राजनीति


देउवाको गृहप्रदेशमा सभापतिको होड, पूर्वमन्त्री र सांसद पनि मैदानमा

देउवाको गृहप्रदेशमा सभापतिको होड, पूर्वमन्त्री र सांसद पनि मैदानमा

फाइल तस्बिर


केशव सावद
मंसिर १, २०७८ बुधबार १४:४१, काठमाडौँ

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वमन्त्रीहरूदेखि जिल्ला सभापतिसम्म आकांक्षी देखिएका छन्। 

दशैंतिहार सकिएपछि १४ औँ महाधिवेशन प्रक्रिया अघि बढेसँगै सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा चुनावी दौड सुरु भएको हो। 

कांग्रेसले दशैंतिहार, नेपाल सम्बत र छठ पर्वका कारण स्थगित भएको महाधिवेशन प्रक्रिया गत शनिबारदेखि सुरु गरेको छ।

क्रियाशील सदस्यता र समायोजनमा विवाद देखिएपछि महाधिवेशन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लामा कांग्रेसले गत शनिबारदेखि वडा अधिवेशन सुरु गरेको हो। 

कांग्रेसले पछिल्लो समयमा संशोधन गरेको विधानले पार्टीको प्रदेश कार्यसमितिलाई बलियो बनाएपछि नेतृत्व लिने आकांक्षीहरु पनि बढेका हुन्। 

जसकारण केन्द्रीय कार्यसमितिमा अटाइसकेका, संविधान लेखनमा भूमिका निर्वाह गरिसकेका, सरकार सञ्चालनमा सहभागी भइसकेका नेताहरु पनि प्रदेश कार्यसमिति नेतृत्व लिने दौडमा छन्। 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा यो सूची लामो छ। सुदूरपश्चिम प्रदेश कार्यसमितिको सभापतिका लागि केन्द्रीय सदस्य वीरबहादुर बलायर, संविधानसभा सदस्य बहादुरसिंह थापा, पूर्वराज्यमन्त्रीद्वय गोविन्द शाह र नरेशबहादुर सिंह आकांक्षीका रुपमा देखिएका छन्। 

यस्तै सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापतिका लागि प्रदेशसभा सदस्य भरतबहादुर खड्का, कैलाली सभापति नरनारायण शाह ‘मनु’ ले पनि आकांक्षा राखेका छन्। 

प्रदेश कार्यसमिति सभापतिका आकांक्षीमध्ये प्रदेशसभा सदस्य खड्काबाहेक सबै संस्थापन पक्षीय नेताहरु हुन्।  

केन्द्रीय सदस्य रहेका डोटीका बलायर नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिबाट जिल्ला सभापति हुँदै मन्त्री भइसकेका छन्। 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी बलायर सभापति देउवा चौथो कार्यकालमा प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए। 

संविधानसभा सदस्य थापा कांग्रेस कञ्चनपुरका पूर्वसभापति हुन्। उनले २०५७ देखि २०७२ सम्म कांग्रेस कञ्चनपुरको नेतृत्व गरिसकेका छन्। जिल्ला नेतृत्वमा आउनु अघि उनी २०४७ सालदेखि दुई कार्यकाल क्षेत्रीय सभापति थिए। 

प्रदेश सभापतिका आकांक्षी पूर्व राज्यमन्त्री शाह पनि विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गर्ने नेतामा पर्छन्। उनी २०४८ सालमा अछामबाट सांसद भएका थिए। 

शाह २०५६ अछामबाट दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए। त्यो बेला उनले नेकपा एमालेका नेता भीम रावललाई पराजित गरेका थिए। रावललाई पराजित गरेर सांसदमा निर्वाचित भएका शाह सञ्चार राज्यमन्त्री बनिसकेका छन्। 

अर्का राज्यमन्त्री सिंह पनि नेविसंघकै उत्पादन हुन्। उनी नेविसंघको केन्द्रीय उपसभापति बनिसकेका छन्। प्रदेश कार्यसमिति सभापतिका आकांक्षी सिंह जिल्ला विकास समिति बझाङको सभापति भइसकेका छन्। 

सुदूरपश्चिममा संस्थापन इतर समूहबाट प्रदेश कार्यसमिति सभापतिको आकांक्षा राखेका खड्का प्रदेशसभा सदस्य हुन्। उनी २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक सदस्य थिए।  
१२ औं महाधिवेशनमा कांग्रेस डोटीको सभापतिमा बलायरसँग पराजित भएका खड्का जिल्ला विकास समितिका सभापति भइसकेका छन्। 

प्रदेश कार्यसमिति सभापतिमा कांग्रेस कैलालीका सभापति शाहको नाम पनि चर्चामा छ। उनी दुई कार्यकाल जिल्ला सभापति भइसकेका छन्। दुई कार्यकाल जिल्ला सभापति भइसकेकाले विधानतः उनी जिल्लामा फेरि दाबी गर्न पाउने छैनन्। 

फेरि सुरु 
१३ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न गरेर कांग्रेसले मंसिर ३ गते जिल्ला अधिवेशन हुन बाँकी ६४ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन सुरु गर्ने कार्यतालिका बनाएको छ। 

कांग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो। जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ÷नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। 

कांग्रेसले ५१ जिल्लाहरुमा दसैँअघि नै वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गरिसकेको छ। हिमालका १३ जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ। 

२१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन भएको छ।

कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र गत शनिबार वडा अधिवेशन सुरु भएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन तयारी गरेको छ। 

कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ। 

कांग्रेसमा प्रदेश कार्यसमिति नयाँ व्यवस्था हो। कार्यसमितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिएको छ। 

प्रदेश अधिवेशन संयोजक
प्रदेश अधिवेशन सम्पन्न गर्न कांग्रेस केन्द्रीय कार्यसमितिले प्रदेश अधिवेशन आयोजक समिति गठन गरिसकेको छ। कात्तिक २८ गते सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सात वटै प्रदेशका साग समिति गठन गरेको हो। 

प्रदेश १ का लागि केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, प्रदेश २ का लागि केन्द्रीय सदस्य रमेश रिजाल, बागमती प्रदेशका लागि केन्द्रीय सदस्य प्रकाशमान सिंह, गण्डकी प्रदेशका लागि केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशका लागि, केन्द्रीय सदस्य बालकृष्ण खाँण, कर्णाली प्रदेशका लागि केन्द्रीय सदस्य जीवनबहादुर शाही र सुदूरपश्चिमका लागि केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा समिति गठन गरिएको छ। 

बैठकले प्रदेश १ को विराटनगरमा प्रदेश २ को जनकपुरमा, बागमती प्रदेशको हेटौडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यसमिति चयनका लागि धनगढीमा अधिवेशन गर्ने पनि निर्णय गरेको छ। 

कांग्रेसको प्रदेश समिति
(क) प्रदेश अधिवेशनका प्रतिनिधिले कम्तिमा पन्ध्र वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको प्रदेश भित्रका प्रदेश अधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेको सभापति।

(ख) प्रदेश अधिवेशनका प्रतिनिधिले कम्तिमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका प्रदेशभित्रका प्रदेश अधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका प्रदेश कार्यसमितिका उप–सभापति दुई, महामन्त्री दुई र एक महिलासहित सह–महामन्त्री तीन।

(ग) सभापतिले प्रदेश कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक ।

(घ) प्रदेश अधिवेशन प्रतिनिधिले कम्तिमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको प्रतिनिधिमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रको कुल सङ्ख्यामा एक तिहाइ सङ्ख्यामा प्रत्यक्ष निर्वाचित गरेको सदस्य।

(ङ) प्रदेश अधिवेशन प्रतिनिधिले कम्तिमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको प्रतिनिधिमध्येबाट प्रत्येक जिल्लाबाट कम्तिमा एक महिला हुने गरी दुई जना प्रत्यक्ष निर्वाचित सदस्य।

(च) कम्तिमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट कम्तिमा एक जना सदस्य हुने गरी माथि (घ) र (ङ) बमोजिम प्रत्यक्ष निर्वाचित सदस्य सङ्ख्याको दुई तिहाई सङ्ख्यामा प्रदेशको जनसङ्ख्याको बनोटअनुसार, तोकिए बमोजिम समानुपातिक आधारमा निर्वाचित सदस्य।

(छ) अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये निर्वाचित सदस्य एक।

(ज) सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कुल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न सक्नेछ।

(झ) प्रदेश संसदीय दलको नेता प्रदेश कार्यसमितिको पदेन सदस्य हुनेछ।

(ञ) प्रदेश भित्रका जिल्ला कार्यसमितिका सभापतिलाई प्रदेश कार्यसमितिको
बैठकमा अनिवार्य आमन्त्रण गरिनेछ।

(ट) प्रदेश कार्यसमितिमा प्रत्येक समावेशी समूहबाट कम्तिमा महिला एक र
पुरुष एक हुनु पर्नेछ।

(ठ) प्रदेश कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तिमा एक पटक
बस्नेछ।

प्रदेश कार्यसमितिको काम, कर्तव्य र अधिकार 
(क) प्रदेश भित्रका जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबीच समन्वय गर्ने, पार्टीको हितमा आवश्यक सहयोग र निर्देशन दिने। 

(ख) संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा प्रदेश भित्रका पार्टीका सबै निकायलाई परिचालन गर्ने, समन्वय गर्ने र आवश्यकतानुसार निर्देशन दिने। 

(ग) प्रदेश भित्र पार्टीको हितका लागि आवश्यक सबै कार्य गर्ने, गराउने। 

(घ) जिल्लाबाट प्राप्त नेपाली कांग्रेसको क्रियाशील सदस्यताको र सदस्यता नवीकरणको अभिलेख राखी केन्द्रमा पठाउने। 

(ङ) प्रदेश सम्मेलन, प्रदेश अधिवेशन र प्रदेश कार्यसमितिका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने र कार्यान्वयन भए नभएको अनुगमन गर्ने। 

(च) प्रदेश सम्मेलन, प्रदेश अधिवेशन, प्रदेश कार्यसमितिको बैठक नभएको बेला आवश्यक विषयमा निर्णय गर्ने र पछि हुने प्रदेश सम्मेलन वा प्रदेश अधिवेशनमा त्यस्तो निर्णय पेश गर्ने। 

(छ) प्रदेश सम्मेलन र प्रदेश अधिवेशनमा प्रतिवेदन तथा प्रस्ताव पेश गर्ने। 

(ज) पार्टीको आचारसंहिता पालना गराउने र अनुशासन कायम राख्ने। 

(झ) प्रदेश स्तरमा आवश्यकताअनुसार काम, कर्तव्य र अधिकार तोकी यस विधानमा उल्लेख गरिएका बाहेकका अन्य विभिन्न विभागहरू तथा निकायहरू गठन गर्ने। 

(ञ) प्रदेश अधिवेशन र प्रदेश सम्मेलनद्वारा स्वीकृत कार्यक्रम र घोषणा पार्टीको प्रदेशसभा संसदीय दललाई उपलब्ध गराउने तथा प्रदेशसभा संसदीय दलको प्रतिवेदन प्रदेश अधिवेशन र प्रदेश सम्मेलनमा प्रस्तुत गर्ने। 

(ट) धारा ३२ बमोजिम मातहत निकायबाट प्राप्त रायसहित पार्टीको तर्फबाट उम्मेदवारको नाम सिफारिस र निर्णय गर्ने। 

(ठ) पार्टी प्रदेश सरकारमा सहभागी हुने वा नहुने वा कसैलाई समर्थन गर्ने वा नगर्ने सम्बन्धमा केन्द्रसँग समन्वय गरी नीतिगत निर्णय गर्ने र सरकारमा सहभागी हुने अवस्थामा केन्द्रको स्वीकृतिमा प्रदेश सरकारमा जाने मन्त्रीको मापदण्ड तयार गर्ने। 

(ड) प्रदेशभित्र संसदीय निर्वाचन र स्थानीय निर्वाचनमा पार्टीको पक्षमा प्रचार प्रसार गर्ने गराउने, पार्टीको स्थितिको मुल्यांकन गर्ने र त्यसपछि हुने प्रदेश सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्ने। 

(ढ) प्रदेशका समस्याको समय समयमा जानकारी लिई भ्रातृ÷शुभेच्छुक संघ संस्था, जिल्ला र क्षेत्रीय समिति, सरकारी र गैरसरकारी सामाजिक संघ संस्थासँग सम्पर्क राख्ने र समस्या भए समाधानको लागि आवश्यक कार्य गर्ने। 

(ण) केन्द्रका निर्णय र निर्देशनको पालना गर्ने, गराउने। 

(त) पार्टीको उद्देश्य, नीति, कार्यक्रम, घोषणापत्र र पार्टी साहित्य आदिको व्यापक प्रचार प्रसार गर्ने, गराउने। 

(थ) समय समयमा प्रशिक्षण, गोष्ठी, शिविर र भ्रमण आदिको आयोजना गर्ने गराउने। 

(द) महत्वपूर्ण अवसरमा रक्तदान, वृक्षारोपण, सरसफाइ वातावरण संरक्षण आदि रचनात्मक र समाजसेवाका कार्यक्रम गर्ने, गराउने । 

(ध) प्रदेश कार्यसमितिले आफ्नो प्रदेशभित्र तोकिएका बाहेक आवश्यकता अनुसार विभिन्न समिति, उपसमिति गठन गर्न गराउन सक्नेछ। 

(न) प्रदेश कार्यसमितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .