प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनले म निकै दुखित छु। सन् २००२ मा पावेलसँग नेपालमा भएको मेरो भेटवार्ता आत्मियतापूर्वक सम्झिरहेको छु’, देउवाले पावेलको मृत्यु भएको खबर सुनेपछि सोमबार राती ट्वीटमा भनेका छन्।
उनले पावेलका निकटजनप्रति सहानुभूति समेत व्यक्त गरेका छन्। पावेल नेपाल भ्रमण गर्ने एक मात्र अमेरिकी विदेशमन्त्री हुन्, जो २० वर्षअघि सन् २००२ को जनवरी महिनामा देउवा प्रधानमन्त्री हुँदा नेपाल आएका थिए।
८४ बर्षीय पावेलको कोरोना संक्रमणका कारण सोमबार अमेरिकामा निधन भएको थियो।
नेपाल भ्रमणमा आउँदा पावेलले तत्कालीन राजा ज्ञानेन्द्र र प्रधानमन्त्री देवासँग भेटेका थिए। नेपालमा माओवादी हिंसा उत्कर्षमा पुगेका बेला उनी नेपाल आएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री देउवाले माओवादी हिंसा अन्त्यका लागि सहयोग गरिदिन पावेललाई आग्रह गरेका थिए। पावेलले ‘माओवादी हिंसाका कारण नेपालको लोकतन्त्र खतरामा परेको’ भन्दै सक्दो सहयोग गर्ने वचन दिएका थिए।
आतंकवादी संगठन अलकायदाले सेप्टेम्बर ११, २००१ मा अमेरिकास्थित ट्वीन टावरमा आक्रमण गरी ध्वस्त पारेपछि अमेरिकाले आतंकवाद निर्मुल गर्ने भन्दै विश्वव्यापी लडाइँ घोषणा गरेको परिस्थिती थियो त्यो।
देउवाले नेपाल र अमेरिका आतंकवाद बिरुद्द मिलेर काम गर्नुपर्ने धारणा पावेलसँग राखेपछि उनी उत्साहित भएर स्वदेश फर्किएका थिए।
नेपाल भ्रमण गर्ने पावेल एकमात्र अमेरिकी विदेशमन्त्री हुन्। उनको भ्रमणयता पनि विदेशमन्त्रीको तहमा अमेरिकाबाट भ्रमण भएको छैन।
यसैबीच नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व विदेशमन्त्री पावेलको निधनमा शोक व्यक्त गरेका छन्।
‘म युवा कुटनीतिज्ञ रहँदा यी महान राजनेता पावेलसँग प्रत्यक्षरुपमा बिभिन्न अवसरमा काम गर्ने अवसर पाएको थिएँ’, बेरीले स्मरण गरेका छन्, ‘म उनको सरलता, विनम्रता र हास्यभावबाट प्रभावित थिएँ।’
‘पावेलको निधन अमेरिकाका लागि अपुरणीय क्षति’ भएको बेरीले सोमबार राती ट्वीटमा लेखेका छन्।
Shares

प्रतिक्रिया