग्रेसको आन्तरिक राजनीतिमा २ पटकसम्म क्षेत्रीय सभापतिमा हारेका थिए। नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष रहेका उनी १४औं महाधिवेशनका क्रममा शिक्षकबाट राजीनामा दिएर मूल राजनीतिमा होमिएका हुन्। 

कांग्रेस पुनः जागरणको नारासहित चुनावी मैदानमा होमिएका किशोरदत्तलाई कास्की कांग्रेसमा कमजोर मानिएका सभापति शेरबहादुर देउवाको समूहले अन्तिमतिर सहयोग गरेको थियो। देउवा प्यानलबाट चुनाव लड्दै गर्दा पनि किशोरदत्तले आफू विचारसहित कांग्रेसलाई बलियो बनाउन सभापतिको प्रत्यासी भएको दाबी गरिरहेका थिए। 

कास्कीलाई नेपाली कांग्रेसमा केन्द्रीय गुटको प्रभाव कम भएको जिल्ला मानिन्छ। कास्की कांग्रेसमा १५ वर्ष सभापति चलाएका शुक्रराज शर्मा कास्कीका ‘पावर सेन्टर’हुन्। कांग्रेसको संस्थापन मानिने कोइराला परिवारसँग नजिक रहेका उनकै इशारामा कास्की कांग्रेस चल्ने गर्छ।

शुक्रराजलाई अघिल्लो महाधिवेशनमा सभापतिमै हराएका कृष्ण केसीसमेत अन्तिम समयमा उनै शुक्रराजसँग झुक्न पुगे। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौेडेलनिकट केसी, पूर्वसभापति तथा मन्त्री यज्ञबहादुर थापा,शुक्रराज शर्मालगायत नेता किशोरदत्तका विरुद्धमा थिए। उनीहरूको पहिलो रोजाइमा रहेका आइबहादुर गुरुङ पहिलो चरणबाटै बाहिरिएपछि त्यो समूहले सुदीपमोहन भट्टराईलाई समर्थन गरेको थियो। 

शनिबार भएको निर्वाचनकै क्रममा पनि प्रतिस्पर्धाबाट बाहिरिएका ३ जना उम्मेदवारले विज्ञप्ति नै जारी गरेर सुदीपका पक्षमा मत मागेका थिए। तर उनीहरूको प्रयास सार्थक भएन। युवा नेता गगन थापा नेपाल विद्यार्थी संघको महासचिव हुँदा केन्द्रीय सदस्य रहेका सुदीपमोहन अन्ततः शिक्षक पृष्ठभूमिबाट सक्रिय राजनीतिमा आएका किशोरसँग हार्न पुगे। सभापतिमा किशोरदत्तले विजय हासिल गर्दा उपसभापति, सचिव, सहसचिव तथा सदस्यहरूको मतगणनाको भने अन्तिम परिणाम आइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .