ad ad

राजनीति


‘वरिष्ठ उपाध्यक्ष’ छाडे पनि ओलीले यी दुई कारण बनाउँदैनन् नेम्वाङलाई राष्ट्रपति

‘वरिष्ठ उपाध्यक्ष’ छाडे पनि ओलीले यी दुई कारण बनाउँदैनन् नेम्वाङलाई राष्ट्रपति

सीताराम बराल
मंसिर ११, २०७८ शनिबार २२:२६, काठमाडौँ

एमाले नेतृत्वमा अध्यक्ष केपी शर्मा ओली पछिको बरियता आफूले पाउने भएपछि अघिल्लो हप्तासम्म एमाले महासचिव ईश्वर पोखरेल तनावमुक्त देखिन्थे। १५–१७ असोज (२०७८) मा भएको एमाले विधान महाधिवेशनले पाँच उपाध्यक्ष समूहलाई ‘पार्टेसन’ गरेर ‘बरिष्ठ उपाध्यक्ष’ पद सिर्जना गर्नुको कारण यो पद पोखरेलका लागि ‘आरक्षण’ गरिएको भनेर बुझिएको थियो।   

चितवन महाधिवेशनमा थप दुई उपाध्यक्ष पद सिर्जना गरिँदा ‘बरिष्ठ उपाध्यक्ष’ को संख्या यथावत रहनु र यही जिम्मेवारीमा दावी गरिरहेका सुवास नेम्वाङलाई दावेदारी त्याग्न ओलीले गरेको आग्रहबाट यो कुरा अझ बढी पुष्टि हुन्छ।  

प्रतिस्पर्धाहीन रुपमा पोखरेलका लागि यो पद सुरक्षित गराउन अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन भएपछि नेम्वाङलाई अर्को आकर्षक जिम्मेवारीको ‘अफर’ गरेका छन्। 

ओलीले ‘अफर’ गरेको त्यो जिम्मेवारी हो, आगामी निर्वाचनपछि नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव। सार्वजनिक भएका समाचार अनुसार, नेम्वाङले बरिष्ठ उपाध्यक्षको दावेदारी छाडे र ‘एमालेले अवसर पाए’ राष्ट्रपति बनाउने आश्वासन ओलीले नेम्वाङलाई दिएका छन्। 

तर, शनिबार राति ९ बजे यो समाचार सामाग्री तयार पार्दासम्म ‘बरिष्ठ उपाध्यक्ष’ को दावेदारीबाट नेम्वाङ पछि हटेका छैनन्। 

अर्थात्, ओलीले गरेको राष्ट्रपतिको ‘अफर’ नेम्वाङ्गले अस्वीकार गरेका छन्। खासमा एमालेको कुनै पदाधिकारीमा ल्याउन नचाहेका ओलीले आफूलाई राष्ट्रपति बनाउलान् भन्ने विश्वास नेम्वाङलाई छैन।  

विद्या भण्डारी एमालेको उपाध्यक्ष छँदा ६ वर्षअघि एमाले–माओवादी केन्द्रको गठबन्धनबाट पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन्। ०७४ को आम निर्वाचनमा त्यही गठबन्धनले प्रचण्ड बहुमत प्राप्त गरेपछि ओलीले भण्डारीलाई दोस्रो पटक राष्ट्रपति बन्ने अवसर दिलाए।  

पार्टीभित्र राष्ट्रपतिका एकसेएक दावेदार हुँदाहुँदैपनि कनिष्ट उपाध्यक्ष भण्डारीलाई ओलीले राष्ट्रपति बनाएका थिए। 

प्रश्न उठ्छ– संविधान सभाको अध्यक्ष भइसकेका नेम्वाङले राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीको ‘अफर’ अस्वीकार गरेर ‘मानका खातिर मान’ जस्तो ‘बरिष्ठ उपाध्यक्ष’ को अडान किन नछाडेका होलान्?

यो प्रश्नको जवाफका लागि अन्य दुई प्रश्नको जवाफ खोज्नु पर्ने हुन्छ– एक, आगामी चुनावपछि एमालेले राष्ट्रपतिको अवसर पाउँछ कि पाउँदैन? दुई, फेरि पनि एमालेले राष्ट्रपतिको अवसर पायो भने ओली नेम्वाङलाई यो जिम्मेवारी दिन साँच्चै तयार होलान्? 

पहिले पहिलो प्रश्नतर्फ लागौँ।

केही दिनयता ओली लगातार नेपाली कांग्रेसलाई ‘आगामी निर्वाचनमा एक्लै–एक्लै भिडौँ’ भनेर ललकारी रहेका छन्। २० माघमा हुने राष्ट्रिय सभा र चैत्रमा हुने भनिएको उपनिर्वाचनमा समेत सत्तारुढ दलहरुले चुनावी गठबन्धन गर्ने भएपछि ओलीले एक्लै–एक्लै भिड्न कांग्रेसलाई ललकार्न थालेका हुन्।

आम निर्वाचनमा पनि सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन बन्यो भने, एमालेको हविगत कस्तो हुन्छ, ओलीलाई राम्रोसँग थाहा छ। ०७४ को कांग्रेसको भन्दा पनि ‘बुरा हालत’ हुन्छ भन्ने ओलीले बुझेका छन्। 

एक्लै–एक्लै भिड्दा कांग्रेस र एमाले हाराहारी हुन्छन् भनेरै ओलीले २०७४ को निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेका हुन्। 

विभाजनपछिको पहिलो निर्वाचनमा पार्टीको हालत कस्तो हुन्छ भन्ने बुझ्न २०४८ यताका तीन निर्वाचनलाई ‘केस स्टडी’ बनाएर विश्लेषण गरे हुन्छ।

२०४८ को आम निर्वाचनमा पूर्ण बहुमत ल्याएको नेपाली कांग्रेस पार्टीभित्रको आन्तरिक बिग्रहका कारण ०५१ को मध्यावधि निर्वाचनमा दोस्रो स्थान (८३ सिट) मा खुम्चिन पुग्यो। 

२०५४ को स्थानीय निर्वाचनमा दुई तिहाई भन्दा बढी स्थानीय निकाय जितेको एमालेको हालत ०५६ को निर्वाचनमा ०५१ को कांग्रेसको भन्दा पनि गएगुज्रेको थियो। एमाले ७३ सिटमा मात्र विजयी भएको थियो। 

पहिलो संविधान सभा निर्वाचनमा कांग्रेस–एमाले सिटसंख्या जोड्दापनि दोब्बर (प्रत्यक्षतर्फ २ सय ४ मध्ये १ सय २१) सिटमा विजय हासिल गरेको माओवादी विभाजनका कारण २०७० को निर्वाचनमा प्रत्यक्षतर्फ २६ सिटमा सीमित हुन पुगेको थियो।

विभाजनपछिको चुनावमा ठूला पार्टीले बेहोर्नुपर्ने हविगत यही हो। यो नजिर फेरबदल गर्न सक्ने स्थितिमा ओली छैनन्, चाहे जतिसुकै आक्रामक रुपमा एमाले निर्वाचनमा उत्रियोस्।

बरु, ‘झण्डै दुई तिहाई बहुमत रहेको संसद दुई–दुई पटक विघटन गर्ने, अनि अहिले बहुमतका लागि भोट माग्ने?’ भनेर विपक्षीले भनिदिनासाथ ‘रक्षात्मक’ हुनुपर्ने स्थितिमा एमाले छ।

यो अवस्था ओलीले पनि बुझेका छन्। त्यसैले त, ‘एमालेलाई राष्ट्रपतिको अवसर आए तपाईंलाई राष्ट्रपति बनाउँला’ भनेर नेम्वाङलाई भनेका होलान्। नत्र, ‘आगामी निर्वाचनमा एमालेले जित्छ, अनि तपाईं पक्का राष्ट्रपति’ भन्थे होलान् नि।

हो, कसैको बहुमत नरहेको संसद अर्थात् ‘हङ्ग पार्लियामेन्ट’ बन्यो, सबै दल मिल्दापनि एमालेको समर्थन विना सरकार बन्न नसक्ने स्थिति आयो भने चाहिँ एमालेले राष्ट्रपतिको अवसर पाउन सक्ला।

तर, त्यो स्थितिमा ओलीले नेम्वाङका लागि राष्ट्रपति कि आफ्ना लागि प्रधानमन्त्रीको दावी गर्लान्? ‘माधव नेपाललाई समयमै कार्वाही गर्न नदिएको’ र ‘संसद विघटनको दह्रो समर्थन नगरेको’ अभियोग खेपिरहेका नेम्वाङका लागि ओलीले राष्ट्रपतिका लागि कांग्रेस र माओवादीसँग ‘बार्गेनिङ’ गरिदेलान्?

मानौँ, विभाजनका बाबजुद ओलीको नेतृत्वमा एमालेले आफ्ना उम्मेदवार राष्ट्रपतिमा विजयी हुन सक्ने गरी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा विजय हासिल गर्यो। 

एमाले एक्लैको यस्तो प्रचण्ड विजयको स्थितिमा के ओलीले नेम्वाङलाई नै राष्ट्रपति बनाउलान्? 

यो स्थितिमा झन् नेम्वाङले राष्ट्रपति बन्ने अवसर पाउने छैनन्। आफ्नो दिग्विजयको स्थितिमा ओलीले नेम्वाङजस्ता ‘सन्तुलनकारी’ र अपेक्षाकृत ‘समझदार’ नेतालाई होइन, कुनै ‘एसम्यान’ लाई राष्ट्रपतिमा अघि सार्नेछन्। नभए राष्ट्रपतिको अनुभवप्राप्त विद्या भण्डारी ‘योग्य उम्मेदवार’ छँदैछिन्।

​ओलीको ‘दिग्विजय’ को स्थितिमा उनले राष्ट्रपतिको उम्मेदवारका सम्बन्धमा गर्ने निर्णयविरुद्ध कसैले प्रश्न उठाउन पनि सक्नेछैन। २०७२ र ०७४ को राष्ट्रपति निर्वाचन हेरे यो कुरा प्रष्ट भइहाल्छ।

संविधान जारी गरेको दोस्रो संविधान सभामा माओवादीको सहयोग प्राप्त गर्दा ओलीका उम्मेदवारले राष्ट्रपतिमा विजय हासिल गर्ने स्थिति थियो। भूमिका र योग्यताका दृष्टिले दुई–दुई संविधान सभाको अध्यक्षको जिम्मेवारी सम्हालेका सुवास नेम्वाङ सबैभन्दा सशक्त दावेदार थिए।   

पार्टी अध्यक्षमा पराजयका कारण राजनीतिमा त्यति सम्भावना नदेखिरहेका माधव नेपाललाई राष्ट्रपतिका रुपमा अघि सारिएको खण्डमा उनीपनि ‘नाइँ’ भन्ने स्थितिमा थिएनन्। झलनाथ खनालले त दावेदारी नै पेश गरेका थिए।अष्टलक्ष्मी शाक्यपनि यो जिम्मेवारीको आकांक्षी थिइन्। 

नेपाल, खनाल र शाक्य त ओलीविरोधी भइगए, ओलीको निगाह प्राप्त गर्न सकेनन्। तर, संविधान सभाको अध्यक्ष र आफू निकट नेम्वाङलाई समेत ओलीले राष्ट्रपतिको ‘अफर’ गरेनन्। जबकि एमाले र एमाले इतर पंक्तिले पनि नेम्वाङ यो सर्वोच्च जिम्मेवारीका हकदार र योग्यपात्र हुन् भन्ने धारणा राख्थ्यो।  

२०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्रसहितको वामगठबन्धनले प्रचण्ड विजय हासिल गरेपछि पनि ओलीले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै अघि सारे। नेम्वाङ यसपटक पनि सामान्य चर्चामा मात्र खुम्चिए। 

एमालेको भागमा परेको राष्ट्रपतिबारे एकातिर प्रचण्डले बोल्न सक्ने स्थिति थिएन। ‘राष्ट्रपति नहुने हो भने उहाँ (विद्या भण्डारी) ले पार्टी राजनीतिमा फर्कन्छु भन्नु भएको छ’ भन्ने सन्देश ओलीले दिएपछि प्रचण्ड र माधव नेपाल दुबै चुप लागे। 

त्यसपछि भण्डारी राष्ट्रपतिमा दोहोरिइन्। ओलीको ‘दिग्विजय’ को बेला न कसैले उनीविरुद्ध आवाज उठाओस्, न आवाज उठेपनि ओलीको कानमा बतास चलोस्।

प्रधानमन्त्री आफू र राष्ट्रपति भण्डारीलाई सुरक्षित गरेपछि ओली माओवादीको भागमा परेको प्रतिनिधि सभाको सभामुख पद नेम्वाङलाई दिलाउन निकै पापड बेलेजस्तो गरेर लागिरहे। नेम्वाङ पनि ‘ओली मेरो दाहिना हुनुहुन्छ’ हुनुहुन्छ भन्ने ठानेर उनकै पछाडि दौडिरहे। आफू इतर समूहविरुद्ध ओलीले गर्ने षडयन्त्रमा सामेलपनि भइरहे।  

ओली भण्डारीलाई नै किन दोहोर्याएर राष्ट्रपति बनाउन चाहन्थे, नेकपा अन्तरद्वन्द्वमा भण्डारीको विवादित भूमिका र असम्बैधानिक तवरले भएका दुई–दुई पटक प्रतिनिधि सभा विघटनलाई विलम्ब नगरी उनले सदर गरेको घटनाले प्रष्ट पारिसकेको छ। 

मानौँ, कथं २०७४ कै जस्तो अनुकूल स्थिति आयो भने पक्का छ– ओलीले तेस्रो कार्यकालका लागि पनि भण्डारीलाई नै राष्ट्रपतिका रुपमा अघि सार्नेछन्। अर्थात् फेरि पनि आफू प्रधानमन्त्री, भण्डारी राष्ट्रपति। 

गत सालपनि ओलीले नेम्वाङलाई यस्तै ‘ललिपप’ देखाएका थिए। जब प्रधानमन्त्रीको कुर्सी धर्मराउन थाल्यो, ओलीले नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आफूपक्षीय नेताहरुमार्फत् प्रचण्ड–नेपाल समक्ष पुर्याएका थिए। 

त्यो बेला नेम्वाङ ओलीकै कोटरीका बरिष्ठ नेता थिए। नेकपाका दुई गुटहरुले गर्ने कार्यक्रममध्ये नेम्वाङ ओली समूहका कार्यक्रममा ओलीसँगै कुम मिलाएर बसेका भेटिन्थे। 

तर, आफैले प्रस्ताव गरेका प्रधानमन्त्रीका उम्मेदवार नेम्वाङको विकल्पमा नेकपामा गम्भीरतापूर्वक कुरै हुन नपाई ओलीले संसद विघटन गरिदिए। 

दोस्रो विघटनपछि नेम्वाङ बालुटारमा कम देखिन थाले। ओलीको ‘बार्दली भाषण’ पछि नेम्वाङ बालकोट गएको पनि हत्पति सुनिएन।

ओलीले भने संसद विघटनको समर्थन र सर्वोच्च अदालतबाट विघटनलाई सदर गराउन भूमिका नखेलेको भन्दै आफ्नो कोटरीका सदस्यमाझ नेम्वाङको आलोचना गर्न थालिसकेका थिए।  

‘सर्पको खुट्टा सर्पले देख्छ’ भनेझैँ झण्डै तीन वर्ष ओलीको कोटरीका सदस्य रहेका नेम्वाङले ओलीलाई नजिकबाट हेरेका छन्, सुनेका छन्, तौलेका छन् र पर्गेलेका पनि छन्। र, ओलीको ‘ललिपप’ ले उनलाई शनिबार साँझ १० बजेसम्म आकर्षित गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .