प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले छिट्टै पूर्णता पाउने दाबी गरेका छन्।
सोमबार नयाँ बानेश्वस्थित प्रतिनिधि सभा संसद् भवनबाट बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै देउवाले यस्तो दाबी गरेका हुन्।
तर उनले कहिलेसम्म पाउँछ भन्नेचाहिँ बताउन सकेनन्।
देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने तयारी भइरहेको जानकारी दिए।
यसबारे सत्तारुढ दलहरुबीच छलफल भइरहेको उनको भनाइ छ।
उनले यतिमात्रै भने, ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि ५ गतेभित्र मन्त्रिमण्डलले पूर्णता पाउने बताएका थिए।
गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको बताए।
‘सरकारले पूर्णता पाउन मन्त्रालयको भागबण्डा टुंगिनुपर्छ’, उनले भने, ‘त्यो अहिलेसम्म हुनसकेको छैन।’
यसबाहेक उनको दल अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने पक्षमा छ।
‘दलसम्बन्धी ल्याएको अध्यादेश फिर्ता भएको छैन, त्यो खारेज हुन्छ, खारेज हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ’, यादवले भने।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनामन्त्री नियुक्त गरेका थिए।
त्यसपछि विभिन्न विवादका कारण सरकारले पूर्णता पाउन सकिरहेको छैन। खासगरी अध्यादेश र अमेरिकी आर्थिक सहयोग प्याकेज एमसीसीबारे सत्ता गठबन्धन दलबीच नै कुरा मिल्न सकेको छैन।
Shares
प्रतिक्रिया