ad ad

राजनीति


गण्डकीमा कस्तो छ एमाले विभाजनको असर?

गण्डकीमा कस्तो छ एमाले विभाजनको असर?

वाशुदेव मिश्र
भदौ २, २०७८ बुधबार २०:३८, पाेखरा

साविक एमाले हुँदा गण्डकीका माधव नेपालपक्षीय नेताहरुले अक्सर गुनासो गर्थे, ‘हामीलाई पेलेरै सिध्याउने भए।’ 

आफैँ पार्टी महासचिव रहँदा पनि माधव नेपालले गण्डकीमा आफ्नो समूह बलियो बनाउन सकेनन्। गण्डकीमा केपी ओली सधैँ हावी भइरहे। २०५४ सालमा एमाले विभाजन हुँदा बरु धेरै नेता–कार्यकर्ता मालेमा गए तर माधव नेपाललाई उनीहरुले खासै माया गरेनन्।

जेल जीवनको एक कालखण्ड पोखरामा बिताएका र भूमिगत कालखण्डमा यहाँको पुरञ्चौरमा प्रशिक्षण दिएका ओलीलाई पार्टी अध्यक्ष बनाउन गण्डकीले भरपुर सहयोग ग¥यो। 

ओली शक्तिमा आएपछि भएको संघीय संसदको होस् कि प्रदेश सभा चुनाव! ओलीपक्षीय नेताहरुले नै टिकट पाए। तत्कालीन माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दा माधव नेपाल समूहका सम्भावित उम्मेदवार जहाँ छन्, त्यो निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा पारिएको स्वयं ओलीपक्षीय नेता नै स्वीकार्छन्। सोही कारण गण्डकी प्रदेश सभामा माधव पक्षबाट बागलुङका इन्द्रलाल सापकोटा मात्रै सभासद बन्न सके। संघीय संसदमा पनि उस्तै अवस्था रह्यो।

अघिल्लो पटक सीता गिरी ओलीलाई दिइएको कास्की क्षेत्र नम्बर ३ मा जगत विश्वकर्मालाई ल्याइयो। पुराना नेता तुलबहादुर गुरुङले त टिकट नै पाएनन्। कास्कीबाटै प्रदेश सांसदको दावी गरेका माधवपक्षीय श्रीनाथ बराललाई तल्लो कमिटीबाटै सिफारिस नहुने अवस्था सिर्जना गरियो। 

तर, निराश नै भएपनि माधव पक्षमा लागेकाहरूले अन्तिम समयसम्म पार्टी छाडेनन्। 

बुधबार माधव नेपाल समूहले नेकपा एमाले (समाजवादी) गठन गर्दा गण्डकीका तिनै नेताहरु केन्द्रीय समितिमा समेटिएका छन्। केन्द्रीय समितिमा लमजुङका केशवलाल श्रेष्ठ, तनहुँका प्रतापलाल श्रेष्ठ र दिलकुमारी पन्त, कास्कीका तुलबहादुर गुरुङ, चुडामणि वि जंगली र श्रीनाथ बराल, स्याङजाकी सर्मिलादेवी पौडेल क्षेत्री तथा रेखा थापा बस्याल समेटिएका छन्। प्रभावशाली मानिने श्रीमाया थकाली र सीता गिरी ओलीलाई केन्द्रीय कमिटीमा राखिएको छैन। 

माधव पक्षले यसअघि नै कास्कीसहितका जिल्लाहरुमा समानान्तर कमिटी भने गठन गरिसकेको छ। कास्कीमा माधव समूहको नेतृत्व युवा नेता धनराज आचार्यले लिएका छन्। 

विभाजनको झोला मान्य छैनः सांसद इन्द्रलाल 


बागलुङका एमाले अध्यक्षसमेत रहेका गण्डकी प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले विवाद भए पनि आफू पार्टी विभाजनको पक्षमा नभएको बताएका छन्। 

‘फुटको झोला बोक्न सकिँदैन। आफ्नै स्थायी समितिका १० जना लैजान नसक्ने, कार्यकर्तालाई झोला बोकाउने?’,उनले प्रश्न गर्दै भने, ‘विभाजन हैन, हामीले सिंगो एमाले चाहेको हो, इन्द्रलालको लागि विभाजनको झोला मान्य हुँदैन।’ 

यद्यपि, उनले फुटेर जाने मात्रै दोषी नभएको र वर्तमान नेतृत्वले सुझबुझपूर्ण निर्णय नगर्दा यो दुर्घटना घटेको पनि बताए। 

‘फेरि पनि माधव नेपालले १० बुँदे सहमतिको जगमा एमाले बलियो बनाउनुपर्थ्यो’, उनले भने, ‘पार्टी गुटका हनुमानले बिगारे, हिजो पनि हाम्रो भूमिका गुटको हनुमान नहुने नै थियो, अहिले पनि म प्रष्ट छु।’ 

हिजो केपी ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा पनि आफू विपक्षमै उभिएको र आज पनि दल विभाजनसम्बन्धी अध्यादेश आउनु गलत नै भएको उनको प्रतिक्रिया थियो। 

‘नेपालका राजनीतिक दलहरु क्षणिक स्वार्थका निम्ति जे पनि गर्ने भए’, उनले भने, ‘आज एउटा नेता मन परेन भनेर पार्टी विभाजन गर्ने, भोलि फेरि अर्को नेता मन नपर्दा पार्टी फोड्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .