राजनीति


राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए नेपाल संवतको शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए नेपाल संवतको शुभकामना

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार १४:१६,

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै रुपमा नेपाल संवत् ११४० को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

नेपाल संवतको नयाँ वर्षका अवसरमा तीनै जनाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका हुन्।

“नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा सोमबार जारी शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेकी छिन्।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। दीपावली र नेपाल संवत्का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले भनेका छन्, “उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरुको महान् चाड शुभ–दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवत्को नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा हुँदै छ ।”

उपराष्ट्रपतिले सन्देशमा महान् चाड शुभ–दीपावली र नेपालको मौलिक संवत् नेपाल संवत् नव वर्षले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने बताउँदै यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा एकाकार भएर अगाडि बढ्न हामी सबैलाई प्रेरणा दिउन् भन्ने कामना गरेको बताएका छन्।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन्। नेपाल संवत् ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएको राससले जनाएको छ।

उनले सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “नेपाल संवत्ले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

नेपाल संवत्का प्रवर्तक शङ्खधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको सन्देशमा उल्लेख गरेका छन्।

शङ्खधर शाख्वाले गरीबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो संवत् शुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “यसको शुरुवात जसरी विपन्नताविरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता र गरीबी विरुद्ध लड्न नेपाल संवत्को नयाँ वर्षले मद्दत पु¥याओस ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad