राजनीति


देउवालाई साथ दिएर कांग्रेस पदाधिकारी ताक्दै गण्डकीका मुख्यमन्त्री

देउवालाई साथ दिएर कांग्रेस पदाधिकारी ताक्दै गण्डकीका मुख्यमन्त्री

नवलपुर कांग्रसको निर्वाचनमा सहभागी हुँदै मुख्यमन्त्री पोखरेल। तस्बिर : नेपालखबर


वाशुदेव मिश्र
मंसिर ७, २०७८ मंगलबार २२:२५, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने सुरसार गरेका छन्। उनले सहमहामन्त्री पद ताकेका छन्। 

नवलपुरको ३ कार्यकाल सभापति भएका उनी मुख्यमन्त्री बनेसँगै पार्टीमा पनि नयाँ भूमिका खोज्ने अभियानमा लागेका हुन्। 

उनले नवलपुरबाट खुल्लातर्फ केन्द्रीय प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। उनी पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालानिकट नेता हुन्। उनी १३ औँ महाधिवेशनमा उम्मेदवार थिएनन् ।  

देउवा-शशांक समीकरणका सूत्रधार 

असोजको अन्तिम साता कांग्रेस सभापति शेरबहादुर देउवा पोखरा आउँदा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भनेका थिए, 'शशांकलाई मिलाउनुस्,म तपाईंसँगै छु।’

देउवा अहिले सभापति दोहोर्‍याउने मुडमा छ। आजीवन वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कोइराला क्याम्पमा रहेका कृष्णचन्द्र नेपालीको कुरालाई राजनीतिक खेलाडी देउवाले नबुझ्ने कुरै थिएन।

आफ्नो पक्षमा रहेका डलर अर्बपति विनोद चौधरीलाई शशांकको गृहजिल्ला नवलपुरबाट राजनीतिमा उतारेका देउवा कृष्णचन्द्रको सुझावअनुसार अघि बढे। 

पोखरेलले १४ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा चौधरीलाई सर्वसम्मत केन्द्रीय प्रतिनिधि बनाए भने आफू अनुकूलको गठबन्धन निर्माणसँगै रामचन्द्र पक्षलाई बाहिर पारिदिए।

देशभर सभापति देउवा र वरिष्ठ नेता  पौडेल  प्यानलबीच प्रतिस्पर्धा भइरहेको बेला  नवलपुरमा सभापति देउवा र महामन्त्री शशांक कोइराला पक्षबीचको प्यानल बन्यो। 
शशांकको चुनावी क्षेत्र नवलपुर क्षेत्र नम्बर १ मा देउवा–कोइरालापक्षबाट कमलप्रसाद पराजुली क्षेत्रीय सभापतिका उम्मेदवार बने भने पौडेल पक्षबाट अमृत भट्टचनको प्यानल बन्यो। 

नवलपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा देउवा–कोइराला प्यानलबाट जगतबहादुर कार्की र पौडेल पक्षबाट सूर्य गुरुङ उम्मेदवार बने। 

नवलपुर जिल्ला सभापतिमा पनि प्यानलसहित निर्वाचन हुने अवस्था छ। जिल्ला सभापतिमा देउवा–कोइराला पक्षबाट मदनभक्त अधिकारी उठेका छन् भने पौडेल पक्षबाट महेन्द्रध्वज जिसीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। 

यो गठबन्धनसँगै आफू कमजोर भएको गण्डकीमा प्रभाव बढाउने सुरसारमा सभापति देउवा देखिएका छन्। लामो समयसम्म आफूलाई सघाएका नेता नै अर्को ध्रुवमा गएपछि रामचन्द्र पक्ष संकटमा परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .