राजनीति


आफ्नै पार्टीभित्र मन्त्री भाग मिलाउन मुस्किल पर्‍याे देउवालाई, पौडेल समूहमै अर्काे रडाको

आफ्नै पार्टीभित्र मन्त्री भाग मिलाउन मुस्किल पर्‍याे देउवालाई, पौडेल समूहमै अर्काे रडाको

नेपालखबर
असोज २१, २०७८ बिहिबार ६:४४, काठमाडौँ

मन्त्री भागबन्डा मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाकै पार्टी नेपाली कांग्रेसलाई निकै मुस्किल परिरहेको छ। कांग्रेसभित्रका गुटबीच कुरा मिल्न नसकेपछि मन्त्रिपरिषद् विस्तार नै अन्योलमा परेको छ। 

सत्ता गठबन्धनका चार दलबीच भएको सहमतिअनुसार कांग्रेसको भागमा ८ मन्त्री र एक राज्यमन्त्री परेका छन्। जसमध्ये तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन्।

कांग्रेसबाट सरकारमा सहभागी बालकृष्ण खाँण (गृहमन्त्री), ज्ञानेन्द्रबहादुर कार्की (कानुन, न्याय तथा संसदीय मामिलामन्त्री), नारायण खड्का (परराष्ट्रमन्त्री) र उमेश श्रेष्ठ ( स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री) सबै देउवा समूहका हुन्।

अब कांग्रेसको भागमा ४ मन्त्री बाँकी छन्। 

यीमध्ये वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले ३ मन्त्री मागेपछि कुरा नमिलेको हो। देउवा पौडेल समूहलाई दुइटा मात्रै र एउटा मन्त्री कृष्णप्रसाद सिटौलालाई दिने पक्षमा रहेको एक जना कांग्रेस नेताले बताए। सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने तय भइसकेको नेताहरूको दाबी छ। 

बाँकी एक मन्त्रायल भने आफ्नै पक्षमा राख्ने देउवाको दाउ छ। एक कांग्रेस नेताका अनुसार आफ्नो समूहबाट देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने याेजना बनाएका छन्।  

पौडेल समूहभित्रै पनि मिलेको छैन कुरा
देउवा र पौडेल समूहबीच मात्र होइन, स्वयं पौडेल समूहभित्रै मन्त्री बाँडफाँडका विषयमा कुरा मिल्न सकेको छैन। यसबारे छलफल गर्न बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा यस समूहका नेताबीच बैठक भएको थियो।

यस क्रममा  वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी र कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले राजन केसीको नाम प्रस्ताव गरेका छन् भने महामन्त्री शशांक कोइरालाले दिलेन्द्र बडु र डा। मीनेन्द्र रिजालको नाम अगाडि सारेका छन्। जसले गर्दा पौडेल समूहले मन्त्री बन्नेको सूची देउवालाई दिन सकेको छैन। 

यसपछि बुधबार अपराह्न मन्त्री भागबन्डासहित पार्टी क्रियाशील सदस्यताबारे छलफल गर्न पौडेल समूहका नेता बालुवाटार पुगेका थिए। त्यस क्रममा उनीहरूले आफ्ना तर्फबाट तीन जना मन्त्री पाउनुपर्ने दाबी गरे। तर तर देउवाले दुई जनाभन्दा बढीलाई मन्त्री बनाउन नसकिने जवाफ दिएको एक नेताले बताए। त्यसपछि पौडेल समूहका नेता नामै नदिएर बैठकबाट बाहिरिए। 

चार दलबीच भागबन्डा मिलिसक्दा पनि आफ्नै पार्टीभित्रको किचलोले गर्दा आजै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको योजना अन्योलमा परेको छ। 

याे पनि : ​बालुवाटारको कांग्रेस पदाधिकारी बैठकमा देउवा-पौडेल चर्काचर्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .