राजनीति


देउवालाई गगनको प्रश्न : कार्यकर्ता अनसनमा छन्, पार्टी कार्यालयबाट भागेर कति दिन चल्छ?

देउवालाई गगनको प्रश्न : कार्यकर्ता अनसनमा छन्, पार्टी कार्यालयबाट भागेर कति दिन चल्छ?

फाइल तस्बिर


केशव सावद
कात्तिक २८, २०७८ आइतबार १८:१८, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले देशका विभिन्न जिल्लामा देखिएका विवाद समाधान नगरी कांग्रेस महाधिवेशन अघि बढ्न नसक्ने बताएका छन्। 

रौतहट र डडेलधुरासहितका जिल्लाका कार्यकर्ता पार्टी मुख्यालय सानेपामा अनसन बसेपछि त्यसलाई छल्न सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बैठक राखेपछि नेता थापाले कटाक्ष गरेका हुन्। 

उनले पार्टी कार्यालयबाट भागेर हिँड्नुपर्ने अवस्था अन्त्यका लागि सभापति देउवाले उचित निर्णय लिनु आवश्यक रहेको पनि बताएका छन्। 

'रौतहटका कार्यकर्ता ११६ दिनदेखि सानेपामा अनसन बसेका छन्। त्यही कारण हामी भागेर बूढानीलकण्ठमा बैठक बसेका छौँ', थापाले भने, 'हामी यसरी सानेपाबाट भाग्नु परेको छ। हामी कसरी अघि बढ्ने हो? तपाईँकै जिल्ला डडेल्धुराका मान्छे सानेपा बसेका छन्।'

उनले देउवाले आफ्नै गृह जिल्लाको विवाद समाधानमा पनि चासो नदिएको बताए। 'तपाईंको जिल्लाको कुरा मैले भनेर हुने होइन। मैले छोएर हुने होइन', थापाले थपे, 'पार्टी कार्यालय छोडेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने? अनसन अन्त्य गर्ने कि नगर्ने?'

थापाले पार्टी कार्यालयबाट भागेर देउवा सुतुरमुर्ग शैलीमा मुन्टो लुकाएर हिँडिरहेको पनि आरोप लगाए। 

'सुतुरमुर्ग शैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने? अवस्था सुधार गर्ने कि नगर्ने? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यकर्ता आउँछन्। उनीहरुका कुरा कसले सुनिदिने?', थापाले देउवालाई प्रश्न गरे, 'हामी सबै यहाँ बसेका छौँ। यी समस्या कसरी टुंगो लगाउने? समस्या समाधान नगरी कसरी प्रस्ताव पास हुन्छ? पास पास मात्र भनेर हुन्छ?'

अदालतबारे बोलौँ 
नेता थापाले सर्वोच्च अदालतमा चार सातादेखि जारी विवाद चर्किएमा यो व्यवस्थाले नै मूल्य चुकाउने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे। 

'सम्मानित अदालतमा भइरहेको अहिलेको समस्या अझै चर्कियो भने व्यवस्थाले नै मूल्य चुकाउनु पर्छ', थापाले अगाडि भने 'अदालतको समस्या तत्काल साधान नगर्ने हो भने महाधिवेशनसम्म देशको अवस्था बिथोलिन्छ। हामी चुप लाग्न मिल्दैन।'

थापाले १४ औँ महाधिवेशनका विवाद अझै कायमै रहेको तर्फ देउवाको ध्यानाकर्षण गराए। 'अझै पनि महाधिवेशन केन्द्रित विवाद कायम छन्। यसमा गम्भीर हुनुपर्छ', उनले थपे, 'यसमा सभापतिको ध्यान जानुपर्छ। जनसम्पर्क र भातृ संस्थाको महाधिवेशन हुन नसकेकाले प्रतिनिधि आउन पाउने, नपाउने प्रष्ट हुनुपर्छ। महाधिवेशनले नीति कार्यक्रम बनाउने भन्ने हो। विधानको यो व्यवस्थाले के गर्ने? निलम्बन गर्ने कि के गर्ने?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .