ad ad

राजनीति


अन्तिमसम्मै टिकेर रावलले देलान् अध्यक्षमा ओलीलाई टक्कर?

अन्तिमसम्मै टिकेर रावलले देलान् अध्यक्षमा ओलीलाई टक्कर?

सागर न्यौपाने
कात्तिक २४, २०७८ बुधबार २१:१६, काठमाडौँ

‘मलाई कार्यकर्ताले अध्यक्षमा उठ्नु भनेका छन्। तपाईंहरुले पनि त्यही भन्नु भएको छ। तपाईंहरुको यो आवाजलाई कमजोर हुन दिन्नँ,’ अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई कात्तिक २३ गते सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले भने, 'मुख्य कुरा त देशको लागि, समानताका लागि झण्डा उठाउने कुरा हो। कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु।'

एमालेको आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा निर्विरोध अध्यक्ष बन्ने चाँजो मिलाएका केपी शर्मा ओलीलाई रावलले टक्कर दिन खोजेका छन्।

२०७८ असार २७ गते रावलसहितका नेताहरुसँग भएको दस बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै रावलले अब अध्यक्ष उठेर सबैलाई न्याय गर्ने बताएका हुन्।

रावलले नवौँ महाधिवेशनमा उपाध्यक्षमध्ये सबैभन्दा बढी १ हजार १४३ मत ल्याएर उपाध्यक्ष जितेका थिए। यद्यपि उनी आफ्नो बोलीमा टिक्छन् या टिक्दैनन्, अहिले नै भन्न कठिन छ। 

रावलले २०७८ भदौ १ गते पार्टी विभाजनसँगै माधवकुमार नेपालको साथ छाडेका थिए। दस बुँदे कार्यान्वयन हुने भन्दै उनी एमालेमै रोकिए। तर, उनले भनेजस्तो जेठ २ को अवस्थामा पार्टीलाई लैजान अध्यक्ष ओली तयार भएनन्।

त्यसपछि कात्तिक २३ गतेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिस्कार गरे। रावलले अध्यक्षमा उम्मेदवारी दिए भने महाधिवेशनको रौनक फरक हुने देखिन्छ। 

किनकि अध्यक्ष मात्र होइन पदाधिकारीमा समेत ओलीले चुनाव गराउन चाहेका छैनन्। तर, रावल यतिबेला एमालेमा लगभग एक्लैजस्तो भइसकेको नेताहरुले बताएका छन्। उनले भने एक्लै भए पनि चुनाव लड्ने संकेत गरेका छन्। 

'चुनावमा उठेपछि नहार्ने को छ र? आठौं महाधिवेशनमा केपी ओली र म एकै प्यानलमा हारेका थियौँ। म संविधानसभामा हारेको थिएँ, २०४८ सालमा पनि हारेकै हो। माधव नेपालले पनि काठमाडौंमा चुनाव हारेका थिए', उनले साँफेबगरमै कार्यकर्ताहरूसँग भने, 'चुनावमा उठेर हार्ने जित्ने मुख्य कुरा होइन।'
 

निकटस्थले पनि छाडे रावलको साथ
एमाले विभाजनको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा परेको छ। 

माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी सो प्रदेशमा बलियो देखिन्छ। रावल पनि सोही प्रदेशका हुन्। 

वर्षाैँसम्म आफूलाई साथ दिएका जिल्लाकै प्रभावशाली नेता शेरबहादुर कुँवरलाई पनि रावलले एमालेमा टिकाउन सकेनन्। राष्ट्रियसभाका सदस्य रहेका कुँवर रावलका ‘दाहिने हात’ मानिन्थे।

यसैगरी सुदूरपश्चिमका २४ जना प्रदेश सदस्यमध्ये १७ जना रावलको पक्षमा थिए तर, अहिले जम्मा २ जना मात्र छन्। 

राष्ट्रिय सभा सदस्य कुँवर, प्रदेश सांसद मीनाकुमारी साउद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुलबहादुर कुँवर, विमलादेवी बुढथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउद पनि रावलको साथमा छैनन्। यसैगरी कञ्चनपुर जिल्ला अध्यक्ष तथा आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, राज्यमन्त्री चुनुकुमारी चौधरी, मनाकुमारी साउद, सांसदहरु अमरबहादुर साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी, बलबहादुर सोडारी, प्रकाश रावल र माया भट्टले पनि रावललाई छोडे। 

प्रतिनिधि सभा सदस्य झपट रावल र दीपकप्रकाश भट्ट रावलको पक्षमा छन्। 

सुदूरपश्चिमका बाजुरा, डडेल्धुरा, बैतडी, अछाम, दार्चुला लगायतका जिल्लामा पनि रावलले प्रभावशाली नेताको साथ गुमाइसकेका छन्। उनका पक्षमा कैलाली र कञ्चनपुर जिल्लातिर केही नेता भने छन्।

उनीसँग लामो समय संगत गरेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरको विश्लेषणमा रावललाई एमालेले नेता मान्ने सम्भावना निकै कम छ।

‘उहाँको पक्षमा सुदूरपश्चिमकै नेताहरु छैनन्,’ कुँवरले नेपालखबरसँग भने,  ‘नवौँ महाधिवेशन, संसदीय निर्वाचन जिताउन लागेका थुप्रै नेताहरु अहिले उहाँको साथमा छैनन्।’

रावललाई सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले राम्रो साथ नदिने विश्लेषण एमालेभित्र हुन थालेको छ। 

‘एन्टीकेपी टिमबाट पनि रावलले राम्रो साथ पाउँदैनन्,’ एमालेका एक नेताले नेपालखबरसँग भने, ‘सुदूरपश्चिममै उहाँ निल अवस्थामा हुनुहुन्छ, कसरी अध्यक्ष उठ्नु होला र?’

रावललाई अध्यक्ष उम्मेदवार बनाउने निर्णयमा उनकै गृहजिल्लाले समेत सहयोग गर्न नसक्ने ती नेताले ठोकुवा गरे। 

‘उहाँलाई अछाम जिल्लाले अध्यक्ष उम्मेदवार बनाउने निर्णय गर्न सक्दैन, उहाँले अध्यक्ष ओलीसँग बार्गेनिङ गर्नुभएको हो,’ ती नेताले थपे। 

निर्विरोध अध्यक्ष चयन हुन खोजेका ओलीलाई रावलले कुनै हालतमा रोक्न नसक्ने उनीहरु बताउँछन्। 

लामो समय राजनीति गरेका रावल अध्ययनशील नेता मानिन्छन्। तर, उनलाई सांगठनिक रुपमा कमजोर नेताका रुपमा लिने गरिन्छ। 

आफूनिकट नेताहरुलाई जोगाउन नसकेको आरोप उनीमाथि छ।

‘उहाँ टिम जोगाउन सक्ने नेता होइन, संगठन त उहाँले अहिलेसम्म पनि बनाउनुभएको छैन। भएकै साथी जोगाउन नसक्ने कसरी अध्यक्ष उठ्न सक्छ?’ हाल एकीकृत समाजवादी पार्टीका नेता रहेका शेरबहादुर कुँवरले भने। 

एमालेमा १० बुँदे सहमति कार्यान्वयन गराउँछु भनेर रावलले केही सहानुभूति बटुल्न खोजेपनि उनी सफल भएका छैनन्। 

‘उहाँको पहिलाजस्तो चार्म अब छैन, पहिला पो माधव नेपाललाई मिलाएर उहाँले सुदूरपश्चिममा शक्ति कायम राख्नुभएको थियो,’ एमालेका एक नेताले भने, ‘अब त उहाँको पक्षमा कोही सकारात्मक छैनन्, विस्तारै उहाँ कमजोर बन्दै जानुभएको छ।’

हाल एकीकृत समाजवादीका केन्द्रीय सदस्य भानुभक्त जोशीले रावललाई एमाले नछाडे अपमानित हुनुपर्ने बताउँदा पनि उनी सचेत नभएको बताए।

‘नयाँ पार्टीमा आउन पटकपटक आग्रह गर्दा पनि उहाँ आउनुभएन र एमालेमा अपमानित हुने अवस्था बन्न थाल्यो,’ जोशीले भने, ‘अब त सबैले साथ पनि दिँदैनन्, उहाँ एक्लै हुनुहुन्छ।’

के भन्छन् दस नेता?
रावलजस्तै विभाजनको अन्तिम घडीमा माधव नेपालको साथ छाडेका नेताहरुले अहिलेसम्म रावलले अध्यक्ष उठ्नेबारे छलफल नगरेको नेताहरुले प्रतिक्रिया दिएका छन्। 

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अहिलेसम्म त्यसबारेमा कुनै छलफल नभएको दाबी गरे। महाधिवेशनमा ओलीबाहेक अरुको अध्यक्षमा उम्मेदवारी पर्ने सम्भावना पनि निकै कम रहेको उनले बताए।

‘अहिलेसम्मको अवस्था हेर्दा हाम्रो पार्टीमा अध्यक्षको निर्वाचन हुने सम्भावना कम छ,’ पाण्डेले नेपालखबरसँग भने, ‘ओलीले ठ्याक्कै नभने पनि उहाँ नै अध्यक्षमा सर्वसम्मत हुने देखिन्छ।’

तर, दस नेता मध्येकै अर्का एक नेताले भने जुनसुकै पदमा उठ्ने अधिकार रहेकोले चुनाव हुन सक्ने बताए। 

रावलले अध्यक्ष उठ्ने विषयमा सल्लाह नगरे पनि पार्टी कमिटीका निर्वाचनमा भने चुनाव हुनसक्ने ती नेताको भनाइ छ।

‘महाधिवेशनमा योग्यता पुगेका सबैलाई उठ्ने अधिकार छ,’ ती नेताले भने, ‘रावल कमरेडले अध्यक्ष उठ्छु भन्नुभयो भने छलफल त होला। भोट माग्नुहुन्छ होला। मत दिने नदिने नेताहरुको विवेकमा भरपर्छ।’

त्यसो त रावल आफैँले पनि औपचारिक रुपमा अध्यक्षको उम्मेदवार हुने घोषणा नगरेको बताए। 

‘कार्यकर्ता सबैले अध्यक्षमा लड्नु भन्नुभएको छ। तर, अहिलेसम्म घोषणा गरेको छैन,’ रावलले बुधबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै भने, ‘महाधिवेशनका बेला घोषणा गर्छु। त्यसअघि दस नेताहरुसँग छलफल गर्छु।’

पार्टीको औपचारिक निर्णय कुरेको उनले बताए। 

‘पार्टीको औपचारिक निर्णय कुरिरहेको छु,’ उनले थपे, ‘अध्यक्षमा उम्मेदवारी दिनेबारे साथीहरुसँग परामर्श गरिरहेको छु, निष्कर्षमा पुगेको छैन।’

ओलीले १५ पदाधिकारीको सूचीमा रावललाई समेत अटाउन चाहेका छन्। 

उनले वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रहेका ईश्वर पोखरेललाई अगाडि सार्दा त्यसपछि रामबहादुर थापा बादल, सुवास नेम्वाङ, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन्। 

तर, रावलले अध्यक्ष ओलीविरुद्ध नै महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने बताएपछि परिस्थिति बेग्लै हुने देखिन्छ। 


  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .