ad ad

राजनीति


गरिबको निवेदन महिनौँदेखि अलपत्र तर कानुन मिचेर पहुँचवालालाई लाखौँ बाँड्दै मुख्यमन्त्री राउत

प्रदेश प्रमुख पत्नीलाई मात्रै दिए ५ लाख रुपैयाँ
गरिबको निवेदन महिनौँदेखि अलपत्र तर कानुन मिचेर पहुँचवालालाई लाखौँ बाँड्दै मुख्यमन्त्री राउत

फाइल फोटो


शैलेन्द्र महतो
मंसिर ११, २०७८ शनिबार २२:२८, जनकपुरधाम

प्रदेश २ सरकारले असहाय विपन्न तथा अशक्तलाई सहायताका लागि स्थापना गरेको मुख्यमन्त्री राहत कोषको चरम दुरुपयोग भएको छ।

मुख्यमन्त्री लालबाबु राउतले कानुन विपरीत सम्पन्न तथा पहुँचवालालाई राज्य कोषबाट वितरण गर्दा चर्को   आलोचना भइरहेको छ। 

तर पनि राउतले कानुन मिचेर मनपरी राज्य कोष दुरुपयोग गर्न छाडेका छैनन्। 

राउतले फेरि एक पटक उपचार खर्चका नाममा प्रदेश २ प्रमुख हरिशंकर मिश्रकी श्रीमती उषालाई पाँच लाख रुपैयाँ उपलब्ध गराएका छन्।

तर करिब एक सय वास्तविक विपन्न, असहाय, अशक्तले आर्थिक सहायता माग्दै महिनौअघि दर्ता गराएको निवेदनमा मुख्यमन्त्री राउतले चासो दिएका छैनन्। 

तर, पहुँचवाला प्रदेश प्रमुख मिश्रकी पत्नीलाई उपचार खर्चका नाममा आर्थिक सहायता उपलब्ध गराउन उनले कानुन नै मिचेका छन्। 

उपचार खर्च उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ लाई मिचेर मन्त्रिपरिषदबाट निर्णय गराएरै मिश्र पत्नीलाई पाँचलाख उपलब्ध गराएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

तर यस विषयमा आफुलाई केही जानकारी नरहेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले बताए।

यसअघि पूर्वमन्त्री र सांसदहरुलाई उपचार खर्चका नाममा क्याबिनेटबाट आर्थिक सहायता वितरण गरिने गरेको थियो। तर यस पटक प्रदेश प्रमुखकी श्रीमतीलाई उपलब्ध गराए वा नगराएको आफूलाई जानकारी नभएको उनले बताए।

आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम कुनै व्यक्तिलाई २५ हजारदेखि ३ लाखभन्दा बढी राज्यकोषबाट उपलब्ध गराउन मिल्दैन।

आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७६ को दफा ३ को उपदफा (१) मा ‘प्रदेशभित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेकालाई निजको जीवनयापन वा औषधोपचारका लागि प्रदेश सरकारले सहयोगस्वरुप आर्थिक सहायता प्रदान गर्न सक्ने,’ भनिएको छ।

निर्देशिकाको दफा ३ को उपदफा (३) मा ‘असहाय व्यक्तिलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म, विपन्न वर्गका व्यक्तिलाई २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म, अशक्त व्यक्तिलाई ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिका रोगीलाई बढीमा तीन लाख रुपैयाँसम्म’, उपलब्ध गराउने व्यवस्था छ।

पूर्वमन्त्री र सांसदलाई लाखौँ 

यसअघि पनि मुख्यमन्त्री राउतले कार्यविधि मिचेर पूर्वमन्त्री, सांसद र आसेपासलाई उपचार खर्च,  निजी दूध डेरी स्थापना लगायतका नाममा करोडौं बाँडिसकेका छन्।

पूर्व राज्यमन्त्री डिम्पल झालाई उपचार खर्चका नाममा प्रदेश सरकारले दुईपटक गरी १७ लाख रुपैयाँ प्रदान गरिसकेको छ। पहिलो पटक २५ भदौ २०७७ मा १० लाख रुपैयाँ र दोश्रो पटक २ वैशाख २०७८ मा ७ लाख रुपैयाँ झालाई प्रदेश सरकारले उपलब्ध गराएको थियो । 

यस्तै सांसदहरुलाई पनि पहुँचकै आधारमा मुख्यमन्त्री राउतले बेला बेला १ देखि ५ लाख रुपैयाँसम्म कोषबाट वितरण गरेको सार्वजनिक भइसकेको छ। 

३ असार २०७८ मा सिरहा क्षेत्र नं. ३ (क) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रामकुमार यादवलाई उपचार खर्चको नाममा ५ लाख दिइएको छ।

 १५ पुस २०७७ मा  कांग्रेसका सांसद शिवचन्द्र प्रसाद चौधरीलाई राउतले ४ लाख ५० हजार बाँडेका थिए। यस्तै २५ भदौ २०७७ मा जनता समाजवादी पार्टीका सांसद अशोक कुमार यादवलाई उपचारका नाममा २ लाख रुपैयाँ राज्यकोषबाट दिइएको छ।

जसपाकै सांसद भिमा यादवलाई १ लाख ५० हजार रुपैयाँ, सांसद करिमा बेगमलाई उपचार खर्चकै नाममा १ लाख रुपैयाँ, नेकपा एमालेकी सांसद जगतारेन देवी सुडी ९२ हजार २५० रुपैयाँ बाँडिसकेको मुख्यमन्त्री कार्यालय उपलब्ध गराएको आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ को तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .